मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मन र मस्तिष्क हल्लाउने दि पोएट आइडल

मन र मस्तिष्क हल्लाउने दि पोएट आइडल

बिटु केसी बराल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्को हप्ता The poet Idol सकिदैछ । प्रतिस्पर्धीहरु मध्ये जो सुकैले कपलाई चुमे पनि जीत आखिर कविताकै हुनेछ । खुशी यस अर्थमा छ , नेपाली कविताको इतिहासमा नयाँ आयाम थपिने छ। the poet idol ले नयाँ इतिहास रच्ने छ ।

poet idol फगत एउटा कार्यक्रम मात्र नभएर मेरो अन्तर हृदयको कविअस्तित्वको खोज हो , भेट हो । त्यो कार्यक्रमभरी म आफैलाई पाउँछु वा मैले मलाई खोज्छु । मलाई लाग्छ , कविहरुसँग म नै कविता घोत्ली रहेकी छु , लेखिरहेकी छु , वाचन र अभिनय पनि गरिरहेकी छु । जजहरु भएर प्रतिक्रिया दिने मै हुँ । दिब्यदेवले जस्तै कार्यक्रम समेट्ने मै हुँ । दर्शक दिर्घामा बसेर ताली पिट्ने पनि मै हुँ । ती गीत , संगीत र अभिनयमा आफैलाई घुलमिल गराउँछु । केही सिक्दै , केही पाउँदै गर्दाको बडो मनोरम अन्तरक्रियामा हुन्छु । काव्य रसमा हराएको त्यो एक घण्टाको समय सुन्दर र सुमधुर लाग्छ । कला र साहित्यका हर विधाहरुसँगको सामिप्यले मन प्रफुल्लित हुन्छ ।

कविताको साहसिक यात्रा तय गर्दै फाइनलमा पुगेका चार कविहरुलाई हार्दिक बधाई !

फाइनलिष्ट सबै कविहरु विजेता हुन् मेरो लागि । यस्तो सन्तोषपरक निष्पक्ष सोच सृजित हुनुमा जजहरुको न्यायिक निर्णय पनि धेरै हदसम्म आधार हो ।

जज सुरक्षा पन्त बौद्धिकताको हिसाबले नेपाली नायिकाहरु मध्ये मन परेकी नायिका हुन् । कवि , निर्देशक उपेन्द्र सुब्बाको सादगीले करोडौंको मन जितेको छ । चलचित्र निर्देशक एवं रङ्गकर्मी अनुप बरालजीको गहिराई र गाम्भिर्य त्यति नै राम्रो छ ।

कवि विप्लव प्रतीकसँग उहाँ अमेरिका हुँदाको बखतदेखि पुरानो काव्यिक चिनाजानी । poet idol मा उहाँलाई पाउँदा गर्व लागेको छ । तपाईंको ” काल ” शिर्षकको कविता फेरि धित मर्नेगरी सुन्न मन छ विप्लवजी ।

आदरणीय स्वर्गीय कवि क्षेत्र प्रताप आधिकारीका सुपुत्र , पोएट आइडल जस्तो नौलो , फरक , सुन्दर र क्रान्तिकारी सोचका सुत्रधार निर्देशक अमन प्रताप अधिकारीप्रति अगाध स्नेह र श्रद्धा छ । छोरो हुनु त यस्तो पो ! तपाईंको परिकल्पनाले कवि हृदयहरुलाई सुख्खा यामको शितल झरीले जस्तै रुझाएको छ ।

अस्ति शुक्रबार दार्जिलिङका डल्ले कवि (पल्लविभ ) ले निभ्न लागेकी वत्ती आफ्नी बोजुसँगको वार्तालापबाट राष्ट्रियताको विषयमा कविता भन्दै गर्दा धरधरी रुवायो । उसको सरल ,अत्यन्त मौलिक भावहरुले अक्सर मुटु छेडिरहेको हुन्छ । मिलशन राइका क्रान्तिकारी कविता , सिक्किमकी कवि निलम गुरुङको जोशिला कविता , अभिव्यक्ति शैली र नाथन रायनका भावुक कविताहरु हेरिरहन , सुनिरहन मन लाग्छ ।

भोट कम पाएर बाहिरिने कवि मुनु ( तिमी गुँरास लिएर आउनु म अर्को जुनी ! ) र अनुप न्यौपानेका कविता पनि दमदार , ससक्त छ्न् । यिनीहरु बाहिरिदा नमज्जा लागेको हो ।
झापाकी मल्लिका खतिवडा पनि निकै मन परेकी कवि हो ।

अभिनेता तथा कार्यक्रम प्रस्तोता दिब्यदेव भट्टको खारिएको वजनदार प्रस्तुतिले समग्र कार्यक्रमलाई बाँधेर राख्न पूर्ण सफल भएको छ । उहाँको आवाजमा जादु छ , मन्त्र मुग्ध पार्ने ।
संगीत र अभिनयको रङ्गले सिंगारेर कवितालाई थप सुन्दर बनाएको छ ।

तथापि यसलाई अझ परिमार्जन र परिस्कृत गर्न थुप्रै सुधारहरुको पनि आवश्यकता छ ।

कतिपय चर्चित कविहरुका कविता दोहोरिदा र लामो वाचनले कार्यक्रम पट्टयार लाग्दो भएको आयोजकरुले पनि महसुस गर्नु भएकै होला । हास्य र व्यङ्ग्य कवितालाई पनि समावेश गर्न सके अझ खदिलो हुन्थ्यो र अझ बढी दर्शकहरुलाई कार्यक्रमले समेट्न सक्थ्यो ।

प्रतिस्पर्धी कविहरुलाई कविताका विषय वस्तु अभिनय र चित्रका माध्यमबाट दिइएको धेरै राम्रो छ । तर क्लिष्ट विषयहरु नदिइएकै राम्रो हुन्छ । गीत , गजल , मुक्तक कविताकै अङ्ग हुन् । यी विधाहरुलाई विचविचमा समावेश गर्न सकिए Poet idol को गरिमा अझै बढ्ने छ ।

गजल विधाले आफैमा लय बोकेको हुन्छ ,यस भित्रै संगीत लुकेको हुन्छ । अस्ति गजलकार प्रदिप रोदनको उपस्थिति र गजल वाचनले कति राम्रो माहोल तताएको थियो । Poet idol को मुटु भनेकै आँसु कवि राउन्ड हो । दिइएको विषयमा आधा घण्टा भित्र कविता लेख्न सक्ने अद्भुत प्रतिभाहरुलाई सलाम !

नसकिए हुन्थ्यो भन्ने लागेको the poet idol अब अर्को हप्तादेखि आफ्नै बैठक कोठाको टिभी स्कृनमा हेर्न पाइने छैन । यो कुराले कताकता खल्लो लागेको छ । कामबाट आएर घरका सबै काम थन्काइ सकेपछि सुस्ताउने मिठो साथी थियो poet idol । डिनरको मज्जा लिंदै यूटुवबाट अब अनेक भाव भङ्गीमा देखिने कविताहरु हेर्न नपाइने भएको छ ।

अर्को सिजन पनि आउने हल्ला त सुनेकी छु । अमन प्रतापजी , poet idol को अर्को सेसन फेरि छिटै कहिले आउँछ ?