मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

‘राजनीतिक दललाई एनआरएन बुझाएको हामीले हो’ पूर्ब अध्यक्ष लामिछाने

‘राजनीतिक दललाई एनआरएन बुझाएको हामीले हो’ पूर्ब अध्यक्ष लामिछाने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) ­। गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक मध्यका एक तथा पूर्ब अध्यक्ष जीवा लामिछानेले राजनीतिक दलको पोल्टामा एनआरएनलाई पुर्याएको हामीले हो भन्दै सबैले विधानको पालना गर्ने हो भने संस्थाले पूर्बवत् प्रतिष्ठा आर्जन गर्ने विश्वास व्यक्त गरेका छन् । 
 
आइतबार साँझ टेक्ससको ड्यालसमा एनआरएनएका सदस्यहरुबीच अनौपचारिक छलफलका क्रममा पूर्ब अध्यक्ष लामिछानेले सुरुवाती केही वर्षहरुसम्म सबै राजनीतिक दलले एनआरएनलाई सम्मान, मायाँ दिँदै आएकोमा हाम्रै कारणले त्यो गुम्दै गएको समेत उल्लेख गरे । 
 
उनले पदाधिकारीहरुदेखि लिएर तल्लो तहका पदाधिकारीहरुले विधानलाई अक्षरशः पालना गर्ने हो भने संस्थाले विगतमा आर्जन गरेको ख्याती पूर्बवत् स्थापित हुने पनि बताए । ‘हाम्राबीच हिजोका दिनहरुमा पनि मतभेद, असहमतिहरु नभएका होइनन् । तर हामी संस्थाको हितका लागि सधैं एक भएर एनआरएनको ख्याती आर्जन गर्न सफल भएका थियाै’ लामिछानेले भने ‘पछिल्ला समयमा चुनाव जित्नकै लागि भनेर देखा परेका विकृतीले संस्थाको इज्जत प्रतिष्ठामा आघात पुगेको छ ।’

 
२० वर्ष अघि एनआरएनको अवधारणा ल्याउँदाको प्रसंग उल्लेख गर्दै लामिछानेले तत्कालिन समयमा मस्कोमा व्यबसाय र अध्ययन गर्दै रहेका डा. उपेन्द्र महतो, भीम उदास र आफ्नो बीच एउटा कोठामा पटकपटक छलफल गरेर संस्था जन्मिएको सम्झना गरे । त्यतिखेर नेपाल सरकार, प्रशासनतन्त्र, राजनीतिक दल र नेताहरु, नागरिक समाज सबैले एनआरएनप्रति सम्मानका दृष्टिले हेरेकोमा अहिले हाम्रो आफ्नै कारणले त्यो ख्याती गुमेकोमा उनले दुःख समेत व्यक्त गरे । 
 
तीन जना अध्यक्षको व्यबस्था हुनुलाई संस्था जोगाउनकै लागि गरिएको असाध्यै अप्रिय र अन्तरिमकालनि निर्णयको संज्ञा दिदै पूर्ब अध्यक्ष लामिछानेले अबका दिनमा विधानलाई मानेर जादा र सकभर चुनावै नगरि नेतृत्व चयन गर्न सकियो भने संस्था पुरानै लयमा फर्किने बताए । 
 
ड्यालसमा रहेका एननआरएनलाई मायाँ गर्नेहरुले एनआरएनका पदाधिकारीहरु पछिल्लो समयमा नेपालको राजनीतिक दलको शिखण्डी बनेर संस्थाको इज्जत गुमाएको, मानसिक रुपमा संस्थालाई विभाजित गराएको विषयमा पूर्ब अध्यक्षको रुपमा लामिछानेसँग जिज्ञासा राखेका थिए । लामिछानेले संस्थाको साख फर्काउन सकेको खण्डमा प्रवासमा रहेका सबै गैर आवासीय नेपालीको इज्जत पनि रहने भएको हुँदा सबैले प्रयास गर्नुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा एनआरएनएका सचिव प्रविण गुरुंगले अनुहार हेरेर होइन सक्षम व्यक्तिलाई नेतृत्वमा अघि बढाउनुपर्ने समय आएको बताए ।
 
त्यस अवसरमा एनआरएनएका महासचिव गौरीराज जोशी, कोषाध्यक्ष सुनिल साह, आइसिसी सदस्यहरु अमृत सापकोटा, एनआरएन अमेरिकाका उपाध्यक्ष सुमन थापा र विकास उप्रेती, टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा लगायतले संस्थाका विषयमा चासो व्यक्त गर्नुका साथै जिज्ञासा राखेका थिए । 
 
यसवर्ष सन् २०२३ मा हुने आइसिसीको निर्वाचनमा तीनजना अध्यक्षहरु नरहने विषयमा समेत लामिछानेले स्पष्ट पारेका थिए ।