मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
राजनीति-समाज   

एक खर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा डा. वाग्ले

एक खर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा डा. वाग्ले

‘तपाईहरुकै कारण मैले चुनाव जितेको हो’


ड्यालस (टेक्सस) । अर्थविद् तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि सन् २०३५ भित्र एक खर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिनै पर्नेमा जोड दिएका छन् ।

‘नेपालले आर्थिक विकासको सुरुवात गरेको एकसय वर्ष पुगेको समयसम्म हामीले एकखर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएर हिँड्न जरुरी छ । त्यसका लागि डायस्पोरालाई परिचालन गर्नेदेखि लिएर नीतिमा जे जति समस्या देखिएका छन् तिनमा सुधार गर्न जरुरी रहेको छ’ डा. वाग्लेले शनिबार अमेरिकाको ड्यालसमा नेपाली व्यबसायीहरुलाई सम्बोधन गर्दै भने ।

सन् १९३५ मा राणा शासन कालमै नेपालमा उद्योगधन्दाको सुरुवात भएको थियो । त्यतिखेरनै नेपाल बैंकको स्थापना, बिराटनगरमा उद्योगहरु खुलेका कारण त्यो समयलाई नेपालमा अर्थतन्त्रको जग बसेको समयको रुपमा दिनुपर्ने धारणा उनले राखे ।

नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको आठौं गाला डिनर कार्यक्रममा डा. गाग्ले विशिष्ट वक्ताका रुपमा उपस्थित थिए । त्यस अवसरमा उनले धेरै वर्ष दातृ संस्था, वैदेशिक नियोगहरुमा रहेर काम गरेको र योजना आयोग, सल्लाहकार जस्ता निकायमा रहेर काम गरेको अनुभवले पिँधमा बसेर मात्र नहुने रहेछ भन्ने लागेर पूर्ण कालिन राजनीतिमा आएको उल्लेख गरे ।

‘हामी नेपालीहरु नेपाल भन्दा बाहिर जहाँ जे जति बसेका छौं, सबैजना व्यक्तिगत रुपमा आफ्नो क्षेत्रमा धेरै नै सफल छौं । तर सामुहिक रुपमा नेपाल चाँहि किन बनेन भन्ने प्रश्नले बारम्बार घोचिरह्यो’ उनले भने–‘त्यही समस्या समाधान गर्नका लागि विकसित मुलुक छाडेर म एक दशकदेखि नेपालमै बसेर काम गरिरहेको छु ।’ उनले ड्यालसमा नेपाली समुदाय व्यबसायीक रुपमा एकदमै सफल भएको दृष्टान्त दिँदै अमेरिकी पूर्बी तटीय राज्य म्यासाचुसेटदेखि दिएर पश्चिम तटीय क्यालिफोर्निया, न्यू मेक्सिको, एरिजोना लगायतमा प्रोफेसनल रुपमा धेरै नेपालीले सफलता हाँसिल गरेकोले नेपालको विकासमा जोड्नका लागि आफू सकृय रहेको समेत उल्लेख गरे ।

कृषियोग्य भूमिमा सिंचाई सुविधा विस्तार, आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने धारणा उनले राखे । सूचना प्रविधि, पर्यटन जस्ता सेवा क्षेत्रको विस्तार, उत्पादनमुलक उद्योगधन्दाको विकास गरेमा नेपालले एकसय खर्ब डलरको अर्थतन्त्र बनाउन कुनै गाह्रो नभएको धारणा राखे ।

तपाईहरुकै कारण मैले चुनाव जितेः

एक प्रसंगमा सांसद डा. वाग्लेले हालै तनहुँको उपनिर्वाचनमा आफुले विजय प्राप्त गर्नुको कारण नेपाल बाहिर रहेका नेपालीहरुको ठूलो योगदान रहेको बताए ।

‘सम्माननीय राष्ट्रपतिज्यूले छाडेर खाली भएको तनहुँको निर्वाचन क्षेत्रमा मैले जित्नुमा तपाईहरुकै ठूलो हात छ । नत म गोरखाको मान्छे, नत लामो समयदेखि राजनीतिमा लागेकोनै । तपाईहरुले अमेरिका, युरोप, अष्ट्रेलिया, खाडी, मलेसियाबाट तनहुँमा रहेका आफन्त, साथीभाईहरुलाई फोन गरेर भोट दिन गर्नुभएको आग्रहकै कारण मैले जितेको हो’ उनले भने ।

उनले अमेरिकामा रहेका नेपालीहरुलाई तुरुन्तै नेपाल फर्किन आफूले आग्रह नगर्ने समेत बताए । ‘म अरु नेताले जसरी आजै फर्किनुस्, भोलीनै झोलीगुण्टा कसिहाल्नुस् भन्दिन । तपाईहरु जतिलाई सहज लाग्छ, जहिले मन लाग्छ एउटा योजना साथ फर्किनुस् । फर्किन नसक्ने, नमिल्नेले यतैबाट भएपनि सहयोग गरिदिनुहोला’ उनले भने ।
‘विश्वनै ग्लोबल भिलेजमा रुपान्तरण भैसकेको अवस्थामा जहाँ बसेर पनि नेपालमा योगदान गर्न सकिन्छ । तपाईहरुले यहाँ पाएको शीप, स्रोतको केही अंश नेपालमा दिनुभयो भने धेरै हुन्छ’ डा. वाग्लेले भने ।

चेम्बरकी अध्यक्ष स्मृति कार्कीको सभापतित्व तथा महासचिव प्रदीप गिरीको सञ्चालनमा भएको कार्यक्रममा आयोजक समितिका संयोजक सुरेशचन्द्र पोखरेलले डा. वाग्ले अन्तर्राष्ट्रिय छबी समेत बनाइसकेका अर्थविद् भएकाले नेपालको अर्थतन्त्रले भावी दिनमा सकारात्मक परिवर्तन हुने अपेक्षा टेक्ससका नेपाली व्यवसायीहरुले राखेको उल्लेख गरे । नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले नेपालभित्रै बाट र बाहिर बसेका नेपाली समुदायले डा. वाग्लेसँग देशको विकासमा ठूलो अपेक्षा राखेको बताए ।

चेम्बरले विभिन्न क्षेत्रमा योगादन पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुने व्यबसायीहरुमा निरज श्रेष्ठ, महेन्द्र पौडेल, दिपेश श्रेष्ठ, देबी आचार्य रहेका छन् । त्यस्तै संस्थागत रुपमा ड्यालस एभरेष्ट लायन्स क्लबलाई सम्मानित गरिएको थियो ।

त्यस अवसरमा संगीतकार न्हुँ बज्राचार्यले झण्डै ४५ मिनेटसम्म आफ्नो एकल प्रस्तुतीले मनोरञ्जन दिएका थिए ।