विश्व जगत्मा बहु–सत्यताको बहस चलाउने काम गौतम बुद्धले गरे । हुन त यहाँ बुद्धको ज्ञानलाई धर्मको चार दिवारभित्र राखेर हेर्ने ठूलो जमात छ । मलाई भने यस सोचाइको विपक्षी मत जाहेर गर्न मनपर्छ । किनकि यो ज्ञान विशुद्ध प्राकृतिक विज्ञानमा आधारित छ । जसले सत्यका बहु–आयाम, मानवतावाद, मानवीय समवेदना, करुणा र धर्ममा निरपेक्ष भाव राख्ने सन्देश बोकेको छ । जुन ज्ञानको सन्देशलाई पश्चिमा समाजले विज्ञानको रूपमा पछ्याएर अनुसन्धान र जीवन दर्शनमा उपयोग गरिरहेका छन् भने नेपालको माटोमा जन्मेको त्यो ज्ञानका बारेमा विगतका शासक र उनका विज्ञहरुबाटै अवमूल्यन हुँदै आएको छ । सायद यो बुझाइको कमजोरीको नतिजा हुनसक्छ । परिणामतः कुनै समय यो विचारसँग असहमत गर्नेलाई डाँडो कटाउने कामसमेत गरिएको पाइन्छ ।
वर्तमान युग सुचना प्रविधि र सामाजिक सञ्जालबाट बढी प्रभावित छ । जहाँ छिनछिनमा बहु–स्वरुप सत्यका परिदृश्य देख्न सकिन्छ । जसले कुन कुरा सत्यताको नजिक छ भनेर साधारणलाई ठम्याउनै गाह्रो छ । सञ्जालभित्र कहिलेकाहीँ सत्यका पक्षधरहरु एकल बृहस्पतिझैँ झूट सहेर बाँच्न बाध्य छन् भने झूट सत्य बनी निर्धक्क छाती पिटिरहेको छ । बुद्धविज्ञानले हरेक सत्यतामाथि प्रश्न गर्नपर्छ भन्ने मान्यता बोक्छ र बुद्धकै विचारमाथि पनि सत्यता छ ? छैन ? अनुसन्धान गर्नुपर्छ भन्ने मत जाहेर गर्छ । यसको अर्थ तिम्रो मनले देखेको कुरा तिम्रो सत्य हो, थियो । तिम्रो ज्ञान हो । थियो । भन्ने तर्क राख्छ । साथै यो अटल सत्य कहिले पनि नठान भन्ने तर्क प्रस्तुत गर्छ ।
तर, आजको सामाजिक सञ्जालको युगले सर्टिफिकेट, पैसा, समाजको पहुँचवाला, अथवा शक्तिकेन्द्रमा पहुँचवाला भएकाहरुको झूटसमेतलाई सवेत सत्य साबित गरी अन्तरआत्माले विष्लेषण नगरी निर्धक्क सत्य धोषणा गरिदिन्छ । र, त्यो पर–विचारलाई आफ्नो विचारसरी सामाजिक सञ्जालमा पोखिदिन्छौँ । यो सोच हाम्रो बौद्धिक दासता बोकेको पुरातन संस्कारसँग सम्बन्धित छ । पक्का पनि सामाजिक सञ्जालमा कुनै अवधारणामा तर्कसंगत विष्लेषणात्मक विचार राख्नु जायज हो । तर, कसैको विचारमाथि आँखा चिम्लेर सहमति जनाउनु पनि बुद्धिमता हैन भने आफूलाई मन नपरेका कुरामा तथानाम गाली गर्नु त झन स्वयंप्रतिको अपमान र सामाजिक सञ्जालको दुरुपयोग हो । अझै समाजमा घटित कुनै घटना वा वेदनामाथि गैरजिम्मेबारपूर्ण रुपले प्रस्तुत भई कसैप्रति संवेगात्मक व्यापार वा इमोसनल ब्लाकमेल गर्नु भनेको त झनै सामाजिक अपराध र सत्यमाथिको प्रहार हो ।
समाजमा चलाख व्यक्तिहरुले आफूलाई समाजमा उभ्याउन सामाजिक वेदनाको फाइदा उठाउन मनोवैज्ञानिक प्रभाव पारेर फाइदा लिने काम एक किसिमको चारित्रिक शिल्पिकला नै भन्नुपर्छ । नेपालीहरुले सजिलै पगाल्न र जित्न सक्ने भनेको नै मानिसको मन र वेदना हो । किनकि नेपालीहरु सहृदयी र कमलो मनका धनी मानिन्छन् । यो एक किसिमले पात्रले आफूलाई उभ्याउन गर्ने मानवीय वेदनामाथिको व्यापारसँग सम्बन्धित छ । समाजको आवश्यकता र अभावमाथि सिपालु पात्रहरुले आजको सामाजिक सञ्जालको युगमा मानवीय बाध्यता र कमजोरीको फाइदा उठाइ वेदनाको व्यापारबाट भरमग्दुर फाइदा लिन खोजेको देखिन्छ ।
यी पक्षलाई नेपालको समाज तथा राजनैतिक सुधारको व्यापारसँग जोडौँ । किनकि हिजोआज यसमा युवा अझै सक्रियरुपमा प्रस्तुत भएका छन् । पढे–लेखेका युवाले पहिले ग्रासरुटमा बसेर समाजका लागि रगत पसिना बगाउनुको सट्टा आजभोलि सामाजिक सञ्जालमा बसेर हुलसहित समाजको मुड बुझेर इमोसनल व्यापारबाट सोझाहरुलाई ठग्ने काम सामाजिक सञ्जालभित्र देखिन्छ । चाहे विकासको नाम, चाहे चन्दाको धन्दा वा भोट बटुल्ने कामहरु एक किसिमको कतैबाट निर्देशित फर्मेटकमा सञ्चालित देखिन्छन् । जसबाट नेपालको राजनैतिक वृतमा इमोसनल वा संवेगात्मक व्यापार झनै फस्टाउँदो छ । युवाहरुलाई सहजै पट्याउन यसको खेती सामाजिक सञ्जालमा चलेको छ । अझै सक्कली र छद्म नामका आइडीहरु बनाएर आफूलाई समाजमा बुझक्कड देखिनेहरुले प्रवासबाट समेत यो कामलाई थप सहयोग गरेको पाइन्छ ।
खासमा राजनैतिक लाभ नपाउँदाको झोक होस् वा मौकामा चौका बजाउन सञ्जालको उपयोग प्रसस्तै गरिएको पाइन्छ । जसमा अरुभन्दा पनि युवा जमात बढी नै सक्रिय देखिन्छ । सिकाइ र ज्ञानको विष्लेषण र सम्पेषणभन्दा पनि कसैको निर्देशनमा युवाहरुले शंका, भ्रम, कुण्ठा, गाली, गलौच बिसाउने थलो सामाजिक सञ्जाल बनाएको पाइन्छ । प्रश्न उठ्छ– के यसले समाजको सत्यलाई जीवित गराउन सहयोग गरेको छ त ? के यस किसिमको कुण्ठा भरिएका रिस–राग र गलत सूचनाको संप्रेषणबाट जनमानसलाई र दीर्घकालीन देश विकासलाई फाइदा पुग्छ होला ? के यस किसिमको परिपाटीले बहु–भावनाहरुको कदर र स्वयम् भित्रीको सत्य बोध गरी निर्णय गर्ने शक्ति र सिर्जनशीलता विकास गर्न सहयोग पुग्छ ? वा अरुको गलत पावरको चस्माबाट सत्य ओकेल्न आफ्नै आँखा अगाडिको सत्य गुमाउने स्थितिको सिर्जना गर्छ ? आदि धेरै अनुत्तरित प्रश्नसँगै सामाजिक सञ्जालको दुरुपयोगले कतै युवाहरुले समयको बरबादीसँगै कन्सपेरेन्सी सिद्धान्तमा बलपुग्ने गरी झूटको खेती गरेको ठम्याइ छ ? यसको प्रभावले युवाहरुमा मनो–सामाजिक धरातल गुम्दै गएको, मानसिक स्वास्थ्यमा असर परेको, अस्थिर मन र पर–निर्भर विचलित स्वभाव आदिले डिप्रेसन हुँदै जटिल मानसिक समस्याहरु देखापरेको देखिन्छ ।
सत्यलाई अरुको मन र पर–निर्भतामा बुझ्नु र ओकेल्नु नै गलत अवधारणा भनेर बुद्धवादलाई माथि प्रसङ्गमा जोड्न खोजेको मात्र हो । सत्यलाई जसरी पनि हेर्न सकिन्छ, जस्तै कसैको दृष्टिमा कलेजको अध्ययन र डिग्रीको आधारमा बोलेका कुरा सर्वज्ञानी र सर्वसत्य हुन भन्न सक्छन् । निश्चय पनि व्यक्तिको व्यक्तित्व मापन गर्ने एक मानक उसको पढाइ सर्वशक्ति हुनसक्छ । तर, अर्को सत्य यो पनि हुनसक्छ कि कलेजको सर्टिफिकेटभन्दा समाज बुझाइको सर्टिफिकेट एक मानक हुनसक्छ । जस्तै प्रकाश सपूतको सिर्जनशीलता र फूलमायादेखि सकम्बरीको भावले गरेको सामाजिक क्रान्ति कुनै विज्ञका अनुसन्धानका ठेलीभन्दा पनि महत्त्व बोकेको हुनसक्छ । मेहनत, साधना र अध्ययनशीलता अर्को मानक हुनसक्छ । साथै कसैले कर्मबाट समाजमा पारेको प्रभावले अर्को सत्य स्थापित गर्न सक्छ । बुद्धले पाएको ज्ञानको आधारमा ध्यान, तप, साधनाको ज्ञान झनै विश्वविद्यालयको सर्टिफिकेटभन्दा महत्त्वपूर्ण हुन सक्छ ।
यस प्रसङ्गमा विकासवादी दर्शनको आफ्नै मत छ । जसले विकास र परिवर्तनलाई समयसापेक्ष जनआकांक्षा अनुकूल गर्न सक्यो त्यो नै बढी महत्त्वपूर्ण सत्य हो । जो अहिलेको विश्वले लिएको विकासे अवधारणासँग मिलेको छ । यस विषयमा विकासवादी विज्ञ लर्नरको भनाइ छ– “वातावरण अथवा परिवेशसँग सम्बन्धित ज्ञान र व्यक्ति वा समाजबीचको दोहोरो सम्बन्धको” प्रतिफलको उपयोगबाट स्थापित सत्य ज्ञान जसले समाज सुधारमा महत्त्वपूर्ण आधार बनाएको छ त्यो नै सत्य ज्ञान हो । जो निरन्तर चलिरहने प्रक्रियासँग सम्बन्धित छ । यो एक किसिमले ऊ बेलामा विपीले “एक हल गोरु र दुहुनो भैसीसँग” व्यक्ति र समाजको विकासको मोडेल जोडेजस्तै हो । भलै नेपाली राजनीतिले यसलाई नत बुझ्न सक्यो नत समयसापेक्ष तालमेल नै गर्न सक्यो । जो अहिलेको समाजको आवश्यकताभन्दा अलि परको हुनसक्छ । तर, यसको महत्त्व विकास समयसापेक्ष युग सुहाउँदो र तत्कालीन आवश्यकतासँग सम्बन्धित हुनुपर्छ भन्ने विकासवादी धारणासँग जोडिएको छ । जुन विज्ञले यो बाटो डो¥याउन सक्छ त्यो ज्ञान उपयोगी ज्ञान हो । बाँकी ज्ञान तथ्याङ्क र अङ्ग्रेजी भाषाको कागजी घोडामा सयर हुँदै जिब्रो बिकाउने ज्ञान हो भन्दा खासै नपर्ला । चाहे हवार्डको डिग्री होस् कि त्रिविविको ।
यसर्थमा व्यक्तिले परिवेशलाई आत्मसात गरेर आफ्नो ज्ञानको उपयोगिताबाट समाजमा परिवर्तनका पस्कन सक्दैन भने त्यो ज्ञान एक किसिमले जिब्रो पट्काउन र राजनैतिक भाषा बोल्न भन्दाबाहेक अरु केही होइन । यसको ज्वलन्त उदाहरण हामीसामु कुलमान धिसिङ छन्, जसले देश निर्माणमा असाधारण योगदान दिए तर उनीभन्दा कैयौँ नेपालीसँग विश्वका ख्यातिप्राप्त कलेजका डिग्री छन् । यस्तै कथा डा. सन्दुक रुइतमा पनि लागू हुन्छ । यी दुई समाजका सच्चा विज्ञ हुन् जसको ज्ञानको सत्यता समाजले उपयोग गरेका छन् ।
यस परिदृश्यले के देखाउँछ भने– सर्टिफिकेट ठूलो कि कर्म र इच्छाशक्ति ठूलो ? कैयौ युवाका विचार सुन्दा उदेक लाग्छ । कोही पद नपाएर काम गरिनँ भन्छन् त कोही पद पाएर पनि वातावरणले काम गर्न सकिन भन्छन् । कोही म पानीविज्ञ हूँ भन्छन् त कोही अर्थविज्ञ । तर, त्यो विज्ञताबाट देशले के लाभ पायो ? यहाँ प्रश्न उठ्छ, सर्टिफिकेटले विज्ञ ठहरिएका आधारमा उच्च ओहदाको पदमा काम र अवसर पाएर पनि उनलाई सन्दुक रुइत र कुलमान हुन के ले रोकेको रहेछ ? किन नयाँपिढी पनि अवसरलाई उपयोग गर्नुको सट्टा अवसरवादी आचरणमा फस्दैछन् ?
समाजले युवापिंढीलाई शक्तिको रुपमा हेर्ने गर्छ तर व्यवहारमा युवालाई उपयोगको रुपमा त्यो पनि राजनैतिक फाइदाको रुपमा प्रयोग गरेको छ । यसले गर्दा समाजमा विरोध र चर्को बोलेर माथि पुगिन्छ भन्ने सोचबाट बदलिएर सिर्जनशीलता, संस्कारिकक सोच र कर्ममा विश्वास गर्ने युवाको क्रान्ति नै नेपालमा हुन सकेन । दश पास गरेर खाडीमा वा सामाजिक सञ्जाल वा सडकमा भेटौँला भन्ने जमात उत्पादन गर्ने कारखानाको रुपमा शिक्षा र सामाजिक दृष्टिकोण जन्मँदैछ ।
सकारात्मक युवाको विकासमा विश्वले लिएको “५ सी” (फाइभ सी) को अवधारणा नेपालले भित्र्याउनै सकेन । यसमा युवालाई जीवनको मार्गमा बढ्न चाहिने ५ वटा महत्त्वपूर्ण सीप पर्दछन् । जसअन्तर्गत क्षमतावान, आत्मविश्वास वा निर्धक्कता, मित्रता वा सम्बन्ध स्थापना, नैतिकता मूल्यमान्यता र अरुप्रति देखाउने व्यवहार, हेरचाह र दया–माया (कम्पिटेन्सी, कन्फिडेन्स, कनेक्सन, क्यारेक्टर, केइरिङ) जस्ता सीपका व्यावहारिक पक्षहरु पर्छन । जो पूर्वीय दर्शनका मान्यताभित्र महत्त्वपूर्ण पाटा हुन । यी सकारात्मक युवा विकासका सर्तउपर पर्याप्त बहस र जागरण र अध्ययन नै हुन सकेको छैन । भने यसको दूरगामी खाका पनि देखिँदैन । यसको उल्टो बाटो भनेको क्षणिक स्वार्थ र भोट बैंकको रुपमा युवा परिचालित हुनु देश दलदलमा भासिने लक्षण हो ।
नत्र आज युवालाई सामाजिक काम गर्न र गाउँघरमा परिचालन गर्न कसले बाधा पु¥याएको छ ? के डा. रुइत र कुलमान धिसिङलाई नेपाली राजनीतिका हजुरबा–आमा, दाइ–भाउजू, काका–काकी.. आदिले काम गर्न रोके ? युवाले यो मार्ग नसमात्नुको कारण के हो ? के मुख चलाउँदैमा विकास हुन्छ ? के दिमागले सोच्दैमा र विश्वका सिद्धान्त र अनुसन्धानका ठेली बोकेर नेपालमा प्रयोगशाला बनाउँदैमा विकासको मूल फुटाउन सकिन्छ ? यावत् प्रशस्तै प्रश्नको जवाफको एक पाटो धरानका मेयर हर्क साम्पाङको कार्यशैली हो । खै हामीले त्यो कर्मभाव चिनेको ?
कर्म गर्ने र ज्ञान विकास गर्ने समयमा युवा उहिले उहिले ढुङ्गा–मुडा र बन्द हडतालमा जोतिएको इतिहास छ भने आजभोलि सामाजिक सञ्जालको जालभित्र छन् । फरक पहिलेका युवासँग हातमा ढुङ्गा हुन्थे भने अहिले दिमागमा सैतानी स्वभाव छ जो पहिलेको भन्दा झनै खतरानाक स्वरुप हो । अनि यहाँ मदारीले युवालाई नचाइरहेका छन र युवाहरु नजानिँदो सञ्जालको जेलमा छाडा र उन्मुक्त भई समय, जवानी, तागत र मनोभावना आदि बेचिरहेका छन् । जब कुनै दिन चेत पलाउने छ, उनीहरु यो जालबाहिर आउन खोज्नेछन् । तर, निस्कँदाको समय धेरै ढिलो भइसक्ने छ । किनकि केही साथी सत्कर्मले धेरै राम्रो स्थानमा पुगिसकेका हुनेछन् । यो समूहलाई नत राजनीतिले चिन्ने छ । नत समाजले नै । समय सुहाँउदो सीपबिहीन ढल्किदो उमेरका युवाहरु शारीरिक तथा मानसिक असक्ततामा रुमालिने छन् । सारा जगत सूचना प्रविधिमा नाचिरहेको बेला उनीहरु उच्चतहको ज्ञानबाट बिमुख भई बेरोजगारको बजारमा लिलाममा बेचिनेछन् ।
परिणामस्वरुप यो युवाको जमात धरायसी समस्या, आर्थिक अभाव, कमजोर सामाजिक धरातल, मानसिक र शारीरिक रोगीका कारणले लागू तथा नसालु औषधि, डिप्रेसनका चक्की र निदाउने दबाईबाट दिमाग ठन्याउन बाध्य हुनेछ । यसको प्रतिफल देशले आधुनिक युगको जनशक्ति गुमाउने छ भने युवाले सुशासन बोकेको राजनीती र विकासको आधार ।
प्रतिक्रिया