मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा, नेपाली समुदायको उत्साहजनक सक्रिय सहभागिता

बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा, नेपाली समुदायको उत्साहजनक सक्रिय सहभागिता


यतिबेला अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा बसोवास गर्ने मूलवासी नेपालीहरु धार्मिक तथा सामाजिक कार्यमा निकै जुटिरहेका छन्। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्ने हेतुले जुटिरहेका हुन्। मे २७ तारिखदेखि सुभारम्भ भएको मुख्य कार्यक्रमहरु अन्तर्गत रहेका विविध कार्यहरु सम्पन्न गर्नमा आयोजकलाई भ्याइनभ्याइ भइरहेको छ भने, श्रध्दालु भक्तजनहरुलाई पनि मन्दिरमा पुगेर भगवानको दर्शन, पूजा,पाठ, ध्यान, जप आदि गर्न चटारो परिरहेको छ।

लामो समयदेखिको अथक प्रयासका कारण महत्वाकांक्षी सपना साकार हुने चरणमा पुगेकाले आयोजकहरु निकै उत्साहित र उत्प्रेरित हुदै व्यवस्थापकीय कार्यमा अहोरात्र जुटिरहेका छन् भने, समुदायका सदस्यहरु पनि यथासक्य सहयोगी भूमिका निर्वाह गर्दै होस्टेमा हैसे गरिरहेका छन्। कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सक्रिय सहभागिता भइरहेको छ। बच्चादेखि बृद्धसम्मले कार्यक्रममा उत्साहजनक सहभागिता जनाइ रहेका छन्। कार्यक्रम आयोजक संस्थाले धार्मिक तथा सामाजिक महाअभियानमा जोडिनका लागि आव्हान गरेसंगै, समुदायका सदस्यहरुले पनि कदममा कदम मिलाउदै सक्रिय सहभागिता जनाइरहेको हुन्।

यस सम्बन्धमा जानकारी दिदै संस्थाका बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष बिरोचन नेपालले भने, ‘कार्यक्रममा समुदायको निकै सक्रिय उत्साहजनक सहभागिता भइरहेको छ। सबैले भगवानप्रतिको आस्थालाई जोडदार प्रकट गर्दै संस्थाप्रतिको मोह दर्साइरहेका छन्।’ उनले भने, ‘ मन्दिरमा आएर यथार्थ बुझेपछि समुदायका सदस्यहरुले, संस्थाले गरेका कामहरु र हासिल गरेका उपलब्धिहरुप्रति गर्व गर्दै मुक्तकण्ठले प्रशंसा पनि गरिरहेका छन्।

समुदायको उल्लेखनीय सक्रिय सहभागिता रहेकोमा हामी निकै खुशी छौं। संगसंगै उत्साहित र उत्पेरित पनि भइनै रहेका छौं।र, थप ऐतिहासिक जिम्मेवारी बोध पनि गरिरहेका छौं। ‘ उपाध्यक्ष नेपालले थप्दै भने, ‘समुदायका सदस्यहरुले दिएको दान, पुर्याएको सहयोग र देखाएको एकता, जागरुकता र सक्रिय सहभागिता निकै अमूल्य छ। जो संस्था र नेपाली समुदायको उज्वल भविश्य निर्माणका मेरुदण्डहरु हुन्। त्यसका लागि संस्थाको तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु।’

मूलवासी नेपालीहरुले आफ्नो र भावी सन्ततिहरुको उज्वल भविश्य बनाउनका लागि नेपालीपन र नेपालीत्वमा गर्व गर्नु पर्ने र त्यसलाई अक्षुण्ण राख्नका लागि एकताबद्ध भएर लाग्नु पर्ने उपाध्यक्ष नेपालले जोड दिए। सबैको लामो अथक प्रयास पछि गर्व गर्न लाएक अवस्थामा आइपुगिएको जिकीर गर्दै उनले भने, ‘ अहलेको उपलब्धी हामी सबैको अथक प्रयासको परिणाम हो। अब यो उपलब्धिलाई जोगाउने, अपनत्व ग्रहण गर्ने र भावी सन्ततिलाई हस्तान्तरण गर्ने हाम्रो ठूलो जिम्मेवारी बढेको छ। त्यसका लागि हामी थप सक्रिय र एकताबद्ध भएर अघि बढ्नु पर्ने अवस्था छ।’ ट्रष्टिका उपाध्यक्ष नेपालले सामुदायले देखाएको चासो र गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बाँकी दिनहरुमा पनि सोही अनुरुपको साथ, सहयोग र सक्रिय सहभागिताका
लागि सबैलाई अनुरोध गरेका छन्।

गत मे २१ तारिख आइतबारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु हुदै आइरहेको छ। यसैक्रममा कार्यक्रमको कार्यतालिका अुसार मे २७ तारिख शनिवार पहिलो दिन सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा पूजा गरिएको थियो। सोही दिन सामूहिक ईही पूजा, गुरु पूजा, टिका ग्रहण, दान दक्षिणा प्रदान, सगुन तथा भजन कीर्तन आदि कार्य सम्पन्न गरिएको थियो। पहिलो दिन कार्यक्रम स्थलमा निकै ठूलो संख्यामा श्रध्दालु भक्तजनहरुको घुइचो लागेको थियो।

आयोजकले जनाए अनुसार अपेक्षा गरिएभन्दा निकै ठूलो संख्यामा भक्तजनहरुले सक्रिय सहभागिता जनाएका थिए। जसले गर्दा आयोजकलाई स्वागत गर्ने, यातायात व्यवस्था गर्ने, पार्किङको व्यवस्था गर्ने, प्रसाद बनाउने र वितरण गर्ने लगायतको व्यवस्थापकीय कामलाई चुस्त दुरुस्त पार्न हम्मेहम्मे परेको थियो। पहिलो दिनको अवस्थालाई मध्यनजर गर्दै दोस्रो दिन आइतवारका लागि व्यवस्थापकीय कामलाई चुस्त दुरुस्त राखिएको थियो।

कार्यक्रम तालिका अनुसार दोस्रो दिन मे २८ तारिख आइतवारका दिन बुद्ध तर्फ नित्य पूजा, दीप प्रदान, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान गर्ने कार्य सम्पन्न गरिएको थियो। यसैक्रममा बुद्धतर्फ लामा गुरुहरुले विश्व शान्तिको कामना गर्दै बौध्द धर्म अनुसार धम्म ज्ञानको प्रवचनसमेत दिएका थिए। र, सहभागीहरुले गुरुहरुले दिएको ज्ञानको प्रवचन श्रवण गर्दै ध्यानमग्न भएर आनन्द लिएका थिए। यसैगरी, पशुपतिनाथ तर्फ सम्पूर्ण देवी देवताहरु, योगिनी, यज्ञवास्तु, ग्रह, लिंगतोभद्र, सर्वतोभद्रादि तथा मंडप पूजा गरिनुका साथै पुराणहरुको पारायण सम्पन्न गरिएको थियो। भने साँझ पख आरती पश्चात् भजन मण्डलीले मन्त्रमुग्ध बनाउने गरी भजन कीर्तन गरेका थिए।

मुख्य कार्यक्रको तेश्रो दिन अर्थात मे २९ तारिख सोमवार लघुरुद्री(१२१ पाठ) लगाउने र होम गर्ने मुख्य कार्यतालिका रहेको छ।

अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने गरि कार्यतालिका बनाइएको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनुका साथै साँझ भजन कीर्तन गरिने छ।र, बृहत महत्वाकांक्षी सपना पूरा गर्न आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा गर्व गर्दै उत्सव मनाउदै खुशीयाली साटासाट गर्ने योजना बनाएको छ।