मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बोस्टनमा २५६७ औं बुद्ध जयन्ती मनाइयो

बोस्टनमा २५६७ औं बुद्ध जयन्ती मनाइयो


अप्प दीपो भवः
अर्थात आफ्नो प्रकाश आफै बन।
यो बौद्ध दर्शनको सुत्र वाक्य महात्मा बुद्धको अन्तिम महान दिव्य वचन हो। उनले यो दिव्य वचन आफ्नो जीवनको अन्तिम क्षणमा आफ्नो प्रिय शिष्य आनन्दलाई बताएका थिए। बुद्धका यि र यस्ता कयौ दिव्य वचनहरुहरुलाई मानव जातिलाई शान्ति र आनन्द दिलाउने सुत्र वचन मानिन्छ। शान्तिका अग्रदूत मानिएका तिनै गौतम बुद्धका अनुयायीहरु आज संगठित भएर उनका दिव्य वचनहरुलाई धार्मिक गतिविधिहरु मार्फत विश्वव्यापी बनाउन लागिपरिरहेका छन्। नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण विशेष गरी बैशाख शुक्ल पूर्णिमाका दिन वा त्यस दिन अघि पछि गर्ने गरिन्छ। हरेक वर्ष बैशाष शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ। यस अवसरमा विविध कार्यक्रमहरु गरेर बुद्ध जयन्ती मनाउने गरिन्छ।

यस क्रममा बुद्धको पूजा, ध्यान, बुद्धधर्म र बुद्धको ज्ञान तथा योगदानका बारेमा विषेश चर्चा परिचर्चा गरिने गरिन्छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यस अवसरमा विश्वभर विविध कार्यक्रमहरु गरेर बुद्ध जयन्ती मनाइयो। यसै अवसरमा अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा पनि विषेश कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ। गत मे १३ तारिख शनिवारका दिन पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ नयू इंग्लैण्ड(प्याब्फोन-PABFONE) र ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)को संयुक्त आयोजनामा ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको हो।

कार्यक्रम तालिका अनुसार गुरु समन्त श्रीरत्न बज्राचार्यले बुद्धधर्मको विधि अनुसार बुद्ध पूजा गर्नुका साथै मन्त्र ध्यान गरेका थिए। धार्मिक विधि र प्रक्रिया अनुसार पूजा,ध्यान, पाठ, जप आदि गरिसकेपछि लामा धिर गुरुङले बुद्धका दिव्य ज्ञान तथा वचनहरु, उपदेशहरु र बुद्धका योगदानहरुमा केन्द्रित रहेर बुद्धधर्मका बारेमा प्रवचन दिएका थिए।

यसैगरी, बुद्ध धर्मका जानकार तथा भिक्षु कोन्चोक लामा शोनामले पनि शाक्य मुनी गौतम बुद्ध तथा बौध्दधर्मका बारेमा चर्चा परिचर्चा गरेका थिए। यसै अवसरमा, प्याब्फोन(PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम मूल आयोजक समिति’का संयोजक प्रल्हाद केसीले यही आउदो मे २७ देखि ३० तारिखसम्म हुने ४ दिने बृहत धार्मिक तथा सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाली समुदायलाई चुले निम्तो दिदै कार्यक्रम उत्सवका रुपमा मनाउन अनुरोध गरेका थिए। कार्यक्रममा प्याब्फोन(PABFONE)का बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेल, जिबिएनसि(GBNC)की अध्यक्ष अञ्जु थापालगायतले कार्यक्रमको औचित्य, महत्व, सान्दर्भिकता र सामुदायिक सहभागिताका बारेमा प्रष्टिकरण दिदै आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरुले भगवान बुद्धको ध्यान, जप, पूजा, पाठ तथा आराधना गरेका थिए। उनीहरुले गुरु तथा वक्ताहरुले बुद्ध र बौध्दधर्मका बारेमा व्यक्त गरेका अमूल्य वचनहरु श्रवण गर्नुका साथै विश्व शान्तिको कामना गर्दै एक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए। प्याब्फोन(PABFONE)को कार्यसमितिकी उपाध्यक्ष एलिना श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेको कार्यक्रममा जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाको नेतृत्वको टोलीले, प्याब्फोन(PABFONE) भवन परिसरभित्रै प्रसाद(खिर,सेलरोटी,पुरी,चिया आदि) पकाएर भक्तजनहरुलाई खुवाएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिदै संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मिलन गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। संस्थाको आफ्नै भवनमा पहिलो पटक मनाइएको बुद्ध जयन्ती अन्तर्गत गरिएका धार्मिक तथा प्रवचन कार्यक्रमले सहभागीहरुलाई जीवन उपयोगी अमूल्य सकारात्मक सन्देश दिन सफल भएको उनले जिकीर गरे।

नेपाली पहिचान र नेपालीत्वका लागि विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको प्याब्फोन(PABFONE)ले, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जस अनुसार उक्त समुदायिक भवनमा अहिले भगवान शिवको मूर्तिसहित पशुपतिनाथ मन्दिर र भगवान बुद्धको मूर्तिसहित स्तूपा निर्माण गरिएको छ।

संस्थाले भवनमा स्थापित भगवान शिव तथा बुद्धलगायत अन्य देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने तथा सामुदायिक भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। यही मे २७ देखि ३० तारिखसम्म विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु हुने यस कार्यक्रमलाई उत्सवका रुपमा मनाउदै सफलतापूर्वक सम्पन्न गर्न यतिबेला आयोजक अहोरात्र खटिरहेको छ। र, तयारीलाई प्राथमिकताका साथ तिब्रता दिइरहेको छ।आयोजकले नेपाली समुदायलाई कार्यक्रममा सक्रिय रुपमा भाग लिन यस अघि नै चुले निम्तो दिइसकेको छ।