मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   
साहित्य / कला   

बोस्टनमा ‘मोती तथा माधव जयन्ती’ मनाइयो

बोस्टनमा ‘मोती तथा माधव जयन्ती’ मनाइयो


बोस्टन- अमेरिकाको बोस्टन सहरमा नेपाली साहित्यको विकास तथा उत्थानमा अमूल्य योगदान पुर्याएका नेपाली राष्ट्रिय स्रष्टा द्वय युवाकवि मोतीराम भट्ट र राष्ट्रकवि माधवप्रसाद घिमिरे जयन्ती मनाइएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), बोस्टनको नियमित साहित्यिक कार्यक्रम अन्तर्गत मोती तथा माधव जयन्ती मनाइएको हो। कार्यक्रम गत सेप्टेम्बर २४ तारिख आइतवारका दिन अमेरिकाको बोस्टन स्थित मूलवासी नेपालीहरुको सामुदायिक भवनमा सम्पन्न भएको हो। कवि अनु शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा, संस्थाका सहसचिव प्रतिक रावलले कार्यक्रममा सहभागी भएकाहरुलाई स्वागत गरेका थिए। कार्यक्रमका सहभागी, वक्ता, कवि तथा साहित्यिकारहरुले भट्ट तथा घिमिरेलाई स्मरण गर्दै उनिहरुले नेपाली साहित्यको विकास तथा उत्थानामा पुर्याएको अमूल्य योगदानको चर्चा गरेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले साहित्यिक स्रष्टा द्वय भट्ट र घिमिरेले नेपाली साहित्य क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएको जिकीर गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले कवि द्वयलाई विश्वभर स्मरण गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्मान व्यक्त गरिएको र भावी दिनहरुमा पनि गरिने बताए। अनेसास बोस्टनका अध्यक्ष महेश्वर पन्तले पनि कवि द्वय भट्ट र घिमिरेको साहित्यिक व्यक्तित्वको चर्चा गर्दै सम्मान व्यक्त गरेका थिए। उनले नेपाली भाषा, साहित्य र संस्कृति क्षेत्रको विकासमा अनेसासले सक्दो भूमिका निर्वाह गरिरहेको बताउदै भावी दिनहरुमा थप फड्को मार्नु पर्ने आवश्यकता औल्याएका थिए। सम्बोधन गर्ने क्रममा अध्यक्ष पन्तले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा अनेसासले सक्दो भूमिका खेलिरहेको बताउदै बोस्टन स्थित सामूहिक भवनमा नेपाली पुस्तकालय सञ्चालन गरिसकिएको र निकट भविश्यमै बाल तथा प्रौढ नेपाली शिक्षा कक्षा पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका थिए। कार्यक्रममा राज मित्र प्रतिष्ठानका अध्यक्ष सुशिल नेपाल, सृजनशील महिला समूहकी अध्यक्ष सानु वर्मालगायत कार्यक्रमका सहभागीहरुले द्वय राष्ट्रिय सम्मानित साहित्यिक व्यक्तित्वहरुप्रति श्रध्दा प्रकट गर्दै आफ्ना रचनाहरु वाचन गरेका थिए। अनेसास बोस्टनद्वारा आयोजित काव्य गोष्ठी ‘सिर्जना उत्सव समारोह -भाग चार’ अन्तर्गत समेटिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो।

नेपाली साहित्यका मोती मानिने मोतीराम भट्टले आफ्नो साहित्यिक यात्राका क्रममा नेपाली साहित्यमा अमूल्य योगदान पुर्याउदै प्रथम नेपाली गजलकार, जीवनीकार तथा समलोचकको परिचय बनाउन सफल भएका छन्। उनले पिकदूत, प्रल्हाद भक्तिकथा, गजेन्द्रमोक्ष, उषाचरित्र, प्रियदर्शिका नाटिका, भानुभक्त आर्चायको जीवन चरित्र लगायत दर्जनौं अमूल्य कृतिहरु दिएर गएका छन्। त्यसैगरी, राष्ट्रकविको उपाधिद्वारा सम्मानित व्यक्तित्व माधवप्रसाद घिमिरेले नेपाली साहित्यिक क्षेत्रको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता विधामा कयौं कृतिहरु छोडेर गएका छन्। जस मध्य, ‘मालती मङ्गले, शाकुन्तला, हिमालवारी हिमालपारी, गौरी’ लगायत उनका प्रमुख कृतिहरु हुन्। नेपाली साहित्यिक क्षेत्रमा घिमिरेले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कवि, गितकार तथा नाटककारको रुपमा आफ्नो खास परिचय बनाएका छन्।

कार्यक्रममा स्वर्गीय साहित्यकारहरुलाई श्रध्दासुमन अर्पण गर्न एक मिनट मौनधारणसमेत गरिएको थियो।