मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

कोषाध्यक्ष पदका प्रत्याशी शर्मालाई समर्थन गर्दै उप्रेतीले फिर्ता लिए आफ्नो उमेदवारी

कोषाध्यक्ष पदका प्रत्याशी शर्मालाई समर्थन गर्दै उप्रेतीले फिर्ता लिए आफ्नो उमेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाको अधिवेशन मिति नजिकिँदै गर्दा निर्वाचन निकै पेचिलो बन्दै गइरहेको छ। नेताहरुदेखि उमेदवारहरुसम्म, समर्थकहरुदेखि मतदाताहरुसम्मको समीकरणमा फेरबदल भइरहेको छ। यो क्रम निर्वाचनको मितिसम्म पनि जारी नै रहने छाटकाट देखिन्छ। यसैक्रममा एनआरएनए, एनसिसीको अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडेको समूहमा रहेर कोषाध्यक्ष पदमा उमेदवारी दिएका रवीन्द्र उप्रेतीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले सोही पदका लागि उमेदवारी दिएका अमित शर्मालाई समर्थन गर्दै आफूले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । शर्मा एनआरएनए, एनसिसीको अध्यक्ष पदका लागि उमेदवार बनेका सुमन थापाको साथमा कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएका थिए । तर, डाक्टर अर्जुन बन्जाडे र सुमन थापाको बीचमा सहमति भएर थापाले आफ्नो उमेदवारी फिर्ता लिएर बन्जाडेलाई समर्थन गरेपछि समीकरणमा फेरबदल हुन पुगेको हो ।

उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले निशर्त शर्मालाई समर्थन गर्दै कोषाध्यक्ष पदबाट उमेदवारी फिर्ता लिएको पुष्टि गरेका छन् । संस्थामा भइरहेका बेथितिहरुका कारण उब्जिएका समस्याहरुको समाधान, नेतृत्व परिवर्तन गरेर मात्र सम्भव भएकाले त्यसका लागि आफूले उमेदवारी फिर्ता लिनु परेको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यस संस्थामा भइरहेको बेथितिहरु नेतृत्व परिवर्तनसँगै मात्र समाधान हुने कुरामा विश्वास गर्दै अध्यक्षको प्रत्याशी डा अर्जुन बन्जाडेसँग जोडिन आउनुभएका कोषाध्यक्षका उम्मेदवार अमित शर्मालाई समर्थन गर्दै मैले आफ्नो उम्मेदवारी निशर्त फिर्ता लिएको जानकारी गराउन चाहन्छु।’

स्टाटसमा उनले शर्माप्रति विश्वास गर्दै थप लेखेका छन्, ‘उहाँले संस्थालाई सर्वोपरि राखी कसैको बहकाउ र दबाबमा नआई संस्था र सम्पूर्ण सदस्यहरुको हितमा कार्य गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ। उप्रेतीले संस्थाका आम सदस्यहरु नै भगवान् भएकाले उनिहरुकै लागि काम गरियोस् भन्ने अनुरोध गर्दै अरुका लागि गतिविधिहरु गरिए स्विकार्य नहुने चेतावनीसमेत दिएका छन् ।’

यस सम्बन्धमा अमित शर्माले प्रतिक्रिया दिँदै आफूलाई समर्थन गर्ने रवीन्द्र उप्रेती, सुमन थापा, डाक्टर अर्जुन बन्जाडे लगायत सबैलाई धन्यवाद दिएका छन् । उनले भने, ‘मलाई विश्वास गरेर साथ सहयोग गर्नुहुने र अवसर दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। र, पदभन्दा पनि जिम्मेवारी लिइ काम गर्नेछु।’

कोषाध्यक्ष पदमा नै उमेदवारी दिनुको कारण प्रष्ट्यादै शर्माले लेखा तथा कोषको क्षेत्रमा आफूसँग लामो अनुभव रहेको, अनुभवी समूह पनि आफ्नो सम्पर्कमा रहेको र संस्थलाई आर्थिक रुपमा सबल बनाउने केही महत्त्वपूर्ण योजनाहरु पनि आफूसँग रहेकाले कोषाध्यक्ष पद नै रोजेको बताए । संस्थामा परिवर्तनसँगसँगै रुपान्तरण पनि आवश्य भएको महसुस भएकाले नै डाक्टर अर्जुन बन्जाडे नेतृत्वको परिवर्तनका पक्षधर समूह र सुमन थापा नेतृत्वको रुपान्तरणका पक्षधर समूहका बीचमा एकता हुन पुगेको शर्माले खुलासा गरे । उनले भने, ‘अब हामी मिलेर अघि बढ्छौँ। संस्थालाई समावेशी, पारदर्शी र विश्वसनीय बनाउछौँ। हामी समुदायबाट लिने मात्र हैन, दिने काम पनि गर्ने छौँ।’

यस समीकरणले एनआरएनएमा  ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएकाहरुलाई ठूलो राहत मिलेको छ भने इतरकाहरुलाई आहत पुगेको छ। चुनाव हो। भन्न सकिन्न के हुन्छ अन्तिमसम्म । यस पटक दुवै पक्षलाई बाजी मार्न भने त्यति सजिलो पक्कै छैन।