मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

पशुपतिनाथ र बुद्धमूर्तिको प्राण प्रतिष्ठा एवं सामुदायिक भवन उद्घाटन गरिँदै

पशुपतिनाथ र बुद्धमूर्तिको प्राण प्रतिष्ठा एवं सामुदायिक भवन उद्घाटन गरिँदै


बोस्टन। अमेरिकाको मासाच्युसेट्स राज्यमा बसोबास गर्ने नेपाली समुदायले आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने लक्ष्यसहित चालिएको अभियान, लगभग अन्तिम चरणमा पुगेको छ।

धर्म तथा संस्कृतिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुलाई पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने यस अभियानको मुख्य उद्देश्यहरु रहेका छन्। यस अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नेपाली समुदायको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ नयू इंग्लैण्ड(प्याब्फोन-PABFONE)’ ले संस्थाको अभियानले एक महिनाभित्रै सार्थकता पाउने जनाएको छ।

संस्थाका अनुसार यही आउदो मे महिनाको २७ देखि ३० तारिखसम्म विभिन्न धार्मिक क्रियाकलापहरु गरेर मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्नुका साथै सामुदायिक भवनको समुद्घाटन गर्ने गरी आवश्यक तयारी थालेको छ। त्यसका लागि संस्थाले नेपाली समुदायका अग्रज प्रल्हाद केसीको संयोजकत्वमा ‘कार्यक्रम मूल समारोह समिति’ गठन गरी कामको जिम्मेवारी बाँडफाड गरेर तयारीलाई तिब्रता दिएको छ।

यस सम्बन्धमा संस्थाका बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेलले जानकारी दिदै भने, ‘हामी यतिबेला हाम्रो सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत विभिन्न भगवानका मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने र सामुदायिक भवनको समुद्धघाटन गर्ने तयारीमा जुटिरहेका छौं। तयारीका कामहरु तिब्रताका साथ भैरहेको छ।’ भवन समुद्धाटनको मिति नजिकिदै गर्दा तयारीमा जुट्टनेहरुको कार्य व्यस्तता निकै बढिरहेको र लामो समयको अथक प्रयास पश्चात् महत्वाकांक्षी सपनाले सार्थकता पाउन लागेकोमा सबैमा उत्साह, उमङ्ग र खुशीयाली छाइरहेको उनले जिकीर गरे।

कार्यक्रमका बारेमा थप प्रस्ट्याउदै उनले भने, ‘हाम्रो सामूहिक महत्वाकांक्षी सपना लामो समयको अथक प्रयास पछि सार्थक हुदैछ। त्यसैले सबैमा उत्साह, उमङ्ग र खुशीयाली छाइरहेको छ। त्यसका लागि दिनरात नभनी तयारीमा जुटिरहेका छौं।’ अध्यक्ष पौडेलले अभियानलाई यहाँसम्म ल्याइपुर्याउन विभिन्न काल खण्डमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा तन, मन र धन दिएर साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै समुद्धघाटन कार्यक्रमलाई पनि भव्यताका साथ सफल बनाउनका लागि आवश्यक सहयोगी भूमिका निर्वाह गरिदिन हुन सबैलाई अनुरोध गरेका छन्।

कार्यक्रममा सहभागिताका लागि चुले निम्तो दिदै उनले भने, ‘यस अभियानमा जोडिदै समुद्घघाटन कार्यक्रममा सक्रिय सहभागिता जनाउन हुन सबैलाई संस्थाको तर्फबाट चुले निम्तो दिन चाहन्छु।’ अध्यक्ष पौडेलले धार्मिक शास्त्र अनुसार गर्व गर्न लायक यस अभियानमा जोडिनु भाग्य र पुण्यको काम भएकोले, सबै नेपाली समुदायलाई खुलेर यथासक्य सहयोग गर्दै अभियानमा जोडिन आग्रह गरे।

संस्थाले जनाए अनुसार हुन गइरहेको चार दिने ‘मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत विविध क्रियाकलापहरु गरिने भएको छ। संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए अनुसार, पहिलो दिन मे २७ तारिख शनिवार सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा प्राण प्रतिष्ठा पूजा गरिने छ। सोही दिन सामूहिक ईही पूजा गर्ने गरी तयारी गरिएको छ। त्यसका लागि इच्छुकहरुलाई नाम दर्ता गर्न/गराउन आव्हान समेत गरिसकिएको छ।

त्यसैगरी यस दिन, गुरु पूजा, टिका ग्रहण, दान दक्षिणा प्रदान तथा सगुन आदि धार्मिक क्रियाकलापहरु गर्ने कार्यतालिका बनाइएको छ। दोश्रो दिन अर्थात मे २८ तारिख आइतवार नित्य पूजा, दीप प्रदान, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान गर्ने कार्य सम्पन्न गरिनेछ। सोही दिन सम्पूर्ण देवी देवताहरु, योगिनी, यज्ञवास्तु, ग्रह, लिंगतोभद्र, सर्वतोभद्रादि र मंडप पूजा गरिने छ। उपाध्यक्ष गुरुङले जानकारी दिए अनुसार पुराणहरुको पारायण पनि यसै दिन सम्पन्न गर्ने गरी कार्यतालिका बनाइएको छ।

तेश्रो दिन अर्थात मे २९ तारिख सोमबार लघुरुद्री(१२१ पाठ) लगाउने र होम गर्ने मुख्य कार्यक्रम रहेको छ। अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने लगायत कार्य सम्पन्न गरिने कार्यतालिका रहेको छ। सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिने छ भने, साँझ भजन कीर्तन गरेर उत्सव मनाउने गरी आवश्यक तयारी भैरहेको गुरुङले बताए।

‘कार्यक्रमलाई गर्वका साथ उत्सवका रुपमा मनाउने गरी तयारी भैरहेको छ।’ उनले भने ‘कार्यक्रममा बढी भन्दा बढी नेपालीहरुको सहभागिता हुने गरी प्रचारप्रसारलाई व्यापक बनाउन सबैलाई अनुरोध गर्दछु।’ संस्थाले कार्यक्रमको मिति नजिकिदै गर्दा विभिन्न सञ्चार माध्यमहरु मार्फत र व्यक्तिगत तरवरबाट पनि प्रचारप्रसारलाई तिब्रता दिदै गएको छ। र, कार्यक्रम ऐतिहासिक, सभ्य र भव्य रुपमा सम्पन्न हुनेमा व्याब्फोन(PABFONE) परिवार विश्वस्त रहेको छ।

संस्थाले फष्ट वाप्टिष्ट चर्चका रुपमा रहेको उक्त भवन, सन् २०१९ अगष्ट ७ का दिन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड” को नाममा खरिद गरेको थियो। कुल १७ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरिएको उक्त भवन, म्यासेच्युसेट्स राज्यको मुख्य सहर बोष्टन नजिक रहेको ब्रेनट्रीको वाशिंटन स्ट्रिटमा रहेको छ।

१४ हजार ४ सय स्क्वायर फुट जमिनमा रहेको उक्त भवनमा संस्थालाई सम्बोधन हुने गरी पशुपतिनाथको मन्दिर र स्वयम्भु स्तुपा स्थापना गर्नुका साथै अन्य देवी देवताहरुको मूर्तिहरु पनि स्थापना गरिएको छ। सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक प्रयास पछि यो काम सम्भब भएको हो। मुख्य गरी नेपाली समुदायको हितार्थ आवश्यक धार्मिक तथा सामाजिक कार्य गर्ने गरी स्थापित यस संस्थाले, भवन जोड्नका लागि आवश्यक अर्थको जोहो गर्नका लागि प्रारम्भमा नेपालीहरुको महान चाड तीहारमा द्येउसी भैलो खेलेर अर्थ संकलन गर्ने अभियान सुरु गरेको थियो।

रकम संकलनको अभियानलाई तिब्रता दिने मुख्य उद्देश्यले सन् २०१७ मा बोष्टनमा श्रीमतभागवत सप्ताह महायज्ञ गरिएको थियो। चर्चित वाचन पण्डित दिनबन्धु पोखरेले वाचन गरेको सप्ताह महायज्ञमा, दाताहरुले १७ लाख डलर दान दिने घोषणा गरेका थिए। जस मध्य हालसम्म बाह्र लाख डलर संकलन भैसकेको छ भने, बाँकी रकम संकलन हुने क्रममा रहेको छ।

कोरोना महामारी, आर्थिक अभाव तथा अन्य विविध समस्याहरुका कारण अपेक्षित समयमा भवन उद्घाटन गर्न नसकिएको संस्थाले जनाएको छ। हालसम्म संकलित दाताहरुको दान तथा सहयोगीहरुको सहयोग रकम, भवनलाई पूर्णता दिन लगानी गरिएको र हाल आम्दानीको गतिलो आधार नभैसकेकाले तत्काल सञ्चान खर्चको जोहो गर्ने कार्य चुनौतीपूर्ण रहेको अवस्थाप्रति संस्थाले चिन्ता व्यक्त गरेको छ।

तत्कालका लागि सञ्चालन खर्चको जोहो गर्ने मुख्य आधार नै दान तथा सहयोग रकम भएकाले, सप्ताहमा दान दिने प्रतिब्द्धता जाहेर गरेर दान रकम उपलब्ध गराउने र अन्य दाताहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ। साथै, आफूले प्रतिबध्दता जाहेर गरेर दान दिन बाँकी रहेको रकम, यथासिघ्र प्रदान गरिदिन र अन्य इच्छुक दाताहरुलाई पनि सक्दो दान गरी यस महाअभियानमा जोडिन अनुरोध गरेको छ।

त्यसैगरी, संस्थाले यस अभियानलाई पूर्णता दिने क्रममा लिइएको कर्जाको हाल मासिक सावाँ व्याजसहितको प्रतिदिन तिर्नु पर्ने जम्मा किस्ता रकम २५० डलर जुटाउने मुख्य उद्देश्यले प्रतिदिन प्रतिदाता २५० डलर मोर्टगेज (Mortgage )दान अभियान सुरु गरेको छ। यस मोर्टगेज (Mortgage) दान अभियानमा जोडिएर संकटको घडीमा साथ दिनहुन संस्थाले दानवीर नेपाली समुदायलाई विनम्र अनुरोध समेत गरेको छ।