मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

इन्द्रेणी कोषको सहयोगार्थ, बोस्टनमा ‘सुसेली साँझ’को आयोजना गरिदै

इन्द्रेणी कोषको सहयोगार्थ, बोस्टनमा ‘सुसेली साँझ’को आयोजना गरिदै


इन्द्रेणी कोषको सहयोगार्थ, बोस्टनमा ‘सुसेली साँझ’को आयोजना गरिदै

अमेरिकाको बोस्टन सहर स्थित सांगीतिक संस्था ‘बोस्टन लोक सुसेली समूह’ले संस्थाद्वारा स्थापना गरिएको ‘इन्द्रेणी कोष’को सहयोगार्थ, सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को आयोजना गर्ने भएको छ। कार्यक्रम यही आउदो डिसेम्बर १६ तारिख सनिवार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागिएको हो। नेपाली लोक तथा दोहोरी गीत गायक तथा समाजसेवीको परिचय स्थापित गराउन सफल कृष्ण कंडेल र उनीद्वारा सञ्चालित लोकप्रीय कार्यक्रम’इन्द्रेणी’ले नेपाली लोक गीत तथा संगीतको संरक्षण, सम्वर्धन र प्रवर्धनमा अमूल्य योगदान पुर्याउदै आएको ठहर गर्दै सक्दो नियमित आर्थिक सहयोग गर्ने हेतुले ‘बोस्टन लोक सुसेली समूहले’ सन् २०१७ मा ‘इन्द्रेणी कोष’को स्थापना गरेको थियो। सोही कोषलाई आर्थिक रुपले थप मजबुत बनाउन आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यले ‘सुसेली साँझ’ गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्था ‘बोस्टन लोक सुसेली समूहका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए अनुसार, कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ। उक्त कार्यक्रममा साक्षात्कार गर्दै मनोरञ्जन दिलाउन र सहयोगका अपील गर्न नेपाली लोक तथा दोहोरी गीत संगीतको कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक तथा नेपाली लोक तथा दोहोरी गीत गायक कंडेल उपस्थित हुने भएका छन्। कार्यक्रमका बारेमा जानकारी दिदै बोस्टन लोक सुसेली समूहका अध्यक्ष गुरुङले भने, ‘यो नितान्त नेपाली लोक तथा दोहरी गीतको क्षेत्रमा अमूल्य योगदान पुर्याउने इन्द्रेणीको सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रम हो। अमेरिकामा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली लोक तथा दोही गीतलाई मन पराउने, माया गर्ने, संरक्षण गर्ने र त्यसको विकासमा अमूल्य योगदान पुर्याउने/पुर्याउन चाहनेहरु धेरै नै छन्। मातृभूमिप्रति केही गरौं भन्ने भावना छ। त्यही कारण यो कार्यक्रम गर्न लागिएको हो।’ अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी भइ मनोरञ्जन लिनुका साथै आर्थिक सहयोग जुटाउने अभियानमा हातेमालो गरिदिन न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई अनुरोधसमेत गरेका छन्।

बोस्टन लोक सुसेली समूहका संस्थापक तथा नेपाली लोक तथा दोहरी गायक मिन केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कार्यक्रममा पुराना लोकप्रीय श्रष्टाहरुको सम्मान र संझना गर्दै उनीहरुको गीतहरु गाइने छ। चर्चित लोक तथा दोहोरी गायिका निशा सुनार र गायक बिमल डाँगीले पनि आफ्ना सांगीतिक कोसेलीहरु पस्किने भएका छन्। अमेरिकाको बोस्टनमा रहेर नेपाली लोक तथा दोहरी गीत संगीतको संरक्षण, संवर्धन र प्रवर्धन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गायक केसीले, कार्यक्रममा सहभागी भइ साथ सहयोग गरिदिएर हौसला थपिदिन सबै न्यू इंग्लाण्डवासी नेपाली समुदायलाई अनुरोध गरेका छन्। उनले भने, ‘यो कार्यक्रम सांगीतिक मनोरञ्जनको अतिरिक्त मातृभूमि नेपाल र नेपालीप्रति आत्मीय साथ, सहयोग, माया र एकता दर्शाउने कार्यक्रम पनि हो। त्यसैले सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं।’

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE) ले गत नोभेम्बर १३ तारिख सोमवारका दिन आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा आफ्नो वजशी प्रस्तुति दिदै सहभागीहरुको मन जित्न सफल कंडेलसंग थप सांगीतिक साक्षात्कारसंगै सहयोग गर्ने न्यू इंग्ल्याण्डवासी प्रवासी नेपालीहरुको मनसाय बुझेर नै ‘सुसेली साँझ’को आयोजना गर्न लागिएको आयोजकले प्रस्ट्याएको छ। यतिबेला कलाकार कंडेल अमेरिकाको विभिन्न सहरमा पुगेर सांगीतिक कार्यक्रमहरु गर्दै नेपाली समुदायसंग साक्षात्कार गर्ने दौडाहामा व्यस्त रहेका छन्।

कार्यक्रममा सहभागिताका लागि आयोजकले दश वर्ष माथिकाका लागि आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति एक सय डलर पर्ने प्रवेश टिकटको व्यवस्था गरेको छ। तयारी अन्तर्गत, आयोजकले कार्यक्रमको प्रचारप्रसार गर्ने, टिकट बिक्री गर्ने, अतिथिहरुलाई निम्तो दिने तथा आवश्यकीय अन्य तयारी गर्ने कार्यलाई तिब्रता दिइरहेको छ।

‘बोस्टन लोक दोहोरी समूह’ अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा बस्ने प्रवासी नेपाली कलाकारहरु आबद्ध गैर मूनाफारहित संस्था हो। जसको स्थापना सन् २००७ मा नेपाली लोक तथा दोहोरी गीत/संगीतको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सक्दो योगदान पुर्याउने मुख्य उद्देश्यले स्थापना गरिएको थियो। संस्थाले आफ्नो स्थापनाकालदेखि नै बिभिन्न समयमा सांगीतिक कार्यक्रमहरुको आयोजना गर्दै र अन्य नेपाली समुदायहरुका संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहभागिता जनाइ सांगीतिक प्रस्तुतिहरु पस्कदै आइरहेको छ। मुख्य गरी यस क्षेत्रमा नेपालीहरुको महान चाड तिहारमा ‘देउसी भैलो’ खेल्ने/खेलाउने रितिथिति बसाउने अभियानमा अमूल्य योगदान पुर्याउने सांगीतिक संस्थाको रुपमा आफ्नो परिचय स्थापित गराउन यो संस्था सफल भएको छ।