मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

नेपाली मूलका बालबालिकाहरुले बोस्टनमा गौरवपूर्ण नेपालीत्व झल्काए

नेपाली मूलका बालबालिकाहरुले बोस्टनमा गौरवपूर्ण नेपालीत्व झल्काए


यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ…
जुनकिरी झैँ ज्योति बाली, अन्धकारमा चम्किन्छ…

यि माथीका हरफहरु बहुचर्चित नेपाली राष्ट्रिय गीतको मुखडा हो। नेपाल र नेपालीको इतिहास, भूगोल, राष्ट्रियता, नेपालीपन, नेपाली पहिचान, नेपालीत्व आदि दर्शाउने/ झल्काउने यो राष्ट्रिय गीत, नेपालमा मात्र नभएर नेपाल बाहिर पनि निकै गाउने/ बजाउने गरिन्छ। यस गीतमा सुमधुर संगीत, कर्णप्रिय स्वर र राष्ट्रिय भावनाले उत्प्रोत शब्दहरुको अनुपम संगम भेटिन्छ। जसलाई गाउदा, सुनाउदा र बजाउदा अमूल्य आनन्दानुभूति हुन्छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा जुन १८ तारिख आइतबार आयोजित एक कार्यक्रममा नेपाली समुदायले यस्तै अमूल्य आनन्दानुभूति गरे। नेपाली क्लास बोस्टनले शैक्षिक सत्रको अन्तिम दिन अर्थात ‘फादर्स डे’ को दिन विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी अभिभावक दिवस भव्यताका साथ मनायो।

जहाँ नेपाली क्लासमा अध्ययनरत बालबालिकाहरुले सामूहिक रुपमा ‘यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ… ‘ गीत प्रस्तुत गरेका थिए। बालबालिकाहरुले यो गीत प्रस्तुत गर्दै गर्दा यसका शब्द शब्दहरुमा डुबेर अभिभावहरुले पनि गर्वका साथ नेपाल र नेपालीलाई स्मरण गर्दै बालबालिकाहरुलाई साथ दिइरहेका थिए। कार्यक्रमकै दौरानमा गाइएको ‘रातो र चन्द्र सूर्य…’ नेपाली राष्ट्रिय गीतले नेपालीत्वलाई थप कसी लगाएर चम्काएको थियो। र, एक आपसलाई भातृत्वको आत्मीय डोरीले कसेको थियो। नेपाल र नेपालीप्रतिको माया मोहमा डुबेको माहोल हेर्दा कार्यक्रम स्थल अमेरिका नभएर, नेपाल नै हो भन्ने भान हुन्थ्यो। कार्यक्रममा नेपालको भूगोल , इतिहासका साथै नेपाली भाषा, धर्म, संस्कृति, रितिरिवाज, परमपरा, रहनसहन, पहिचान, राष्ट्रियता आदिलाई अथक मेहनत गरेर सक्दो झल्काउने प्रयास गरिएको थियो। जसका कारण कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो।

कार्यक्रमको प्रारम्भमा बालबालीकाहरुले नेपाली झण्डा फरफराउदै मुक्तकण्ठले नेपाली राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी…’ गाएर कार्यक्रम स्थलमा नेपालमय माहोल बनाउने कामको सुभारम्भ गरेका थिए भने, अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो। अमेरिकाको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको दिन ‘फादर्स डे’ परेकाले समस्त पिताप्रति समर्पित गर्दै ‘पिता’ शिर्षकको कबिता वाचन गरेर शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा बालबालिकाहरुले नेपाली भाषा बोल्न, लेख्न र पढ्न सिक्ने दौरानमा सिकेका नेपालीपन, नेपाली पहिचान र नेपालीत्व दर्शाउने विविध ज्ञान तथा सीपहरु (नाटक, गीत संगीत, नृत्य, कविता आदि) प्रस्तुत गरेका थिए। नाटक अन्तर्गत के नेपाल सानो छ…? , अभिभावक र चोरको खुट्टा काट नामको छोटो मिठो महत्वपूर्ण सन्देश बोकेको नाटकहरु प्रस्तुत गरिएको थियो।


कार्यक्रमको तालिका अनुसार बालबालिकाहरुले नेपाली गीत/संगीत क्षेत्रमा चर्चित रहेका त्यो डाँडा पारी, लेकाली गाँउकी, गोजीमा दाम छैन, मायाले बाँध्यो, माया जदौ, आज हाम्रो भेट भाको दिन, टाकन टुकन, दर्शन सलाम, छिटको गुन्यु, चरी जस्तै लगायत गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। नेपालमा रहेका विभिन्न जातजातिहरुको प्रतिनिधित्व गर्ने भेषभूषामा सजिएर आकर्षक सामूहिक नृत्य गरेका कलाकारहरुले मनोरञ्जन दिनुका साथै नेपालीहरुमा विविधतामा एकता रहेको अमूल्य सन्देश दिने प्रयास गरेका थिए। विविध साँस्कृतिक कार्यक्रमको अन्त्यतिर नेपाली क्लासमा आवद्ध रहेर स्वयंसेवीको भूमिका निर्वाह गर्दै आइरहेका शिक्षक/शिक्षिकाहरु तथा सहयोगीहरुले आफ्नो प्रस्तुति पस्किएसंगै कार्यक्रमको बिट मारिएको थियो।

भिन्न परिवेश र परिस्थितिमा पनि बालबालिकाहरुले आफ्नो कलाको माध्यमबाट अमूल्य सन्देशसहित नेपाल र नेपालीप्रतिको आघात प्रेम, नेपालीपन,नेपाली पहिचान र नेपालीत्व झल्काउन सफल भएकोमा आयोजक तथा अभिभावकहरु बालबालिकाहरुप्रति आभारी भएका थिए। समग्रमा साँगीतिक कार्यक्रमसहितको ‘अभिभावक दिवस’ भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमका बारेमा आयोजकको तर्फबाट प्रतिक्रिया दिदै नेपाली क्लासको स्वयंसेवी शिक्षिका तथा कार्यक्रम संयोजक संझना गुरुङ श्रेष्ठले भनिन्, ‘कार्यक्रम एक दमै राम्रो भयो। बच्चाहरुको मेहनत सहयोग, हाम्रो शिक्षक समूहको पहल र अभिभावकहरुको सहयोग भएर यति सफल कार्यक्रम भयो। हामी एकदमै खुशी छौं। र, हाम्रो बच्चाहरुप्रति धेरै नै गर्व छ।’ बच्चाहरुलाई आफ्नो देश र आफ्नो उद्गम स्थलसंग जोड्ने उद्देश्यले प्रारम्भ गरिएको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिदै श्रेष्ठले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद समेत व्यक्त गरिन्।

‘कार्यक्रम सफल भएको महसुस गरेका छौं। भाइबहिनीहरुले निकै मेहनत गरें। अभिभावकहरुको अमूल्य साथ र सहयोग रह्यो। त्यसका लागि धन्यवाद ! ‘ नेपाली क्लास बोस्टनका अर्का स्वयंसेवी शिक्षक परशुराम फुयालले भने, ‘हरेक वर्ष गर्दै आएको अभिभावक दिवस आज समयमा सुरु गरेर समयमा सम्पन्न भयो। र, सबै अभिभावकहरुले जसरी प्रशंसा गर्नु भयो। हाम्रा भाइबहिनीहरुले जसरी प्रस्तुति गरे। त्यो हिसाबले हामीले नयाँ पुस्तालाई केही नयाँ कुराहरु नेपाली भाषा, संस्कृति, परम्परा, नेपालको भूगोल, इतिहासको बारेमा केही जानकारी दिन आज सफल भयौं भन्ने आजको अभिभावक दिवसले देखायो।त्यसका लागि सम्पूर्ण अभिभावक ज्यूहरु, मेरा सहकर्मी मित्रहरु, पत्रकार ज्यूहरु, फोटोग्राफर ज्यूहरु र यहाँ उपस्थित भएर हामीलाई सबै हिसाबले सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु।’ समरभिल पब्लिक स्कूल, समरभिर आर्ट्स् काउन्सिल र साउण्ड इन्जिनियरहरुलाई पनि धन्यवाद ज्ञापन गर्दै लामो समयदेखि यस अभियानमा जुट्दै आएका फुयालले सबैको साझा साथ, सहयोग र प्रयासले नै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जिकीर गरे। कार्यक्रमको सफलताले भावी दिनहरुमा पनि अझ सफल र भव्य रुपमा कार्यक्रम सम्पन्न गर्न उत्प्रेरणा र उर्जा मिलेको बताउदै उनले त्यसका लागि आवश्यक थप साथ र सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन्।

कार्यक्रम मनोरन्जनात्मक, उत्प्रेरक, ज्ञान वर्धक र नेपाल र नेपालीप्रति समर्पित रहेको भनी अभिभावकहरुले प्रतिक्रिया दिएका छन्। विविध कारणले तन टाढा भएपनि मनमा भने नेपाल र नेपालीप्रतिको माया गाढा रहेको प्रतिक्रिया दिदै अभिभावक दीन बन्धु भट्टले भने, ‘विविध कारणले हाम्रो तन नेपालदेखि टाढा पक्कै छ। तर, मनमा भने नेपाल र नेपालीप्रतिको माया निकै गाढा छ। जो यस कार्यक्रमले पनि पुष्टि गरिदिएको छ।’


उनले भने, ‘नेपालदेखि निकै टाढा भिन्न परिवेश र परिस्थितिमा रहेर पनि नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज,चालचलन आदिलाई भुल्न सकिन्न। र, भुल्नु पनि हुदैन।’ सहभागी अभिभावक भट्टले कार्यक्रम अत्यन्तै सफल र उदाहरणीय रहेको प्रतिक्रिया दिदै भने, ‘कार्यक्रम अत्यन्तै सफल रह्यो। नेपाली भाषा सिकाउने भनिएतापनि, नेपाली क्लास बोस्टनले नेपाली पहिचान र नेपालीपनको मुख्य आधार स्तम्भहरु भाषा, धर्म, भेषभूषा, संस्कृति, संस्कार, रितिरिवाज आदिका बारेमा र जीवन उपयोगी अमूल्य ज्ञान तथा सीपहरु सिकाइरहेको छ। जो अत्यन्त उदाहरणीय र कदरयोग्य कार्य हो। यसबाट अन्य संघ संस्थाहरुले पनि सिक्नु पर्दछ।’ यो काम त्यति सजिलो नभएतापनि बालबालिकाहरु, अभिभावकहरु तथा सहयोगीहरुको साथ सहयोग र नेपाली क्लास बोस्टन परिवारको अथक प्रयासका कारण सम्भव भइरहेको प्रतिक्रिया दिदै भट्टले नेपाली क्लास बोस्टन परिवारलाई विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा सहभागी अभिभावक मिलु शर्माले पनि कार्यक्रम साह्रै राम्रो र मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएकी छिन्। उनले बालबालिकाहरुलाई निकै समय दिएर र मेहन गरेर
नाटक, नृत्यहरु सिकाउने शिक्षकहरु र समस्त स्कूल परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिन्। शर्माको भनाइमा सहमति जनाउदै कार्यक्रममा सहभागी रहेकी अभिभावक दिप्ती भट्टराईले पनि बालबालिकाहरुले गरेको प्रस्तुतिहरुप्रति प्रसन्नता व्यक्त गरिन्।बालबालिकाहरुले प्रस्तुत गरेको गीत, नृत्य तथा नाटकहरु र नेपालको बारेमा गरेको प्रस्तुतिहरु प्रशंसनीय रहेको उनको प्रतिक्रिया थियो। नेपालदेखि निकै टाढा भएतापनि बालबालिकाहरुले आफ्नो भाषा, भेषभुषा, नाँच, कला, संस्कृति, उद्गम स्थान आदिको बारेमा अमूल्य ज्ञान तथा सीपहरु नेपाली क्लासका कारण सिक्न पाइरहेकोमा आभारी हुदै भट्टराईले भनिन्, ‘धेरै धेरै आभारी छौं। हाम्रो शिक्षकहरुलाई धेरै धेरै धन्यवाद ! एकदम मन प्रफुल्ल भएको छ। अर्को वर्षमा पनि यही आशा राख्छौं।’

तीन घण्टा बढी निरन्तर सञ्चालन भएको विविध साँस्कृतिक कार्यक्रममा , ४ सय बढीको सहभागिता रहेको थियो। बोस्टन तमु समाज, समरभिल आर्ट्स् काउन्सिल, समरभिल पब्लिक स्कूल र स्थानीय स्वयमसेवी/सहयोगीहरुको सहयोगमा नेपाली क्लास बोस्टनले नेपाली मूलका बालबालिकाहरुलाई सन् २०१४ देखि नै नेपाली भाषा बोल्न, पढ्न र लेख्न सिकाउदै आइरहेको छ। यसैक्रममा बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापहरुको माध्यमबाट पनि नेपालको भूगोल, इतिहास, नेपाली भेषभूषा, चाड पर्व, संस्कृति, रितिरिवाज, परम्परा आदिका बारेमा पनि सक्दो सैध्दान्तिक तथा व्यवहारिक ज्ञान दिने प्रयास गर्दै आइरहेको छ। वर्षमा झण्डै ९ महिना हप्ताको हरेक आइतवार ३ घण्टा निशुल्क अध्यापन गर्ने गरिएको नेपाली क्लासमा, हाल नेपालको पहिचान दिलाउने सगरमाथा, बाग्मती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनी र महकाली नामाकरण गरिएको ७ वटा कक्षाहरु सञ्चालन भइरहेका छन्। यस शैक्षिक सत्र (२०२२-२०२३)मा २२५ बालबालिकाहरुले सहभागिता जनाएका थिए। नेपाली क्लासले बालबालिकाहरुको वृत्ति विकास गर्न, नेपाली सामुदायमा आत्मीय एकता कायम गर्न र नेपालीपन, नेपाली पहिचान र नेपालीत्वलाई जोगाइ राख्न खेलिरहेको अहम भूमिकाका कारण नेपाली समुदायको आकर्षण बढ्दै गइरहेको छ।