मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइमा उठाइए विविध सवाल

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइमा उठाइए विविध सवाल


चितवन । रत्ननगर नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ शुक्रबार रत्ननगर नगर कार्यपालिका परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाभन्दा बढी नगरवासीले आआफ्ना जिज्ञासा, रायसुझाव र प्रश्न राखेका थिए । 
 
कार्यक्रममा सहभागीहरुले सेवा प्रवाहमा ढिलासुस्ती हटाइनुपर्ने, अव्यवस्थित बसोबास गरिरहेका भूमिहीनको व्यवस्थापन गरिनुपर्ने, विद्यालयमा अभिभावकलाई व्यवस्थापन समितिको अध्यक्ष बनाइनुपर्ने, रत्ननगरमै दमकलको व्यवस्था गरिनुपर्ने, दैवीप्रकोप पूर्वतयारी तालिम, सडकको सुरक्षामा ध्यान दिनुपिर्ने, पार्किङ व्यवस्थापन, खेलाडी उत्पादनमा चासो देखाउनुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी रोक्न खोलाको ठेक्का खोल्नुपर्ने, साइनबोर्ड कर पुनर्विचार गरिनुपर्ने सुझाव दिएका थिए । 
 
यस्तै, जग्गा वर्गीकरणको काम टुङ्गो लगाएर कित्ताकाट सुचारु गर्नुपर्ने, फोहोर व्यवस्थापन र सरसफाइकर्मीको सुरक्षामा ध्यान दिनुपर्र्नेे, बिउपूँजीसहित महिला उद्यमी तालिम, विद्यालयमा छात्रवृत्ति र नियमित अनुगमन बढाइनुपर्ने, विकास निर्माणको काममा सार्वजनिक सुनुवाइ, लागूऔषध नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गरिनुपर्ने, सहकारीको नियमन, मेलमिलाप समितिको पूर्णतालगायतका विषयमा जिज्ञासा राखेका थिए । 
 
नगरवासीले उठाएका विविध सवाल र गुनासाबारे नगरप्रमुख प्रल्हाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, पूर्व नगरप्रमुख नारायण वन, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी रविनबाबु रेग्मीले जवाफ दिएका थिए । नगरवासीका अपेक्षा धेरै रहेकोले प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने नगरप्रमुख सापकोटाले बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, नेकपा (एमाले)का नगरकमिटी सचिव शिवराज सुवेदी, नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रामनाथ भट्टराई र राप्रपाका नगरअध्यक्ष गोविन्द अधिकारीले नगरले गर्नुपर्ने कामकारबाहीका विषयमा सुझाव व्यक्त गरेका थिए । 
 
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उठेका सवाललाई नगरपालिकाले गम्भीररूपमा मनन गरेर अगाडि बढ्ने, सुझाव पेटिकामा संकलित सुझावहरुलाई मध्यनजर गर्दै कार्यपालिकाको बैठकमा समीक्षा गरेर कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । 
 
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सुरू गरेको विपन्नहरुको स्वास्थ्य उपचार कोष, स्वास्थ्य बिमा, सेवाग्राहीको सेवा प्रवाह र भुक्तानी प्रणालीमा सहजताजस्ता कार्यहरुको सराहना गर्दै नगरपालिकाको कर्मचारी प्रशासनलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए । 
 
विप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमअघि ५० जना सेवाग्राहीबीच गरिएको सर्वेक्षणमा नगरपालिकामा जुनसुकै काम गराउँदा घूस खुवाउनु नपरेको, कसैको भनसुनमा काम गराउनु नपरेको र राजनीतिकरूपमा पूर्वाग्रही भई काममा ढिलासुस्ती नगरेको पाइएको थियो । असल शासनको अभ्यास रत्ननगरले अवलम्बन गर्दै गएको पनि सर्वेक्षणमा सहभागीहरुले राय प्रकट गरेका थिए । 
 
कार्यक्रममा पूर्वउपप्रमुख विमलादेवी दुवाडी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटा, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, पत्रकारहरु र नगरवासीको सहभागिता रहेको थियो ।