मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपालको नेतृत्वमा प्याब्फोनको नयाँ कार्यसमिति चयन

नेपालको नेतृत्वमा प्याब्फोनको नयाँ कार्यसमिति चयन


अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याब्फोन-PABFONE)को आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि बिरोचन नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको संस्थाले जनाएको छ। संस्थाका प्रवक्ता परशुराम फुयालद्वारा संस्थाको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा, गत डिसेम्बर १० तारिख आइतवार ब्रेन्ट्री स्थित संस्थाको आफ्नै भवनमा वार्षीक साधारणसभा सम्पन्न भएको र सोही दिन सम्पन्न भएको निर्वाचनले संस्थाको बोर्ड अफ ट्रष्टीको उपाध्यक्षसमेत रहेका नेपालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको उल्लेख गरिएको छ। साधारणसभाले नव निर्वाचित कार्यसमितिलाई बाँकी १ सदस्यसहित बढिमा ३ सदस्यहरु चयन गर्न सक्ने अख्तियारसमेत प्रदान गरेको छ। संस्थाले निर्वाचन प्रयोजनका लागि भन्दै डा. उषा शर्मा(प्रमुख निर्वाचन अधिकृत ), मिलन गुरुङ (निर्वाचन अधिकृत) र विजय शर्मा (निर्वाचन अधिकृत) रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। उक्त निर्वाचन समितिले पनि विधान बमोजिम निर्वाचन सम्पन्न भएको र नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाउदै निर्वाचित हुनेहरुको नाम र निर्वाचित भएको पद घोषणा गरेको थियो।

यस सम्बन्धनमा जानकारी दिदै निर्वाचन समितिका सदस्य मिलन गुरुङले संस्थाको विधान बमोजिम निर्वाचनको प्रक्रियामा विधानमा व्यवस्था भए अनुसारको पदहरुका लागि आवश्यक संख्या भन्दा बढि उमेदवारी नपरेका कारण उमेदवारी दिने सबैलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको बताए। निर्वाचन सहज रुपमा सम्पन्न भएको प्रतिक्रिया दिदै संस्थाको बोर्ड अफ ट्रष्टीको उपाध्यक्षसमेत रहेका गुरुङले भने, ‘निर्वाचन संस्थाको विधान अनुसार नै प्रक्रियाहरु पुरा गरेर सम्पन्न गरियो। समग्रमा निर्वाचन समितिले सोचेभन्दा पनि सहज रुपमा निर्वाचन सम्पन्न भयो। निर्वाचन सम्मपन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ! र, निर्वाचित हुने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना !’

निर्वाचन प्रक्रिया सम्पन्न गरिए लगतै निर्वाचान समितिले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएको थियो। यसैक्रममा, निवर्तमान अध्यक्ष बिष्णु कार्कीले नव निर्वाचित अध्यक्ष बिरोचन नेपाललाई पुरानो कार्यसमितिको जिम्मेवारीसमेत हस्तान्तरण गरेका थिए।

संस्थाले जनाए अनुसार तत्कालीन कार्यसमितिका अध्यक्ष बिष्णु कार्कीको अध्यक्षतामा सम्पन्न वार्षीक साधारणसभाले, संस्थाको वार्षिक कार्यसम्पादन तथा आय-व्ययको प्रतिवेदन पारित गरेको छ भने, आगामी वर्षका लागि पुष्कर न्यौपानेलाई आन्तरिक लेखापरीक्षक नियुक्ति गरेको छ। त्यसैगरी, संस्थाको विधान ९.२.३ मा अध्यक्ष लगायत पदाधिकारीहरुले बढीमा निरन्तर दुइ कार्यकाल मात्र सोही पदमा निर्वाचित भइ दोहरिन सक्ने व्यवस्था भएकोमा, अध्यक्षको हकमा मात्रै उक्त व्यवस्थालाई कायमै राखी अन्य पदका लागि भने उक्त व्यवस्था खारेज गरिएको छ। अब उपरान्त अध्यक्ष पदमा बाहेक अन्य पदमा विधानत: योग्यता पुगेकाहरुले जति पटक पनि उमेदवारी दिन पाउने र निर्वाचित हुन/ गर्न पाउने भएको छ।

नव निर्वाचित अध्यक्ष (बाँया) बिरोचन नेपाल, निवर्तमान अध्यक्ष बिष्णु कार्की(दायाँ)बाट जिम्मेवारी ग्रहण गर्दै

नव निर्वाचित अध्यक्ष नेपालले आफूलाई थप गहन जिम्मेवारी प्राप्त भएको प्रतिक्रया दिएका छन्। जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिदै उनले प्राप्त जिम्मेवारीलाई आफ्नो योग्यता र क्षमताले भ्याएसम्म इमानदारी र वफादारी पूर्वक निर्वाह गर्ने बताए। संस्थाको स्थापनादेखि नै संस्थाको अभियानमा निरन्तर लागिपरिरहेको स्मरण गराउदै उनले भने, ‘म संस्थाको स्थापनादेखिनै अभियानमा जोडिएर निरन्तर काम गरिरहेको छु। नेता हुन हैन, काम गर्न संस्थामा जोडिएको हुँ। संस्थागत चुनौतीहरुको अग्ला अग्ला पहाडहरु हाम्रो अगाडि छन्। त्यसलाई सबैको साथ सहयोग लिएर पार गर्नु छ।’

अध्यक्ष नेपालले संस्थागत विकास र गरिमालाई थप उचाइमा पुर्याउनका लागि संस्थामा जोडिएकाहरुलाई थप क्रियाशिल बनाउन र जोडिन छुटेका नेपाली समुदायको ठूलो संख्यालाई जोड्ने अभियान छिट्टै सुरु गर्ने बताए। संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न धेरै सैध्दान्तिक र व्यवहारिक कामहरु गर्नु पर्ने अवस्था रहेको स्विकार गर्दै  उनले सदस्य, दाता, सहयोगी तथा शुभचिन्तकहरु सहित समग्र नेपाली समुदायले, गर्व र अपनत्व महसुस गर्न पाउने गरी अभियान सञ्चान गरिने विश्वास दिलाए। सत्य तथ्य सूचना प्रवाहको अभावका कारण संस्थाप्रति केही नकारात्मक कुराहरु फैलिरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले संस्थासंग सम्बन्धितहरुलाई संस्थाका गतिविधिहरुका बारेमा जानकारी दिन, अध्यावधिक सूचनाहरु सार्वजनिक रुपमै उपलब्ध गराउने काम प्राथमिकताका साथ गरिने बताए। कुराकानीका क्रममा उनले आफू नेतृत्वको कार्यसमितिलाई निर्विरोध निर्वाचित गराउने सबैलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन साथ र सहयोगका लागिसमेत सबैलाई अनुरोध गरेका छन्।

संस्थाले प्रथम पटक गत नोभेम्बर २५ तारिख शनिवारका दिन साधारणसभा सम्पन्न गर्ने गरी तयारी गरेको भएतापनि, संस्थाको विधान अनुसार गणपूरक संख्या नपुगेका कारण साधारणसभाले सार्थकता पाउन सकेको थिएन। त्यसपछि संस्थाको विधानको दफा ६(२)मा व्यवस्था गरिए बमोजिम भन्दै डिसेम्बर १० तारिख आइतवारका लागि साधारणसभाको दोस्रो मिति तय गरिएको थियो। तर, उक्त दिनको साधारणसभामा पनि सदस्यहरुको उपस्थिति भने न्यून नै रह्यो। संस्थाका प्रवक्ता परशुराम फुयालका अनुसार दोस्रो पटक सूचना गरिएको साधारणसभामा जे जति सदस्यहरु उपस्थित भएतापनि उक्त उपस्थित संख्यालाई नै गणपूरक संख्या मान्न सकिने संस्थाको विधानमा व्यवस्था भए अनुसार, साधारणसभाको प्रक्रिया अगाडि बढाइ सम्पन्न गरिएको थियो।