मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् : चितवन २ का सांसद् लामिछाने गृहमन्त्रीमा नियुक्त

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् : चितवन २ का सांसद् लामिछाने गृहमन्त्रीमा नियुक्त


भरतपुर । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । 
चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । अन्य मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । 
 
नवनियुक्त मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । बाँकी रहेका मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् । 
 
दबाब र प्रभावमा नपरी काम गर्छु
 
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताएका हुन् । 
 
विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उनले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताए । उनले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने बताएका छन् ।  
 
“आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु”, उनले भने, “आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।” गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ । 
 
आफू सञ्चारकर्मी भूमिकामा रहँदा सबैभन्दा बढी काम गर्नुपर्ने जनचासोका विषय गृह मन्त्रालय पाएको र त्यसमा पहल गर्नुपर्ने भएकाले आफ्नो रोजाइमा गृह मन्त्रालय परेको बताए । 
 
आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरीरूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनले प्रतिबद्धता गरेका छन् । 
 
साझा नीति तथा कार्यक्रम बनाएर काम गर्ने सम्झौताका आधारमा आफूहरू सरकारमा सहभागी भएको जनाउँदै उनले सरकारमा रहेर पनि आम जनताको मुद्दामा वाचापत्रद्वारा प्रतिबद्धता जनाएअनुसार प्रखररूपमा आवाज उठाइरहने बताए । 
 
गृहमन्त्री लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय लेखेर ल्याउन मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिए । उनलाई मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।