मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

प्याब्फोनको साधारणसभा सम्पन्न हुन सकेन

प्याब्फोनको साधारणसभा सम्पन्न हुन सकेन

डिसेम्बर १० तारिखका लागि अर्को सूचना जारी


अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE)को साधारणसभा सम्पन्न हुन सकेन। गत नोभेम्बर २५ तारिख शनिवारका दिन ब्रेन्ट्री स्थित आफ्नै भवनमा सम्पन्न गर्ने गरी तय गरिएको साधारणसभामा, संस्थाको विधान अनुसार गणपूरक संख्या नपुगेका कारण सम्पन्न हुन नसकेको संस्थाले जनाएको छ। अक्टोबर ७ तारिख बसेको संस्थाको बैठकले उक्त दिनमा सधारणसभा गर्ने निर्णय गरेको थियो। र, संस्थाले सोही निर्णयका आधारमा तोकिएको मितिमा साधारणसभा सम्पन्न गर्नका लागि, संस्थाको विधान २०१२ को दफा ८ अनुसार भन्दै नोभेम्बर ११ तारिखका दिन सूचना जारी गरेर आवश्यक तयारी गरेको थियो। तर, उक्त दिन साधारणसभाले वैधानिकता पाउने गरी सदस्यहरु उपस्थित भएनन्। जसका कारण साधारणसभाका लागि तय गरिएका महत्वपूर्ण विषयहरु: वार्षिक प्रतिवेदन, वार्षिक आय-व्ययको विवरण, लेखापरीक्षकको नियुक्ति, आगामी वार्षिक कार्यक्रमको विवरण, नयाँ

कार्यसमिति चयन लगायत उपर छलफलको प्रक्रिया अघि बढ्न सकेन।
संस्थाले विधानको दफा ६(२)मा व्यवस्था गरिए बमोजिम भन्दै आउदो डिसेम्बर १० तारिख आइतवार दिनको २ बजेदेखि ब्रेन्ट्री स्थित संस्थाकै भवनमा उक्त साधारणसभा गर्ने गरी संस्थाका प्रवक्ता परशुराम फुयालमार्फत दोश्रो पटक सूचना जारी गरेको छ

संस्थाका वर्तमान कार्यसमितिका अध्यक्ष विष्णु कार्कीले निर्धारित मितिमा संस्थाको साधारणसभा सम्पन्न गर्न नसकिएकोप्रति दु:ख व्यक्त गरेका छन्। निर्धारित समयमै साधारणसभा सफलतापूर्वक सम्पन्न गर्ने गरी आवश्यक सम्पूर्ण तयारी गरिसकिएको भएतापनि, अन्तिममा आएर सफलता प्राप्त गर्न नसकिएकोप्रति द:खेसो पोख्दै अध्यक्ष कार्कीले भने, ‘साधारणसभाका लागि सम्पूर्ण तयारी भैसकेको थियो। तर, विधान अनुसार गणपूरक संख्या नपुगेका कारण साधारणसभा सम्पन्न गर्न सकिएन। दु:ख लागेको छ।’ संस्थाको साधारणसभा संस्थागत विकासका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले यसलाई सदस्यहरुले सोही अनुसार आत्मसात् गरेर भूमिका निर्वाह गर्नु पर्ने जिकिर गर्दै अध्यक्ष कार्कीले डिसेम्बर १० तारिखका दिन हुन गइरहेको साधारणसभामा भने सबै सदस्यहरुको गरिमामय उपस्थितिका लागि विशेष अनुरोध गरेका छन्। साधारणसभामा उपस्थित भएर संस्था तथा कार्य समितिलाई उर्जाशील उत्प्रेरणा तथा अमूल्य सुक्षाव सल्लाहहरु दिनका लागि अनुरोध गर्दै उनले भने, ‘संस्थागत विकासका लागि साधारणसभा अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले सदस्य ज्यूहरुले सोही अनुसार यसलाई आत्मसात् गरेर साधारणसभामा उपस्थित भइ उर्जाशील उत्प्रेरणा र अमूल्य सुक्षाव सल्लाहरु दिनु हुन विनम्र अनुरोध गर्दछु।’

संसथाका अनुसार, यस पटकको साधारणसभामार्फत आगामी दुइ वर्षीय कार्यकाल(२०२३-०२५)का लागि नयाँ कार्यसमितिको चयनसमेत गरिने भएको छ। बढिमा दुइ कार्यकाल अध्यक्ष पदमा रहन सक्ने संस्थाको विधानमा व्यवस्था अनुसार, दुइ कार्यकाल अध्यक्ष बनिसकेका कार्कीले अब अध्यक्ष पदबाट बिदा लिदैछन्। र, निर्वाचनमार्फत नयाँ व्यक्तिले नेतृत्व सम्हाल्दैछन्। त्यसका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन डा.उषा शर्मा(प्रमुख निर्वाचन अधिकृत ), मिलन गुरुङ (निर्वाचन अधिकृत) र विजय शर्मा (निर्वाचन अधिकृत) रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। र, गठित निर्वाचन समितिले दिइएको जिम्मेवारी पूरा गर्न निर्वाचन प्रक्रिया अगाडि बढाइ सकेको छ। निर्वाचन प्रक्रियाका सम्बन्धमा जानकारी दिदै निर्वाचन अधिकृत मिलन गुरुङले भने, ‘निर्वाचन समितिले प्राप्त जिम्मेवारी पूरा गर्नका लागि आवश्यक प्रक्रियाहरु सुरु गरिसकेको छ। जस अन्तर्गत मतदाता नामावली प्रकाशित गरिसकिएको छ। संस्थाको विधान अनुसार निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध छौं। त्यसका लागि सबैको साथ र सहयोगका लागि अनुरोधसमेत गर्दछौं।’

निर्वाचन समितिले नोभेम्बर निर्वाचन प्रयोजनका लागि भन्दै नोभेम्बर २६ तारिख आइतवार मतदाता नामावली प्रकाशन गरेको छ। जस अनुसार संस्थामा हाल मताधिकार प्राप्त मतदाताहरुको कूल संख्या २०४ रहेको छ। संस्थाको विधान अनुसार मताधिकारसहितको संस्थाको सदस्यता पाउनका लागि कम्तिमा दुइ हजार डलर दान गर्नु पर्दछ। हाल प्याब्फोनको विधान अनुसार संस्थामा बोर्ड अफ ट्रष्टी र कार्यसमिति गरी दुइ तहको समिति रहेका छन्। निर्वाचन समितिले जनाए अनुसार हुन गइरहेको निर्वाचनले आगामी कार्यकाल(२०२३-२०२५)का लागि नयाँ कार्यसमिति चयन गर्न गइरहेको छ।

सन् २०१२ मा स्थापना भइ आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ बुद्ध मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य पुरा गर्न सक्षम भएको प्याब्फोन, मन्दिर र सामुदायिक भवन नियमित रुपमा सञ्चालन भइसक्दा पनि संस्थाको विधान अनुसार कम्तिमा ५१ प्रतिशत सदस्यहरुको उपस्थितिमा पहिलो पटक तोकिएकै मितिमा साधारणसभा सम्पन्न गर्न भने असक्षम भएको छ। जुन नियति संस्थाले पटक पटक बेहोर्दै आइरहेको छ। यस घटनाले संस्थाको गरिमामा आँच पुर्याउनुका साथै गम्भीर प्रश्नसमेत खडा गरिदिएको भन्दै संस्थामा क्रियाशिल व्यक्तित्वहरु तथा शुभचिन्तकहरुले निकै चिन्ता व्यक्त गरेका छन्। धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको गर्वका साथ संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने र प्राप्त उपलब्धिहरु तथा आर्जित अमूल्य सम्पत्तिहरुलाई पुस्तान्तरण गर्दै जाने उद्देश्यहरु लिएर अभियानमा जुटेको संस्थाले, सोही अनुरुप संस्थागत विकासका लागि सदस्यता तथा क्षेत्राधिकार विस्तार, अधिकार प्रत्यायोजन र पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै जानु जरुरी छ।