मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बृहत सहभागिता र कसिलो एकताको इतिहास रच्दै बोस्टनमा ‘नेपाल डे’ सम्पन्न

बृहत सहभागिता र कसिलो एकताको इतिहास रच्दै बोस्टनमा ‘नेपाल डे’ सम्पन्न


नेपाली तन, नेपाली मन, नेपाली स्वाभिमान !
सगरमाथा, बुद्ध, गोर्खाली हाम्रो पहिचान !!

यि माथिका हरफहरुलाई आत्मसात् गर्दै अमेरिकाको बोस्टन सहरमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। मूलवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसि) र एभरेट सिटीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल डे’ कार्यक्रम गत अगष्ट ६ तारिख आइतवारका दिन सम्पन्न भएको हो। प्रवेश शुल्क नलाग्ने गरी आयोजित यस खुला कार्यक्रम अपरान्ह १२ बजेदेखि साँझ अबेरसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा न्यू इंग्ल्याण्डवासी मूलवासी नेपालीहरुले बृहत सक्रिय सहभागिता र कसिलो सामुदायिक एकताको इतिहास रच्न सफल भएका थिए। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनलाई केन्द्रमा राखेर गरिएको कार्यक्रममा, जिबिएनसिकै इतिहासमा सबैभन्दा बढि मूलवासी नेपालीहरुले उत्साहजनक गर्वीलो सहभागिता जनाएको भनी सहभागीहरुले प्रतिक्रिया दिएका छन्। सभ्य, भव्य र व्यवस्थित उक्त कार्यक्रममा, आयोजक र आयोजकका बिच, आयोजक र सहभागीहरुका बिच र सहभागी र सहभागीहरुका बिच हार्दिकतासहितको कसिलो एकता झल्किरहेको देखिन्थ्यो पनि। जुन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोले नै पुष्टि गरेको छ। आयोजक र सहभागीहरुले अनुमान गरे अनुसार, कार्यक्रममा लगभग ४ हजारको सहभागिता रहेको थियो।

कार्यक्रम आयोजक संस्था जिबिएनसिकी अध्यक्ष अन्जु थापाले कार्यक्रम सोचेभन्दा पनि बढि सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएकी छिन्। बोस्टन स्थित नेपाली समुदायको इतिहासमै पहिलो पटक निकै कसिलो सामुदायिक एकता र उत्साहजनक बृहत सहभागिता रहेको कार्यक्रम ‘नेपाल डे’ हुन सफल भएकोमा अध्यक्ष थापाको पनि सहमति छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै उनले भनिन्, ‘माहोल हेर्दा कार्यक्रमले नेपाली समाजको कसिलो एकता र बृहत् सहभागिताको इतिहास रच्न सफल भएको महसुस गरेका छौं। कार्यक्रमबाट हामी निकै उत्साहित, उत्प्रेरित र खुशी छौं।’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जिकीर गर्दै अध्यक्ष थापाले थपिन्, ‘कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हामी सबैको अथक प्रयासबाट मात्र यो इतिहास रचिन सम्भव भएको हो। यसका लागि सहयोगी संस्था एभरेट सिटी, अन्य संघ संस्थाहरु, कार्यसमिति, सदस्यहरु, प्रेस, कलाकारहरुलगायत सबै सहयोगीहरुलाई आयोजकको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ कार्यक्रमको दौरानमा कमी कम्जोरी भएको भएमा क्षमा प्रार्थी छौं भन्दै उनले ३४ वर्षको इतिहास रहेको जिबिएनसिको कार्यक्रमलाई सबैको साथ सहयोगमा अझ राम्रो गर्न प्रयास गर्ने विश्वास समेत विश्वास दिलाइन्।

कार्यक्रममा एभरेट सिटिको तर्फबाट इडिआइ विभागकी निर्देशक (Director of EDI Department) क्याथी ड्राइन(Cathy Draine)को सहभागीता रहेको थियो। उनले कार्यक्रमको सफलताको कामना गर्दै सिटीकी मेयर डेमारिया(Demaria)ले दिएको शुभकामना सन्देशसमेत सुनाएकी थिइन्। यसैगरी, कार्यक्रम स्थलमा समरभिल सिटिकी मेयर क्याट्ज्याना ब्याल्यानटिन(Katjana Ballantyne ( Mayor of Somerville)को पनि उपस्थिति रहेको थियो। उनले आयोजित कार्यक्रम निकै आकर्षक र सबैका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन्। संस्थागत प्रतिनिधित्व गरेका दुबैले कार्यक्रमको महत्व, प्रभाव र परिणामको चर्चा गर्दै आगामी दिनहरुमा पनि नेपाली समुदायसंग मिलेर काम गर्ने र सक्दो सहयोग गर्ने विश्वास दिलाएका थिए।

जिबिएनसिका महासचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले पनि कार्यक्रम ऐतिहासिक रुपमा नै सफल भएको प्रतिक्रिया दिएका छन्। उल्लेखनीय संख्यामा सहभागीहरुको उत्साहजनक उपस्थितिले कलाकारहरु, स्टल राख्नेहरु, आयोजकहरुलगायत सबै निकै खुशी भएको बताउदै उनले भने, ‘दिन छोटो लाग्यो। पहिला लामो दिन छ, ६/६ घण्टाको कार्यक्रम कसरी गर्ने होला भन्ने लागेको थियो। अहिले चाही समय छोटो भएको अनुभूति भएको छ। यस आधारमा के भन्न सक्छौं भने-‘यो ‘नेपाल डे’ एकदम सफल भएको छ।’ कार्यक्रम संयोजक शेर्पाले कार्यक्रमको दौरानमा कमी कम्जोरीहरु भएको भए आगामी वर्षहरुमा त्यसको समिक्षा गर्दै नेपाली विभिन्न जातजातिका झाँकीहरुसहित अझ भव्यताका साथ ‘नेपाल डे’ मनाइन सकिने अपेक्षा गरे। उनले कार्यक्रम भव्यताका साथ सफल बनाउन प्रतक्ष्य तथा परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

जिबिएनसिले समरभिल सिटिको साथमा सन् २०१२ बाट ‘नेपाल उत्सव’ मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो ‘नेपाल उत्सव’ मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि गत वर्ष चौथो ‘नेपाल उत्सव’ मनाइएको थियो। यस वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरि एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे’ मनाइएको हो।

कार्यक्रममा कलाकारहरुले नेपाल र नेपाली संझाउने र नेपालीपन तथा पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँगीतिक कलाहरु(वाद्यवादन, गायन तथा नृत्य) प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक रौनकता दिन सफल भएका थिए।

बृहत् साँगीतिक कार्यक्रमका मूख्य आकर्षण नेपालका चर्चित गायक सुगम पोखरेल रहेका थिए। उनले नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्दै आफ्ना चर्चित गीतहरु पस्किएर सहभागिहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। पोखरेलले आफ्ना चर्चित गीतहरु-फेरी त्यो दिन संझन चाहन्न…, सम्हालिन्छ कहिले मन…, मेरो एउटा साथी छ…,वर्षमा दिनमा लै लै…लगायत गाएका थिए।गाउदै गर्दा दर्शकहरुलाई पनि साथ दिन अनुरोध गरेपछि दर्शकहरुले पनि पोखेललाई खुलेर नाच्दै गाँउदै साथ दिएका थिए। स्थानीय कलाकारहरुको जोडदार प्रशंसनीय प्रस्तुतिहरुले कार्यक्रमलाई थप वजसी र मनोरञ्जनात्मक बनाउन सफल भएको थियो भने, सहभागी दर्शकहरु गर्वीलो नेपालीत्व र अपनत्व महसुस गर्दै साँगीतिक माहोलमा भरपूर रमेका थिए। साँगीतिक कार्यक्रमका संयोजक राज लामाले सम्भव भएसम्म सबैलाई समेट्दै संस्थाको उद्देश्य अनुसार कार्यक्रमलाई गुणस्तरीय र मनोरञ्जनात्क बनाउने प्रयास गरिएको प्रतिक्रिया दिए। सहभागीहरुको उपस्थितिलाई आधार मान्दै लामाले कार्यक्रम सफल भएको बताए। कार्यक्रम गर्ने दौरानमा त्रुटिहरु भएको हुन सक्ने स्विकार गर्दै उनले भावि दिनहरुमा अझ राम्रो गर्नका लागि सल्लाह सुझावहरु दिनसमेत सबैलाई अनुरोध गरेका छन्।

कार्यक्रमको अर्को आकर्षणको पाटो थियो नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ७ वटा, नेपाली पहिचान बोकेका सामानहरुका ६ वटा र संस्थागत ७ गरी कुल २० वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो भने, कार्यक्रममा ७ वटा प्रायोजकहरु रहेका थिए। कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। नेपालको राष्ट्रिय गान गाएर र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुभारम्भ गरिएको साँगीतिक कार्यक्रमको सञ्चलन सन्देश मुनान्कर्मी, अशोक काफ्ले र आर्जु पराजुलीले गरेका थिए भने, प्राविधिकको जिम्मेवारी मुकुन्द पोखरेलले सम्हालेका थिए।

करिब १५ हजारको हाराहारीमा मूलवासी नेपालीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस मासाचुसेट्स राज्यमा, मूलवासी नेपालीहरुका विभिन्न संघ संस्थाहरुले, लामो समयदेखि नेपाल र मूलवासी नेपालीहरुको पहिचान तथा उत्थानका लागि संगठित भएर विविध सामाजिक क्रियाकलापहरु गर्दै आइरहेका छन्।