मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

ग्रेटर बोस्टनबासी नेपाली समुदायलाई प्याब्फोन(PABFONE )को चुले निम्तो

ग्रेटर बोस्टनबासी नेपाली समुदायलाई प्याब्फोन(PABFONE )को चुले निम्तो


अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन स्थित ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ नयू इंग्लैण्ड(प्याब्फोन-PABFONE)’ले ग्रेटर बोस्टनबासी नेपाली समुदायलाई चुले निम्तो दिएको छ।

प्याब्फोन(PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ मा सक्रिय सहभागिता जनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई चुले निम्तो दिएको हो।

संस्थाको बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेलले कार्यक्रमको तयारीका सम्बन्धमा जानकारी दिदै समुदायको बृहत् अभियानमा जोडिएर सक्रिय सहभागिता जनाउन, संस्थाको तर्फबाट सम्पूर्ण नेपाली समुदायलाई चुले निम्तो दिएका छन्। बोर्ड अफ ट्रस्टीका अध्यक्ष पौडेलले चुले निम्तो दिदै भने, ‘यो सम्पूर्ण नेपाली समुदायको पहिचानको सामुहिक सामुदायिक बृहत अभियान हो। यो पुण्य कमाउने अत्यन्त सुवर्ण अवसर पनि भएकाले कार्यक्रममा सपरिवार सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपाली समुदायलाई संस्थाको तर्फबाट चुले निम्तो दिन चाहन्छु।’

उनले थपे, ‘धार्मिक दृष्टिकोणले अत्यन्त शुभ साइत रहेको समय पारेर आयोजना गरिएको चार दिने कार्यक्रममा आफू सहभागी भइ आफ्नो परिवार, छरछिमेकी, साथीभाइ, आफन्त, इष्टमित्र लगायतलाई पनि सहभागी गराउन सबैलाई अनुरोध गर्दछु।’

संस्थाको बृहत् अभियान अन्तर्गत मुख्य गरी धार्मिक क्रियाकलापहरुमा केन्द्रीकृत हुने गरी तय गरिएको यस चार दिने कार्यक्रम, धार्मिक ज्ञान तथा पुण्य प्राप्त गर्ने सुवर्ण अवसर भएको जिकीर गर्दै अध्यक्ष पौडेलले यस कार्यक्रमले नेपाली समुदायलाई थप एकताबद्ध गराउने र भाइचाराको सम्बन्धलाई पनि मजबुत बनाउनेमा विश्वास व्यक्त गरे।

पौडेलको भनाइलाई थप पुष्टि गर्दै संस्थाको कार्यसमितिका अध्यक्ष विष्णु कार्कीले, कार्यक्रम धार्मिक, सामाजिक, साँस्कृतिक तथा नेपाली पहिचानका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहेको दाबी गरे। कार्यक्रमको महत्वलाई थप प्रस्ट्याउदै उनले भने, ‘यो कार्यक्रम धार्मिक, सामाजिक, साँस्कृतिक तथा नेपालीपनका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ। त्यसैले कार्यक्रममा सबै नेपाली समुदायका सदस्यहरुको सक्रिय उपस्थिति अपरिहार्य छ।’ लामो समयदेखिको अथक प्रयास पछि महत्वकांक्षी सपना साकार हुनगइरहेकोप्रति खुशी व्यक्त गर्दै अध्यक्ष कार्कीले भने, ‘यो हाम्रो महत्वाकांक्षी सपना थियो।

सबैको साथ, सहयोग र अथक प्रयासका कारण साकार हुन गइरहेको छ। जो नेपाली समुदायले हृदय खोलेर गर्व गर्न लायक छ। यस ऐतिहासिक खुशीको क्षणमा प्रतक्ष्य परोक्ष रुपमा यस अभियानमा जोडिएर साथ सहयोग गर्नु हुने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छौं।’

सबै नेपाली समुदायलाई यस बृहत् अभियानमा जोडिएर हर्षोल्लासका साथ कार्यक्रम सफल बनाउन समुदायका सदस्यहरुलाई अनुरोध गर्दै अध्यक्ष कार्कीले भने,’आऔँ। अभियानमा जोडिऔँ।जुटौं। कोही नछुटौं। कार्यक्रमलाई हर्षोल्लासका साथ उत्सवका रुपमा मनाउदै सफल बनाऔँ।’ हाल यस बृहत् अभियानले मूर्त रुप लिदै गरेको अवस्थामा उत्साहित भएर खुशियाली साटासाट गर्दै अभियानलाई दिगो रुपमा स्थापित गराउन थप एकताबद्ध हुनु पर्ने खाँचो औल्याउदै उनले अभियानमा जोडिन सबैलाई आव्हान गरे।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि संस्थाले यस अघि नै नेपाली समुदायका अग्रज प्रल्हाद केसीको संयोजकत्वमा ‘कार्यक्रम मूल समारोह समिति’ गठन गरेको थियो।
तयारीलाई थप प्रभावकारी बनाउन बिभिन्न समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरिसकेको छ। सोही मुताबिक समितिहरुले पनि काम गरिरहेको जनाइएको छ।कार्यक्रम यही आउदो मे महिनाको २७ देखि ३० तारिखसम्म ग्रेटर बोस्टन स्थित ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा हुन गइरहेको छ।त्यसका लागि आवश्यक तयारीहरु द्रुत गतिमा भइरहेको आयोजकले जनाएको छ।

चार दिनसम्म सञ्चालन हुने मूल कार्यक्रमको कार्यतालिका अनुसार, पहिलो दिन अर्थात मे २७ तारिख शनिवार सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा प्राण प्रतिष्ठा पूजा गरिने छ। सोही दिन सामूहिक ईही पूजा गर्ने गरी तयारी गरिएको छ। त्यसका लागि इच्छुकहरुलाई नाम दर्ता गर्न/गराउन आव्हान समेत गरिसकिएको छ।

त्यसैगरी यस दिन, गुरु पूजा, टिका ग्रहण, दान दक्षिणा प्रदान, सगुन तथा भजन कीर्तन आदि धार्मिक क्रियाकलापहरु गरिने छ। दोश्रो दिन अर्थात मे २८ तारिख आइतवार नित्य पूजा, दीप प्रदान, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान गर्ने कार्य सम्पन्न गरिनेछ। सोही दिन सम्पूर्ण देवी देवताहरु, योगिनी, यज्ञवास्तु, ग्रह, लिंगतोभद्र, सर्वतोभद्रादि तथा मंडप पूजा गरिनुका साथै पुराणहरुको पारायण पनि सम्पन्न गर्ने कार्य तालिका बनाइएको छ।

त्यसैगरी, तेश्रो दिन अर्थात मे २९ तारिख सोमबार लघुरुद्री(१२१ पाठ) लगाउने र होम गर्ने मुख्य कार्यक्रम रहेको छ भने, अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गरिने कार्यतालिका रहेको छ। सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनुका साथै साँझ भजन कीर्तन गरिने कार्यतालिका रहेको छ। आयोजकले हरेक दिन भजन कीर्तन कार्यक्रम गर्ने गरी आवश्यक तयारी गरिरहेको जनाएको छ।

सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था सफलताको यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म तथा संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुलाई पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले सार्थकता पाउदै छ।