मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

प्याब्फोनको काँधमा थप जिम्मेवारीको भार थमाउदै बोस्टनमा आयोजित धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न

प्याब्फोनको काँधमा थप जिम्मेवारीको भार थमाउदै बोस्टनमा आयोजित धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न


बोस्टन अमेरिका । बोस्टन अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित प्रवासी नेपालीहरुको सामुदायिक भवनमा मे २७ देखि ३० तारिखसम्म निकै ठूलो र ऐतिहासिक चहलपहल रह्यो। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित आफ्नै सामुदायिक भवनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’का कारण चहलपहल भएको थियो। आयोजकहरु कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटेका थिए। हिन्दूधर्म तथा बुद्ध धर्म गुरुहरु विधिपूर्वक धार्मिक कर्म सम्पन्न गर्न लागिपरेका थिए। नेपाली समुदायका सदस्यहरु धार्मिक तथा सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउनमा व्यस्त थिए। व्यवस्थापकीय कार्य सक्दो चुस्त दुरुस्त राख्नका लागि बिशेष ध्यान दिइएका कारण कार्यक्रम स्थल निकै आकर्षक देखिन्थ्यो।

त्यसमा पनि पशुपतिनाथ मन्दिरतर्फ हिन्दूधर्मावलम्बीहरुको आराध्य देव पशुपतिनाथसहित अन्य देवताहरुको मूर्तिहरु र बुद्ध मन्दिरतर्फ बुद्ध धर्मावलम्बीहरुको भगवान गौतम बुद्धसहित अन्य मूर्तिहरु स्थापना भएको कार्यक्रम स्थलले स्वर्गको झल्को दिएको थियो। हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म भएका विविध धार्मिक क्रियाकलापहरु र भक्तजनहरुको सक्रिय उपस्थितिले कार्यक्रम स्थल धार्मिक तिर्थ स्थलमा परिणत भएको थियो। तन, मन र धनको बेजोड सङ्गम रहेको कार्यक्रममा नेपालीपन, नेपालीत्व अनि नेपाल र नेपालीप्रतिको मायामोह स्पस्ट देख्न र अनुभूति गर्न पाइन्थ्यो। श्रध्दालु भक्तजनहरुले पूजा, पाठ, आराधन, ध्यान, जप, आरती, भजन कीर्तन आदि धार्मिक क्रियाकलापहरु विना सङ्कोच धकफुकाएर गरेका थिए। जसले गर्दा कार्यक्रम स्थलले नेपाल स्थित तिर्थ स्थलको झल्को दिएको थियो। देखिएका दृश्य तथा गतिविधिहरु, सुनिएका धार्मिक ज्ञान, प्रवचन तथा भजन कीर्तनहरु, भेषभूषा, बोलीचाली र एक आपसमा गरिएका भाइचाराको आत्मीय व्यवहारहरुले गर्दा सहभागीहरुले स्वर्गीय आनन्दानुभूति गरिरहेको दर्शाएका थिए।

पशुपतिनाथ मन्दिर तर्फको पूजा पाठको मुख्य जिम्मेवारी सम्हालेका पूजा संयोजक हरिप्रसाद काफ्ले(शैव) र बुद्ध मन्दिर तर्फका संयोजक  समन्त बज्राचार्य अनुसार धार्मिक क्रियाकलापहरु कार्यतालिका अनुसार विधिपूर्वक प्रभावकारी रुपमा सम्पन्न गरिएको थियो। धर्म गुरुहरुले निभाएको भूमिका र श्रध्दालु भक्तजनहरुको सक्रिय सहभागिता पूजनीय थियो। उनहरुले दिएको संक्षिप्त जानकारी अनुसार मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो। कार्यक्रम तालिका अुसार मे २७ तारिख शनिवार पहिलो दिन सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा पूजा गरिएको थियो।

सोही दिन सामूहिक ईही पूजा, गुरु पूजा, टिका ग्रहण, दान दक्षिणा प्रदान, सगुन तथा भजन कीर्तन आदि कार्य सम्पन्न गरिएको थियो। दोश्रो दिन अर्थात मे २८ तारिख आइतवार बुद्धतर्फ नित्य पूजा, दीप प्रदान, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान गर्ने कार्य सम्पन्न गरिएको थियो भने, लामा गुरुहरुले विश्व शान्तिको कामना गर्दै बौध्द धर्म अनुसार धम्म ज्ञानको प्रवचनसमेत दिएका थिए। र, सहभागीहरुले गुरुहरुले दिएको ज्ञानको प्रवचन श्रवण गर्दै ध्यानमग्न भएर आनन्द लिएका थिए। यसैगरी, पशुपतिनाथ तर्फ सम्पूर्ण देवी देवताहरु, योगिनी, यज्ञवास्तु, ग्रह, लिंगतोभद्र, सर्वतोभद्रादि तथा मंडप पूजा गरिनुका साथै पुराणहरुको पारायण सम्पन्न गरिएको थियो। साँझ पख आरती पश्चात् भजन मण्डलीले मन्त्रमुग्ध बनाउने गरी भजन कीर्तन गरेका थिए।

तेश्रो दिन अर्थात मे २९ तारिख सोमवार पशुपतिनाथ र बुद्ध मन्दिरमा नियमित पूजा पाठ गर्नुका साथै धार्मिक विधि अनुसार भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा विशेष पूजा गरिएको थियो। र,सोही दिन घृताधिवासमा रहेका भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको थियो। यस दिन मुख्य गरी लघुरुद्री(१२१ पाठ) लगाउने र होम गर्ने धार्मिक कार्य सम्पन्न गरिएको थियो।

अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवार पशुपतिनाथलगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न भएको थियो। भजन कीर्तनसहितको साँगीतिक माहोलमा भक्तजनहरुले आफूलाई समाहित गर्दै भगवानहरुको दर्शन, पूजा, पाठ, अर्चना, प्रार्थना आदि गरेका थिए। कार्यक्रम तालिका अनुसार धार्मिक क्रियाकलापहरु सम्पन्न गरिसकेपछि सबैले भगवानको नाम लिदै एकै चोटी गडगडाहट ताली बजाएर सामूहिक रुपमा सामुदायिक भवनको उद्घाटन गरेका थिए। अन्तमा लामो समयदेखिको अथक प्रयास र सबैको अहोरात्र खटाइका कारण महत्वकांक्षी सपना पुरा भएकोका हर्षोल्लासका साथ एक आपसमा बधाई तथा शुभकामना साटासाट गरेर बृहत धार्मिक तथा सामाजिक कार्यक्रम समापन गरिएको थियो ।

सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था सफलताको यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान,नेपालीपन र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुका लागि पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले अन्ततोगत्वा समुदायकै अथक साथ, सहयोग र सक्रियतामा सार्थकता पाएको छ। कार्यक्रम अपेक्षा गरे भन्दा पनि बढी प्रभावकारी, उत्साहजन, उत्प्रेरक, आनन्ददायी र फलदायी भएको आयोजकले जनाएको छ।

बृहत् कार्यक्रमका संयोजक प्रल्हाद केसीले कार्यक्रम सफलतापूर्वक संम्पन्न भएसंगै संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गर्दै उनले भने, ‘आज हामी निकै खुशी भएका छौं। जसले हामीलाई उत्साहित र उत्प्रेरित समेत गरेको छ।र, सबै भन्दा महत्वपूर्ण कुरा संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको छ।’

कार्यक्रम सम्पन्न भएसंगै संस्थाका लागि प्रचुर सम्भावनाहरु र चुनौतीहरु संगसंगै आइपरेको उनको तर्क छ। मुख्य गरी सबैलाई समेटेर प्राप्त उपलब्धिहरु जोगाउनु, अवसरहरुलाई सदुपयोग गर्नु र संस्थागत विकास गर्नु नै कार्यक्रम समापनले दिएको मुख्य जिम्मेवारी भएको संयोजकको बुझाइ छ। त्यसका लागि थप एकता, सक्रियता, इमानदारिता र लगनशिलताको खाँचो रहेको उनले औल्याएका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अहम भूमिका रहेको स्मरण गर्दै उनले भने, ‘कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अमूल्य योगदान रह्यो। प्रतक्ष्य परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद छ।’

कार्यक्रम संयोजक केसीको भनाइमा एकबद्धता जनाउदै संस्थाको बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेलले भने,’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसको श्रेय यस अभियानको प्रारम्भिक अवस्थादेखि हालसम्म योगदान पुर्याउने सबैलाई जान्छ। सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ संस्थाले प्राप्त गरेको उपलब्धिहरुप्रति सबैले गर्व गर्नु पर्ने र अपनत्व ग्रहण गर्नु पर्ने बताउदै बोर्ड अफ ट्रष्टिका अध्यक्ष पौडेलले भने, ‘लामो समयदेखिको सबैको निरन्तर प्रयासले हाम्रो सपना साकार भयो। यसमा सबैले गर्व गरौं।र, अपनत्व ग्रहण गरौं भन्ने अनुरोध गर्दछु।’ सामुदायिक एकता र सक्रियताकै कारण कार्यक्रम सोचे भन्दा बढी प्रभावकारी रुपमा सम्पन्न भएको बताउदै उनले यथासक्य तन, मन, धन र बचन दिएर साथ सहयोग गर्नु हुने सबैप्रति धन्यवाद प्रकट गरे।

कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको संस्थाको बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष मिलन गुरुङको बुझाइ छ। लामो समयदेखि देखिएको महत्वाकांक्षी सपनाले मूर्त रुप लिएकोमा उपाध्यक्ष गुरुङले निकै खुशी व्यक्त गर्दै भने, ‘कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। यो हामी सबैको एकता र सक्रियताको परिणाम हो। हामीले आँट्यौ।हामी निरन्तर लागिपर्यौं। र, सफल भयौं । हामी सबैलाई बधाई छ।’ कार्यक्रमको सफलताले संस्थालाई थप जिम्मेवारी थपिदिएकाले आगामी दिनहरुमा थप एकताबद्ध, सक्रिय र होसियारी पूर्वक अघि बढ्नु पर्ने उनको ठम्याइ छ।

संस्थाका बोर्ड अफ ट्रष्टिका अर्का उपाध्यक्ष बिरोचन नेपालले पनि संस्थाले देखेको महत्वाकांक्षी सपना, लामो समयदेखिको एकिकृत अथक प्रयासका कारण पुरा भएको र त्यसले उत्साहित गराउनुका साथै थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए। कार्यक्रमको कस्तो रह्यो भन्ने कुरा समाजले मुल्याङ्कन गर्ने कुरा भएको बताउदै उनले आयोजकको तर्फबाट सकेको राम्रो गरेको बताए।उनले भने, ‘अब समग्रमा मुल्याङ्कन त समाजले गर्ने हो। हामी आयोजकको टिमबाट हामीले सकेको राम्रो गर्यौ भन्ने हामीलाई लाग्छ।’ सकेसम्म सबै विधिहरु पूरा गरेर भगवानहरुलाई प्राण दिने कार्य भएको बताउदै कार्यक्रम सफल भएको जिकीर गरे।

उनले भने, ‘हामी हाम्रो सपना पुरा गर्न सफल भयौं। हामी निकै खुशी छौं। यसले उत्साहित बनाउनुका साथै गहन जिम्मेवारी पनि थपिएको बोध भइरहेको छ। अब सफलताको दिर्घायूका लागि थप एकताबद्ध र जिम्मेवार भएर लाग्नु पर्दछ।’

मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न गरिएसंगै अब श्रध्दालु भक्तजनहरुका लागि मन्दिर पूजा, पाठ, दर्शन आदि गर्न नियमित रुपमा खोलिने भएको छ। त्यसैगरी, कार्यक्रमहरु गर्न चाहनेहरुका लागि पनि कार्यक्रम हल सशुल्क लिएर उपलब्ध गराइने भएको छ। त्यसका लागि मन्दिर तथा समग्र भवन नियमित खोल्ने, पूजा, पाठ, आरति आदि धार्मिक नित्य कर्म गर्ने, सरसफाई गर्ने, सुरक्षा गर्ने, आवश्यक सरसामानको व्यवस्था गर्ने, पार्किङको उचित प्रबन्ध गर्ने, छिमेकीहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्ने, प्रभावकारी सञ्चार गर्ने, समन्वय गर्ने आदि नियमित कार्य गर्ने, साथै भैपरी आउने अन्य कार्यहरु पनि गर्ने जिम्मेवारी थपिएको छ।

मुख्य कुरा संस्थालाई सञ्चालन खर्च तथा भैपरी आउने खर्चको जोहो गर्ने र बैंकबाट लिइएको कर्जाको नियमित सावाँ/व्याजसहित किस्ता रकमको व्यवस्था गर्ने आर्थिक जिम्मेवारी बढेको छ। समग्रममा भन्नु पर्दा संस्थाको धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक आदि जिम्मेवारी जिम्मेवारी थपिएको छ। यि जिम्मेवारीहरुलाई पुरा गर्न संस्थाले मुख्यतः धार्मिक आस्था, सामुदायिक एकता, सक्रियता, धार्मिक सहिष्णुता कायम गर्न आवश्यक गतिविधिहरु बढाउनु पर्ने जरुरी छ। भने आर्थिक जोहोका लागि दिर्घकालिन नियमित श्रोतको खोजी गरिनु अपरिहार्य छ।