एउटा गम्भिर प्रश्न छ आमा
मेरो सम्झनामा ताजा छ त्यो दिन
गरिबी रोग, भोक र अशिक्षाले ग्रस्त
मेरी आमाको मुग्लान पठाउने निर्णय
गलत थियो कि सही थियो जान्दिन
म आमाको स्विकृतिमा मुगलान पसेकी हुँ
हरपल उनकै खुशीको चाहाना बोकेर
पसिना पुछ्दै छु, श्वास फेर्दै छु !
पसिनाको हरेक थोपामा दुधको भारा छ
जीवनभर म आमाको भारा बिर्सुला र ?
आमाको फाटेको चोलो
बाले बनाएको घरको छानो
फेर्न पुगेपछि धोको
घर फर्किने मन हो आमा
तर आज म तर्सिएँ
एकाएक यस्तो खवर पाएँ
“मुग्लानबाट फर्कनु पर्दैन,
सकुन्जेल केबल पैसा मात्र पठाउ
तिम्रो नागरिकता फेरिएको छ !”
के साँच्चै हो त आमा ?
हजुरलाई मात्र पैसाको खाँचो हो?
के अखबाररमा पढेको खवर साँचो हो ?
आमा, मैले त सोचिरहेकी छु
मेरो अनुपस्थितिमा घर शून्य छ
वरिपरिको झारपात पन्छाउनु छ
भूत प्रेत र पिचाश मन्छाउनु छ !
मेरो साँचो कुरा भनुँ त आमा ?
म मरुन्जेल विदेशमा विदेशी हुँ
यहाँ मेरा आफन्त अनि मेरा गाउँ छैन
मलामी र लास जलाउने ठाउँ छैन
हेर्दाहेर्दै कति दाइदिदीको श्वास गयो
भाइबहिनीको बाकसमा लाश गयो
म जिउँदै छु आमा, अझै मौका छ
आफ्नो रगतको श्वास चाहनुहुन्छ कि
तपाईं केवल पैसा र लाश चाहनुहुन्छ ?
प्रतिक्रिया