अमेरिका समाचार

‘ नेपाली पहिचान, ऐतिहासिक वैभव र सभ्यताको संरक्षण र संवर्धन गरौं’- भन्ने सन्देश दिदै बोस्टनमा ल्होसार मनाइयो

‘ नेपाली पहिचान, ऐतिहासिक वैभव र सभ्यताको संरक्षण र संवर्धन गरौं’- भन्ने सन्देश दिदै बोस्टनमा ल्होसार मनाइयो

भिडियो सहित


https://www.facebook.com/himalaya.khabar.5/videos/384002887348141/

‘ गुरुङ समुदायको शान, नेपालीपन र पहिचान ‘

Advertisement

यो भनाइलाई चरितार्थ पार्न गुरुङ समुदाय नेपालभित्र मात्र नभएर विश्वभर निकै सक्रिय छन्। र, उनिहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाउन अतुलनीय भूमिका खेलिरहेका छन् भन्ने तथ्य जग जाहेर नै छ। यस अभियानमा अमेरिकाको न्यू इंग्ल्याण्डवासी प्रवासी गुरुङ समुदाय पनि बिसौं वर्षदेखि सक्रिय रहदै आइरहेको छ।

प्रवासमा रहेर पनि बेला बखतमा नेपालीपन, नेपाली पहिचान र नेपालीत्वमा गर्व गर्दै गुरुङ समुदायले गर्ने विविध क्रियाकलापहरुले, नेपालमा रहेका नेपालीहरुको मात्र नभएर प्रवासी नेपालीहरुको पनि गर्वले शिर ठाडो गराइरहेको छ। यसैबिच, ‘ नेपाली पहिचान, ऐतिहासिक वैभव र सभ्यताको संरक्षण र संवर्धन गरौं ‘ भन्ने मूल सन्देश दिदै अमेरिकाको बोस्टन सहरमा ‘२२औं बोस्टन तमु ल्होसार’ भब्यताका साथ मनाइएको छ।

कार्यक्रम बोस्टन तमु समाजको आयोजनामा गत डिसेम्बर २९ तारिख सुक्रवारका दिन सम्पन्न भएको हो। नेपाली तथा गुरुङ भाषा, भेषभुषा, पहिचान, धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, एकताको सन्देश दिने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ ‘तमु ल्होसार ‘चाड मनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

नेपालीपन झल्किने कार्यक्रम स्थलको सजावट, पशुपतिनाथ मन्दिर तथा स्वयम्भू स्तूपाको चित्र तथा तोरणलगायतले सजिएको मञ्च, कलाकारहरु, गुरुङ तथा अन्य समुदायले लगाएका जातीय तथा नेपाली पहिचान झल्किने भेषभुषा, नेपाली गीत तथा संगीतहरु, नृत्य तथा प्रहशन, नेपाली स्वादका स्वादिष्ट परिकारहरु, बोलिएका नेपाली भाषा आदिले कार्यक्रम स्थल नेपालमय भएको थियो। बुद्ध धर्म गुरु भिखु प्रज्ञालोक भान्टेद्वारा विश्व शान्ति र समस्त प्राणी जगतको मंगलको कामनासहित मन्त्रोचारण गरी शुभारम्भ गरिएको कार्यक्रममा, कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष निरा गुरुङले आगन्तुक अतिथि तथा पाहनाहरु, कलाकाहरु, सहभागीहरुलगायतलाई धन्यवाद ज्ञापन गर्दै स्वागत गरेकी थिइन्। कार्यक्रमको मूख्य पाटो ल्होसार केन्द्रित विविध सांस्कृतिक कार्यक्रम रहेको थियो। जस अन्तर्गत स्थानीय कलाकारहरुले नेपाली गीतहरु गाएर र नृत्य गरेर कार्यक्रमलाई नेपाली संगीतमय बनाएका थिए।

कार्यक्रममा तिनै पुस्दा (हजुरबुबा/हजुरआमा, बुबा/आमा र नाति/नातिनासम्म) का कलाकारहरुले आफ्नो समुदाय, नेपाल र नेपालीपन तथा पहिचान झल्काउने गरी प्रस्तुत गरेका कलाहरु साच्चै अन्य सांस्कृतिक कार्यक्रमहरुभन्दा भिन्न, महत्वपूर्ण, मनोरञ्जनपूर्ण र कदर गर्न लायकका थिए। कार्यक्रमको दौरानमा सहभागीहरुले खुलेर नाच्दै गाउदै कलाकारहरुलाई दिएको साथ, मानेको रमाइलो, कदर स्वरुप बजाइएको ताली तथा उत्प्रेरक हुटिङहरुले, कार्यक्रम निकै मनोरञ्जनात्मक तथा उपलब्धिमूलक रहेको बुझ्न गाह्रो थिएन।

भ्वाइस् अफ नेपाल, सिजन-३ मा निर्णायकको महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी गायिका तृष्णा गुरुङ

इन्दु गुरुङ र इन्द्र गुरुङले संयुक्त रुपमा सञ्चालन गरेको उक्त सांस्कृतिक कार्यक्रमको मूख्य आकर्षकमा भने उदयमान तथा कार्यक्रमकी अतिथि कलाकार तृष्णा गुरुङ रहेकी थिइन्। रचना, गायन तथा संगीत विधामा राम्रो दखल भएकी र भ्वाइस् अफ नेपाल, सिजन-३ मा निर्णायकको महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी गायिका गुरुङले प्रस्तुति दिदा सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए। पछिल्लो समय नेपाली युवा पुस्ताको मन जित्न सफल उनले आफ्ना चर्चित गीतहरु माया मनभरी, खानी हो यामु…, ए है…तिम्रो नाम लेखें जाली रुमाल मै…, सोल्टी ज्यूलगायत गाएकी थिइन्। हरेक गीतहरुमा आफूलाई डुबाउदै झुमेका सहभागीहरुले गरेको पटक पटकको अनुरोधका कारण गायिका गुरुङले तय गरिएको गीतहरु भन्दा बढी गीत गाउन बाध्य भएकी थिइन्। उनको प्रस्तुति सकिएपछि पनि सन्दिप भट्टराईले प्रस्तुत गरेको कर्णप्रीय नेपाली गीत तथा संगीतको डिजेमा सहभागीहरु झुमेका थिए।

कार्यक्रम आयोजक संस्था बोस्टन तमु समाजका उपाध्यक्ष रोबिन गुरुङले कार्यक्रम सोचे भन्दापनि बढी सफल भएको प्रतिक्रिया दिदै खुशी ब्यक्त गरेका छन्। न्यू इंग्ल्याण्डवासीहरुको रचनात्मक र भावनात्मक साथ सहयोग, माया, स्नेह र सद्भावप्रति बोस्टन तमु समाज कृतज्ञ रहेको बताउदै उपाध्यक्ष गुरुङले प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समुदायभित्र रहेको विग्रहको दु:खद अवस्थालाई इंकित गर्दै उनले एक अर्कालाई विभेद र निषेध गर्ने प्रवृतिलाई निस्तेज गरेर, भाइचाराको सम्बन्ध स्थापित गरी अगाडि बढ्नु पर्नेमा जोड दिए। सम्बोधनका क्रममा, संस्था र समुदायको हितार्थ आपसी वैमनस्यताको अन्त्य गरी एकताबद्ध हुनु पर्नेमा जोड दिदै उपाध्यक्ष गुरुङले भने, ‘एक आपसमा उपेक्षा गरेर हैन, दमन र नियन्त्रण गरेर हैन, एक आपसमा सहिष्णु भएर , क्षमाशील भएर अगाडि बढौं। हाम्रा सुझाउने, सम्याउने, सच्चिने र सच्याउने जस्ता सामाजिक आदर्शबाट अभिप्रेरित भइ हामीले शिष्ट र सभ्य संस्था स्थापित गर्न सकौं।’

उनले सम्बोधनका क्रममा तमु ल्होसारको अवसरमा संस्थाको तर्फबाट सबैलाई शुभकामनासमेत ब्यक्त गरेका थिए। कार्यक्रमका सहभागीहरुले पनि हर्षोल्लास मनाउदै एक आपसमा ल्होसारको शुभकामना आदानप्रदान गरेका थिए। साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रम राति झण्डै ११ बजेसम्म सञ्चालन भएको थियो। चारसय पचास हाराहारीको सहभागिता रहेको उक्त कार्यक्रममा, सहभागिताका लागि आयोजकले दश वर्ष माथिकाका लागि प्रति व्यक्ति ४५ डलरको प्रवेश टिकट बिक्री गरिएको थियो।

चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार गरी तिन प्रकारको ल्होसार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ। यस पटक गुरुङ समुदायले ‘हि ल्हो'(बिरालो वर्ग) वर्षलाई बिदाइ गर्दै ‘मुप्र्ही ल्हो'(गिद्ध वर्ग) नयाँ वर्षको स्वागत गरे। नेपाली पात्रो अनुसार नेपालमा पौष १५ गते अर्थात डिसेम्बर ३१ तारिख आइतवारका दिन ‘तमु ल्होसार’ परेकाले देश विदेशमा विविध कार्यक्रमहरु गरेर ल्होसार मनाइएको छ।

शेयर गर्नुहोस:

2.6k
Shares