मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

बोस्टनवासी नेपालीहरुले, सपूतसंगै हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष मनाए

बोस्टनवासी नेपालीहरुले, सपूतसंगै हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष मनाए


अमेरिका- लामो समयदेखि अमेरिकाको मासाच्युसेट्स राज्यमा बसोवास गर्ने नेपाली समुदायले विविध कार्यक्रमहरु गरी सामुहिक रुपमा हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष मनाउदै आइरहेका छन्। कोरोना भाइरसको महामारीका कारण केही नयाँ वर्षको बृहत जमघट कार्यक्रम प्रभावित भएको भएपनि, कोरोना कहरमा सुधार आएसंगै फेरी निरन्तरता पाएको छ। यस अर्थमा, नेपाली पात्रो अनुसार नयाँ वर्ष, सामुहिक रुपमा साँगीतिक माहोलका बिच हर्षोल्लासका साथ मनाउने एक प्रकारको थिति नै बसिसकेको छ भन्दा पनि फरक नपर्ला। यसको नेतृत्व नेपालीहरु आबध्द रहेको ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि-GBNC) ले गर्दै आइरहेको छ।

संस्थाले आफ्नो स्थापना कालदेखि नै नेपाल, नेपाली, नेपाली गीत संगीतप्रति आत्मीय सामिप्यता प्रकट गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने र हर्षोल्लासका साथ नेपाली नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्य राखेर नयाँ वर्ष विषेश कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। सोही अनुरुप यस वर्ष पनि आफ्नो वार्षिक क्रियाकलापहरुको पात्रोमा प्राथमिकता दिदै ‘ बैशाखी साँझ-२०८०’ को आयोजना गर्यो।

पछिल्लो समय नेपाली साँगीतिक क्षेत्रमा चर्चाको शिखरमा रहेका कलाकार ‘प्रकाश सपूत’ लाई विशेष अतिथिका रुपमा नित्याएर आयोजना गरिएको साँगीतिक कार्यक्रम, भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमको बारेमा प्रतिक्रिया दिदै संस्था कि अध्यक्ष अन्जु थापाले भनिन् , ‘कार्यक्रम सोचे भन्दा बढी भव्य, सभ्य र उल्लासमय रुपमा सम्पन्न भयो। कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद छ।’

कार्यक्रम सफलतापूर्ण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले थपिन् , ‘कार्यक्रमको सफलताले हामी निकै खुशी भएका छौं। यसले हामीलाई भावी दिनहरुमा थप जिम्मेवारीका साथ सामुदायीक क्रियाकलापहरु गर्नका लागि थप सक्रिय रहन अमूल्य उर्जा र उत्प्रेरणा मिलेको छ।’

कार्यक्रम गत अप्रिल १४ तारिख सुक्रवार बोस्टनमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी बोस्टनवासी नेपालीहरुले साँगीतिक माहोलमा सपूतसंगै हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष मनाएका थिए। नेपाली तन, नेपाली मन र नेपाली पनको बेजोड संगम देखिएको कार्यक्रममा, कलाकारहरुले र सहभागीहरुले भरपूर मनोरञ्जन दिन र लिन कुनै कसर बाँकी राखेनन्। कार्यक्रमको उद्घाटन पञ्चकन्याहरुको उपस्थितिमा नेपाली राष्ट्रिय गान र अमेरिकन राष्ट्रिय गान बजाएर/गाएर गरिएको थियो।

कार्यक्रम तालिका अनुसार पहिलो चरणमा कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष अन्जु थापा र महासचिव सोनाम शेर्पाले विशेष अतिथि, अतिथिहरु, कलाकारहरु, सहयोगीहरु र सहभागीहरुलाई स्वागत गर्दै शुभकामना मनतव्य व्यक्त गरेका थिए। कार्यक्रममा क्याम्ब्रिज सिटी(Cambridge City)की मेयर सुम्बुल सिद्दिकी( Sumbul Siddiqui) र समरभिल सटी(Summerville City)की मेयर काट्जना बालेनटाइन(Katjana Ballantine)को समेत उपस्थितिले कार्यक्रमको महत्व, गरिमा र रौनकता बढेको थियो। उनीहरुले कार्यक्रमको प्रशंसा गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए। र, सबैलाई नेपाली नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना मनतव्य पश्चात् दोश्रो चरणमा साँगीतिक कार्यक्रम प्रारम्भ भएको थियो। जसको पर्दा खोल्ने काम स्थानीय नेपाली कलाकारहरुले गरेका थिए। साँझ छ बजेबाट प्रारम्भ भएको कार्यक्रममा स्थानीय कलाकारहरु बिराज गुरुङ, संयक अधिकारी, पूजा घिमिरे, राज लामा, निरज खत्री, नित्य शर्मा, सोनाली राभण्डारी, सुदा गुरुङ, रोनिशीका थापा लगायतले पस्किएका साँगीतिक कोशेलीहरुले माहोल तताउन महत्वपूर्ण योगदान गरेको थियो। यसै क्रममा कार्यक्रमको मुख्य प्रायोजक नेस्ट रियल स्टेट(NEST Real Estate)ले शुभकामना दिदै आफ्नो गतिविधिहरुका बारेमा जानकारी दिएको थियो। नेस्टका प्रतिनिधिले कार्यक्रममा प्रायोजन गर्ने अवसर दिएकोमा जिबिएनसिलाई धन्यवाद दिदै आउदा दिनहरुमा पनि सहकार्य गर्दै जान पाउने आशा व्यक्त गरेका थिए। कार्यक्रममा गीत संगीतका साथै विभिन्न स्वादिष्ट परिकारहरुसहित खानपिनको समेत प्रबन्ध गरिएकाले, सहभागीहरु खादै पिउदै, नाच्दै, गाउदै, शुभकामना आदानप्रदान गर्दै रमेका थिए। ४ सय पचास हाराहारीमा सहभागीहरुको उपस्थित रहेकाले कार्यक्रम स्थल, खचाखच भरिएको थियो।

कार्यक्रमको तेश्रो चरणमा कार्यक्रमका विशेष अतिथि ‘प्रकाश सपूत’ ले आफ्नो साँगीतिक कोसेली पस्किएका थिए। कार्यक्रम सञ्चालक तिलक श्रेष्ठले भूमिका बाँधेर सपूतलाई मञ्चमा निम्त्याउदा, सहभागीहरुमा खुशीको सिमा रहेन। नेपाली झण्डा समेटिएको नेपाली पहिचान झल्किने पोशाकमा सपूत मञ्चमा प्रवेश गर्दा लामो समयदेखि प्रतिक्षारत दर्शकहरुले तालीको गडगडाहट धुनीले स्वागत गरेका थिए। सपूतले नमस्ते बोष्टन भनेर सहभागीहरुलाई अभिवादन गर्दा सहभागीहरुले पनि एकै स्वरमा अभिवादन फर्काएका थिए। सपूतले नेपाल, नेपाली र प्रवासी नेपालीलाई समेटेर मन छुने भावनात्मक शब्दहरुको सहारा लिदै सम्बोधन गर्दा, सहभागीहरूको अनुहारमा एकाएक गाम्भीर्यता झल्किएको थियो। जसले नेपालमा रहेका नेपाली र अमेरिकामा रहेका नेपालीहरुका बिचमा रहेको आत्मीय सामिप्यता थप कसिलो भएको प्रष्ट देख्न सकिन्थ्यो।

सपूतले आफ्नो पहिलो कोसेलीका रुपमा उनको चर्चित गीत ‘पीर…’ प्रस्तुत गरेका थिए। ”अभाव अभावले हाम्रो घाँटी अठ्यायो, परिस्थितिले हाम्लाई परदेश पठायो …” भन्दै गाउदा सहभागीहरु निकै भावुक भएका थिए। रमाइलो साँगीतिक माध्यमबाट निकै मार्मिक सन्देशहरु पस्किएको यो गीतले दर्शकहरुको वा…वाइ पाउन सफल भयो। दोश्रो कोसेलीका रुपमा राष्ट्रिय भावनाले उत्प्रोत गीत ‘यो देश मेरो पनि हैन र ..? गाएका थिए। एकपछि अर्को गरी आफ्ना चर्चित गीतहरु पस्किएर सहभागीहरुलाई भरपूर मनोरञ्जन दिने क्रममा उनले हालसालै सावर्जनिक गरिएको उनको नयाँ गीत सकम्बरी (फूलमया)…केही अंश गाएका थिए। मन्त्रमुग्ध बनाउने संगीत, कर्णप्रीय स्वर, कलाकारहरुको खारिएको अभिनय र मर्म स्पर्शी सन्देशको यथोचित संयोजन रहेको उनका चर्चित गीतहरुले सहभागीहरुलाई भरपूर मनोरञ्जन दिन कुनै कसर बाँकी राखेन। सहभागीहरुको मनोभावना र अनुरोध अनुसार उनले कार्यक्रममा आफ्ना चर्चित गीतहरु डाँडा घरे साइली, काउली, गलबन्दी, पञ्चेबाजाको धुन, दोहोरी व्याटल लगायत प्रस्तुत गरेका थिए। उनले आफ्नो प्रस्तुतिका क्रममा सहभागीहरुलाई कलात्मक ढंगले नाँच्न गाउन उत्प्रेरित गरिरहेका कारण सहभागीहरुले पनि खुलेर उनलाई साथ दिएका थिए।

सहभागीहरुको उल्लासमय सक्रिय साथ र थप गीतहरु गाउन गरेको अनुरोधका कारण सपूतले उनलाई छुट्याइएको समय भन्दा बढी समय गीत गाएर साथ दिएका थिए। एकपछि अर्को चर्चित गीतहरु पस्किएका सपूतले सहभागीहरुको मन जित्न सफल भए। समयको पावन्दीका कारण मञ्चबाट बिदा माग्दै गर्दा सपूत र सहभागीहरु दुबैले खल्लो महसुर गर्नु परेको भाव झल्किरहेको देखिन्थ्यो। उनले आफ्नो प्रस्तुतिका क्रममा सहभागीहरुलाई मनोरञ्जन मात्र दिएनन्, चिन्तन मननयोग्य महत्वपूर्ण सन्देशहरु पनि दिन सफल भए। यसका साथै, उनले नेपाल, नेपाली र बोस्टनमा रहेका नेपालीहरु बिचको आत्मीय सामिप्यताको डोरीलाई थप कसिलो बनाउन महत्वपूर्ण योगदा गरे।

कार्यक्रम तालिका अनुसार तेश्रो चरणमा डिजे मुकुन्द र डिजे डिले प्रस्तुत गरेको सुमधुर संगीतहरुमा खादै, पिउदै, रम्दै झुम्दै ‘बैशाखी साँझ-२०८०’ लाई बिट मारिएको थियो।

समग्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकको दावी छ। कार्यक्रम संयोजक तथा जिबिएनसि(GBNC)का वरिष्ठ उपाध्यक्ष सन्दिप भट्टराईले कार्यक्रम सफल रहेको प्रतिक्रिया दिए। उनले भने, ‘ समग्रमा कार्यक्रम सफल रहेको हाम्रो मुल्याङ्कन छ। यद्यपि, भावी दिनहरुमा अहिले देखिएका केही कमी कम्जोरीहरुलाई सुधार अवश्य गर्ने नै छौं।’ वरिष्ठ उपाध्यक्ष भट्टराईले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। सहभागीहरुले पनि कार्यक्रम निकै मनोरञ्जनात्मक, उल्लासमय र फलदायी भएको प्रतिक्रिया दिएका छन्।

 

कार्यक्रमको मुख्य प्रायोजक नेस्ट रियल स्टेट (NEST real estate) रहेको थियो भने, सनसेट डेकोर (SUNSET Decor), जेनट्राभल डट कम(Zentravels .com) लगायतले पनि आर्थिक सहयोग गरेका थिए।