मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

जिबिएनसिको ‘हरितालिका तीज’ विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

जिबिएनसिको ‘हरितालिका तीज’ विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न


अमेरिकाको बोस्टन सहरमा ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले नेपालीहरुको महान चाड ‘हरितालिका तीज’ को अवसर पारेर आयोजना गरेको तीज विशेष कार्यक्रम ‘हरितालिका तीज-२०२३’ भव्यताका साथ सम्पन्न भएको छ। तीज केन्द्रीत नाचगान र दरको झल्को दिने मिष्टान्न खानपानसहितको उक्त कार्यक्रम, गत सेप्टेम्बर १६ तारिख सनिवार राती सम्पन्न भएको हो। तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, परम्परा, रतिरिवाज, नेपालीपन र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्न सक्दो भूमिका खेल्ने र महान चाड हर्षोल्लासका साथ मनाउने मुख्य उद्देश्यका साथ आयोजित कार्यक्रम निकै मनोरञ्जनात्मक रहेको थियो। कार्यक्रममा उपस्थित सहभागीहरुले एक आपसमा आत्मीय भेटघाट गर्दै तीजको शुभकामना आदानप्रदानसमेत गरेका थिए। कार्यक्रमलाई सक्दो प्रभावकारी बनउन र सहभागी नारीहरुले भरपुर मनोरञ्जन लिन कुनै कसर बाँकी राखेनन्।

कार्यक्रमको मुख्य आकर्षक चर्चित वरिष्ठ नेपाली लोक गायिका हरिदेवी कोइराला रहेकी थिइन्। उनले तीज केन्द्रित गीतहरु गाएर सांगीतिक माहोल तताउदै सहभागीहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन्। गायिका कोइरालाले आफ्ना सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने क्रममा तीज पर्वको धार्मिक, सांस्कृतिक, पारिवारिक महत्व, माइती र चेलीबिचको पवित्र सम्बन्ध, श्रीमान र श्रीमती बिचको पूजनीय सम्बन्ध आदिका बारेमा संक्षिप्त रुपमा प्रकाश पारेकी थिइन्। कार्यक्रममा सहभागी महिलाहरुले पनि हरिमायासंगै भाखामिलाउदै गाउदै नाच्दै मनोरञ्जन गरेका थिए। नाच्न र गाँउन निकै उत्साहित गराउने तीज विशेष चर्चित गीतहरुमा कलाकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गर्दा मनोरञ्जनको सागरमा डुबुल्की मार्न सहभागीहरु पछि परेनन्। भाषा, धर्म, संस्कृति, संगीत, कला, बोलीबचन, व्यवहार , खानपिन आदिले कार्यक्रम स्थल नेपालमय बनेको थियो। कार्यक्रम स्थल तीज विशेष पोशाक(साडी चोलो), गरगहना र शृङ्गारले चिटिक्क परेका सहभागीहरुको उपस्थितले खचाखच भरिएको थियो। जहाँ पुरुषहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको दौरानमा कार्यक्रम आयोजक संस्था जिबिएनसिकी अध्यक्ष अन्जु थापाले अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै संस्थाको तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन्।

संस्थाका महासचिव सोनाम शेर्पाले तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिदै खुशी व्यक्त गरे। कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध बनाउदै नेपाली चाड पर्व, नेपालीपन तथा पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उनले जिकीर गरे। महासचिव शेर्पाले समाजमा पनि निकै सक्षम महिलाहरु रहेको बताउदै उनिहरुलाई पहिचान गरी सामाजिक क्रियाकलापहरुमा अधिकारसहित नेतृत्वदायी भूमिका दिइनु पर्नेमा जोड दिए। तीज नारी सशक्तिकरणका लागि महत्वपूर्ण चाड भएकाले सोही अनुसार प्राथमिकता दिएर कार्यक्रमको आयोजना गरिएको उनले बताए। कार्यक्रम भव्यताका साथ सफल बनाउन साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिदै महासचिव शेर्पाले अक्टोबर २१ तारिख सनिवार हुन गइरहेको ‘दशैं तिहार धमाका’ कार्यक्रमलाई पनि सफल बनाउन साथ सहयोगको लागि सबैलाई आग्रह गरे।

संस्थाकी महिला उपाध्यक्ष सानु बर्मा अधिकारीले पनि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएकी छिन्। उनले कार्यक्रम अनुमान गरिएको भन्दा निकै उल्लासमय भएको जिकीर गर्दै भनिन्, ‘कार्यक्रममा अनुमान गरिएको भन्दा बढिको सहभागिता रह्यो। र, अपेक्षा गरिए भन्दा पनि बढि उल्लासमय भयो।’ महिला उपाध्यक्ष अधिकारीले तीजको शुभकामना दिदै थपिन्, ‘कार्यक्रमको सफलताले उत्साहित बनाएको छ। त्यसका लागि सबैलाई धन्यवाद !’ प्रतिक्रिया दिने क्रममा उनले कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाले संस्थाप्रति समुदायको आकर्षण, माया ममता, साथ सहयोग थप उचाइमा पुगेको पुष्टि भएको जिकीर गरिन्।

संस्थाका महासचिव सोनाम शेर्पाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्दिप भट्टराइले कार्यक्रम स्थललाई उल्लासमय सांगीतिक माहोल बनाउन डिजे(DJ)को भूमिका निर्वाह गरेका थिए। सहभागिताका लागि २० डलर सहयोग शुल्क तोकिएको कार्यक्रममा, ४ सय पचास जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। साँझ ६ बजेबाट प्रारम्भ भएको कार्यक्रम बेलुका अबेरसम्म सञ्चालन भएको थियो।