मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : मन्त्री श्रेष्ठ

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : मन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएका छन् ।  
 
काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी गर्दै उनले प्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।   
 
यातायात व्यवस्था सुधारका लागि सङ्घीय र प्रदेश सरकारबीच छलफल भइरहेको उनले बताए । अहिलेसम्मका यातायात व्यवस्थाका कमजोरीलाई सच्याउने र समस्या समाधान गरी सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिइने उनको भनाइ छ । 
 
नागरिकले सेवा लिँदा दुःख पाइरहेकाले स्थलगत रुपमा अवलोकन गरी प्रत्यक्ष जानकारी लिन आफू कार्यालय आइपुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
 
“जनताले अहिलेसम्म ढिलो सेवा पाएका छन्, अब नयाँ ढङ्ग काम गरिनेछ”, उनले भने, “समस्याका समाधान गरी नागरिकलाई सजिलो गरी सेवा दिइनेछ ।”
 
डिजिटल माध्यमबाट सेवा प्रवाह तथा कर्मचारीलाई अभिमुखीकरण र र आवश्यकता अनुसार कर्मचारी थप गरी समस्या हल गरिने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “के कस्ता साधनस्रोत उपलब्ध गराउनुपर्ने हो त्यो पूरा हुनेछ”, उनले भने, “त्यसपछि तुरुन्त हुनुपर्ने काम नहुने, नागरिकले पीडा पाउने र समयमा काम नहुनेलाई समस्या अन्त्य गरिनेछ ।” 
 
प्रविधिको युगमा पनि पैसा बुझाउन कार्यालय धाउनुपर्ने लगायतका कारणले पनि सेवाग्राहीले दुःख पाएको उनको भनाइ छ । उनले कर्मचारीको मनोबल उच्च बनाएर जिम्मेवारी बोध गराउँदै काम गराउने बताए । उनले भने, “सुशासन नै पहिलो जोड हो र समयमा परिणाम दिनुपर्छ ।”
 
उनले यातायात कार्यालयलाई सवारी चालक अनुमतिपत्रको परीक्षाको नतिजा भोलिपल्टै निकाल्न निर्देशन दिएका छन् । नतिजा तीन दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले चाँडो काम गर्न निर्देशन दिएका हुन् ।