मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
साहित्य / कला   

कोलोराडोमा पाँचौं गजल उत्सव सम्पन्न

कोलोराडोमा पाँचौं गजल उत्सव सम्पन्न


कोलोराडो- अमेरिकाको कोलोराडोमा पाँचौं गजल उत्सव भव्य रूपमा सम्पन्न भएको छ । एएनए डेनभर सम्मेलन २०२३ मा गजल यात्रा र अनेसास कोलोराडोद्वारा संयुक्त रुपमा गजल उत्सव ५ आयोजित गरिएको हो ।

जुलाई २ तारिख आइतवार दिउँसो २ बजेबाट शुरु गरिएको कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो । कार्यक्रमको सुरुवात गजल गायनबाट भएको थियो । समारोहमा महेश्वर पन्त र अंकित न्यौपानेले गजल गाउनु भएको थियो ।

महेश्वर पन्तले आफ्नै रचना गाउनुभएको थियो भने अंकित न्यौपानेले आचार्य प्रभा र भुपेन्द्र महतद्वारा रचित तथा मनोजराज शिवाकोटीद्वारा सङ्गीत गरिएको गजल गाएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । गजल गायनको निमित्त वाद्यवादन गर्नुहुनेहरूमा हार्मोनियममा मनोजराज शिवाकोटी , तवलामा सुरेन्द्र महर्जन , गितारमा मनोज तुलाधर , र म्यान्डलिनमा सुरेश प्रधान हुनुहुन्थ्यो । कार्यक्रमको दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरू तथा कोलोराडोमा रहनुभएको २२ जना गजलकारहरूले गजल वाचन गर्नुभएको थियो ।

गजल वाचन गर्नुहुने गजलकारहरूमा क्यालिफोर्नियाबाट खिम केसी र प्रमोद अमात्य , कोलोराडोबाट पदम विश्वकर्मा , भुपेन्द्र महत , डा. खगेन्द्रप्रसाद दाहाल , केशव आचार्य , आचार्य प्रभा , मिलन कोइराला , मनोजराज शिवाकोटी , सन्तोष पाण्डे हिलियम , र पार्वती शर्मा हुनुहुन्थ्यो ।

त्यस्तैगरी मेरिल्याण्डबाट रोहित राना , म्यासाचुसेटबाट गोवर्द्धन पूजा , नेब्रास्काबाट डा. खगेन्द्र दाहाल , न्युयोर्कबाट बिष्णुहरी भण्डारी , पेन्सेलभिनियाबाट सुशील ताम्राकार , टेक्सासबाट सतीश त्रिपाठी, बासु पौडेल , बासु पुष्पा अधिकारी , पवन लामिछाने , रोशन श्रेष्ठ , भर्जिनियाबाट राज क्षेत्री ‘राहुल’ र प्रकाश आचार्य हुनुहुन्थ्यो । फरक शैलीमा प्रस्तुत गरिएको गजल वाचन र गायनको कार्यक्रमलाई उपस्थित दर्शक श्रोताहरुले अत्याधिक मन पराएका थिए ।

कार्यक्रमको अन्त्यमा एएनएका अध्यक्ष विजयराज भट्टराई , गजल यात्राका संयोजक पवन लामिछाने तथा अनेसास कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले उत्सवमा भाग लिने गायक र वाद्यवादक , गजलकार , पत्रकार र स्वयमंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए ।

२०१८ मा पहिलो पटक टेक्सासको डालसबाट गजल उत्सव शुरु गरिएको थियो । गजल उत्सव २ पनि टेक्सासको डालसमै २०१९ मा सम्पन्न भएको थियो । यसैगरी गजल उत्सव ३ ओहायोको सिनसिनाटीमा २०१९ मा , गजल उत्सव ४ टेक्सासको ह्युस्टनमा २०२१ मा सम्पन्न भएको थियो । कोलोराडोमा सम्पन्न यो गजल उत्सवले बस्टन म्यासाचुसेटमा गजल उत्सव ६ गर्ने घोषणा गरेको छ ।