मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

डालसमा नेपाली दूतावासको कन्सुलेट स्थापनाका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र

डालसमा नेपाली दूतावासको कन्सुलेट स्थापनाका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र


ड्यालस (अमेरिका) ।

अमेरिका नेपाल बाहिर स्थायी बसोबास गर्ने नेपालीहरुको सबभन्दा ठूलो समुदाय भएको देश हो। औपचारिक तथ्याङ्क नभएपनि करिब चार लाख नेपालीहरु अमेरिकामा बसोबास गर्ने अनुमान छ। हाल अमेरिकामा सबभन्दा धेरै नेपालीहरु बस्ने राज्य टेक्सस हो। टेक्ससका ठूला सहरहरु ह्युस्टन, डालस र अस्टिनमा मात्र करिब एकलाख नेपालीहरु बस्ने अनुमान गरिएको छ। यस मध्ये पनि डालस अहिले नेपालीहरुको बसोबास र अन्य सामाजिक गतिविधिको केन्द्र नै भएको छ।

नेपालीहरुको बसोबास बढेसंगै उनीहरुका लागि अत्यावश्यकीय कन्सुलर सेवाको माग पनि बढ्दो नै छ। स्थानीय नेपालीहरुको मागको सम्बोधन गर्दै वासिंङटन डिसीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली संघसंस्थाहरुले यस अघि नै दुई पटक घुम्ति कन्सुलर सेवा संचालन गरिसकेकाछन्। डालस, ह्युस्टन र अस्टिनमा गत डिसेम्वरमा भएको घुम्ति कन्सुलर सेवाबाट मात्र करिब एकहजार जनाले सेवा लिएका थिए।

नेपालीहरुको बढ्दो जनघनत्व र कन्सुलर सेवाको मागलाई दृष्टिगत गर्दै टेक्ससमा स्थायी नेपाली कन्सुलेट स्थापनाका नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी)का अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा नेपाल गएको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष एक ध्यानाकर्षण पत्र बुझाएको छ। अमेरिकामा रहेका नेपालीहरुको मागलाई सरकारले यथासंभव सम्बोधन गर्ने प्रयास गर्ने वचन प्रधानमन्त्रीले दिएको प्रतिनिधिमण्डलका एक सदस्य नेप्लिज एसोशियसन अफ ह्यस्टन (एनएएच)का प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई बताए। भ्रमण टोलीमा वाग्ले र गौतमका अतिरिक्त एनएसटी वरिष्ठ उपाध्यक्ष विवेक कँडेल, राजु सुबेदी, पशुपति तिमल्सिना समेत रहेका थिए।

नेपाली दूतावास र नेपालबाट अमेरिका भ्रमणमा आएका परराष्ट्रमन्त्रीहरुलाई समेत पहिले पनि टेक्ससको उपयुक्त स्थानमा कन्सुलेट स्थापनाका लागि अनुरोध भइसकेको थियो। तर यसपटक एनएसटी र एनएएचका पदाधिकारीहरुले नेपाल भ्रमणका बेला प्रधाननमन्त्री सहित अर्थ र परराष्ट्रमन्त्रीलाई समेत भेटेर डालसमा स्थायी कन्सुलेटको स्थापना गर्न नेपाल सरकारसँग विशेष माग गरेका छन्।

डालसमा कन्सुलेट खुलेमा नेपाली दूतावासबाट प्राप्त हुने पासपोर्ट, भिसा, यात्रा अनुमतिपत्र, एनआरएन कार्ड, वारेसनामा जस्ता सेवा लिनका लागि वासिङटन डिसी वा न्युयोर्कसम्म जानु पर्दैन थियो। डालसमा कन्सुलेट स्थापना भएमा टेक्सस लगायत वरपरका राज्यहरुमा बस्ने नेपालीहरुले समेत सहज कन्सुलर सेवा पाउने अवस्था बन्ने भ्रमण दलका सदस्यहरुले बताएका छन्।

तस्बिर: द्रोण गौतम