मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

१२औँ संस्करणको रत्ननगर महोत्सव सञ्चालनको तयारी तीव्र

१२औँ संस्करणको रत्ननगर महोत्सव सञ्चालनको तयारी तीव्र

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरू हुने १२औँ संस्करणको रत्ननगर महोत्सव २०८० सञ्चालनको तयारी तीव्र बनाइएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २६ गते उद्घाटन भई माघ ८ गतेसम्म चल्ने छ । संघले महोत्सवको उद्देश्य र तयारीबारे शुक्रबार सौराहामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षको अन्तरालमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्त्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तङ्ग्रिन नपाउँदै देशमा उत्पन्न चरम आर्थिक मन्दीले देशको औद्योगिक एवं व्यावसायिक क्षेत्र अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सवमा उद्योग, कृषि र पर्यटनमार्फत आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहने छन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवन सौराहाको मुख्य प्रवेशमार्ग रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्त्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरुको बजार पहिचान गरी नवव्यवसायी र व्यावसायिक क्षेत्रको प्रवर्द्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवर्द्धन, प्रचारप्रसारको लागि उत्तिकै महत्त्व राख्ने बताए ।

यस पटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

चितवनवासीहरुले गौरव र गरिमाको रुपमा आयोजना गरिँदै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ । चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा साबित हुँदै आएको छ ।

महोत्सवमा कृषि उत्पादनलाई जोड दिएको र महोत्सव परिसरमा बृहत् व्यावसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

स्थानीयस्तरमा उत्पादित अन्नबाली मकैवाली, ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल, बीउबिजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उनले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसँग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरोकारवालसँग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक प्रहरीसँग समन्वय गरी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले जानकारी दिए ।

महोत्सवमा आर्थिक मन्दीका कारण धराशयी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाव पेश गरिने छ । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगरभित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रवर्द्धनको काम सुरू भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगतमा जस्तै महोत्सवअन्तर्गत पौष २९ देखि ४ गतेसम्म पाँच दिन रत्ननगरको सौराहाचोक बसपार्कमा विभिन्न जनजातिहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारसहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रवेशका लागि अवलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकाली केबुलकारमा ५० प्रतिशत छूट दिने व्यवस्था मिलाइएको छ ।
महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गतेसम्म सो सुविधा प्राप्त हुने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका संस्थापक नगप्रमुख नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष रामशरण पाठक, विश्व मल्ल, गोपालराज कर्माचार्य, ज्ञानबहादुर बिसुराल, राजाराम रेग्मीलगायत संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।