मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपालको संविधान संसारकै प्रगतिशील संविधानमध्ये एक : परराष्ट्रमन्त्री साउद

नेपालको संविधान संसारकै प्रगतिशील संविधानमध्ये एक : परराष्ट्रमन्त्री साउद


बोस्टन । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपालको संविधान संसारकै सबैभन्दा प्रगतिशील संविधानहरुमध्येको एक भएको जिकिर गरेका छन् ।

अमेरिका भ्रमणको क्रममा नोभेम्बर २ तारिखमा बोस्टन आइपुगेका परराष्ट्रमन्त्री साउदले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो जिकिर गरेका हुन् । गैरआवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले जल्दाबल्दा मुद्दाहरु र समसामयिक विषयहरुमा विचार मन्थन गर्ने उद्देश्यले आयोजना गरेको “अन्तर्क्रिया तथा साक्षात्कार कार्यक्रम”का प्रमुख अतिथि साउदले नेपालको संविधान समावेशी र प्रगतिशील भएको दाबी गरे।

वर्तमान संविधानको बचाउ गर्दै उनले भने, “नेपालको संविधान समावेशी छ। समावेशी संविधान भएको हुनाले संसारकै सबैभन्दा प्रगतिशील संविधानहरुमध्येको हाम्रो पनि संविधान हो।”

मन्त्री साउदले आफ्नो भनाइलाई पुष्टि गर्न महिला जनप्रतिनिधिको उदाहरण दिँदै हाल स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी र प्रादेशिक तथा केन्द्रीय तहमा ३३ प्रतिशतभन्दा बढी महिलाहरुको प्रतिनिधित्व रहेको बताए । नेपालले छोटो अवधिमा पनि राष्ट्रपति, प्रधानन्यायधीश, सभामुखजस्ता राज्यका महत्त्वपूर्ण पदहरुमा महिलालाई स्थान दिइएको बताउँदै उनले आदिवासी जनजातिहरु पनि खुलाप्रतिस्पर्धाबाट राजनीतिको पछिल्लो चरणमा पुगेको बताए।

केही राजनीतिक घटनाक्रमलाई मात्रै केन्द्रमा राखेर हेर्दा केही कमिमजोरीहरु भएको हुन सक्ने स्वीकार गर्दै मन्त्री साउदले त्यसलाई अन्यथा नलिन आग्रह गरे।

“एउटा हिउँदले मात्रै जाडो जाँदैन। एउटा गौथली उड्दैमा वर्षात आउँदैन”,” नेपालको संविधान, राजनीतिक क्रियाकलापहरु र राजनीतिक दलहरु सही बोटोमै रहेको विश्वास दिलाउदै उनले भने, “हामी ठीक ट्र्याकमा छौँ। समयले विस्तारै प्रगति गरेर लैजाने छ भन्ने कुरा म विश्वस्त छु।”

कार्यक्रममा सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री साउदले छिमेकी राष्ट्र भारततिर इंकित गर्दै नेपालीमा कसैप्रति पनि घृणित विचार नभएको प्रस्ट पारे। उनले कसैको व्यक्तिगत विचारलाई लिएर राष्ट्रिय परिप्रेक्ष्यमा वा समग्र सामाजिक परिप्रेक्ष्यमा नहेर्न सबैलाई आग्रह पनि गरे।

एनआरएनए, एनसिसीका पूर्व अध्यक्ष प्रल्हाद केसीको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई आयोजकको तर्फबाट स्वागत गर्दै संस्थाका पूर्वसल्लाहकार दीनबन्धु भट्टले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै एनआरएनए, आइसिसि सदस्य छत्रकुमारी गुरुङ, अमेरिका स्थित राजदूतावासका डेपुटी चिफ अफ मिसन कुमारराज खरेल, नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश ओलीलगायत कार्यक्रममा सहभागीता जनाउनेहरुले गैर आवासीय नेपालीहरुको अवस्था, संस्थाको अवस्था, नेपाल सरकारको निति तथा कानुनी व्यवस्था तथा भूमिकालगायत विषयमा केन्द्रीत रहेर आफ्ना विचारहरु राख्दै प्रमुख अतिथि साउदको ध्यानाकर्षण गराएका थिए।

संस्थाका मासाच्युसेट्स च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा, वक्ता तथा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ नेपाल सरकारको प्रतिनिधित्व गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा परराष्ट्रमन्त्री साउदले दिने प्रयास गरेका थिए ।

परराष्ट्रमन्त्री साउद गत कार्तिक १२ गते नै अमेरिकाको भ्रमणका लागि अमेरिका आएका थिए । उनले आफनो एक हप्ते भ्रमण तालिकाअनुसार अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेन, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटलगायत अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ।