मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री !

अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री !


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री चयन छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साहलगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिइन् ।  
 
नेपाली कांग्रेस माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव सहभागी भएका थिए । चुनावलगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । 
 
तर, कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुपर्ने अडानका कारण प्रचण्ड एकाएक एमाले अध्यक्ष केपी ओलीको बार्दलीमा उपस्थित भएका थिए । पर्ख र हेरको अवस्थामा रहेको एमालेले प्रतिपक्षमा रहनुभन्दा प्रचण्डलाई प्रधानमन्त्री पद दिएर राष्ट्रपति, सभामुखलगायतको पदसहित लिने शर्तमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत भएको हो । 
 
सत्ता गठबन्धनबीच शुक्रबारदेखि चलेको चरणवद्ध छलफलमा देउवाले पार्टीभित्रकै नेताहरूले पहिलो चरणमा प्रधानमन्त्री दिन नमानेको जवाफ प्रचण्डलाई दिएका थिए । तर, पार्टीका नेताहरुसँगको छलफलमा रहेकाले मिलाउने वचन दिएका थिए । शनिबार बेलुका पुनः देउवा र प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताबीच छलफल सहभागी भएका थिए ।  
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिने अडानमा यथावत् राखे । राष्ट्रपति कांग्रेसकै भए पनि प्रधानमन्त्रीको पहिलो कार्य आफूले पाउनुपर्ने पूर्ववत् सहमति प्रचण्डले सम्झाए । गत शनिबारको बालुवाटार छलफलबाट कुनै निष्कर्ष निस्कन नसकेपछि आइतबार बिहान टुङ्ग्याउने समझदारी भएको थियो । 
 
आइतबारको छलफलमा सहमति जुट्न नसकेपछि प्रचण्ड एकाएक बैठकबाट उठेर बालकोट प्रस्थान गरेका थिए । प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरू लाइन लागेर बालकोटको बार्दली पुगेका हुन् । बालकोटको बार्दलीमा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरू सहभागी थिए । एमालेसँग सहमतिपश्चात् बार्दलीमा फोटो सेसन गरिएको थियो । 
 
यस्तै ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी भएका थिए । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पुर्‍याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए । 
 
प्रचण्डको तेस्रो छलाङ 
 
प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल प्रकरणमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । 
 
विसं २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर उनले पाए । पहिलो संविधानसभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधानसभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।