मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनकै नेतृत्वमा सरकार बन्ने, प्रधानमन्त्रीको विषयमा आइतबार टुङ्गो लगाइने

गठबन्धनकै नेतृत्वमा सरकार बन्ने, प्रधानमन्त्रीको विषयमा आइतबार टुङ्गो लगाइने


काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिइन् । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए । 
 
यसैबीच, नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 
 
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गरेकी थिइन् ।
 
राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । 
 
सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् । शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ । 
 
निर्वाचन सम्पन्न भएपछि शनिबार बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल भोलि बिहान गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
 
“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ”, मन्त्री कार्कीले भने ।
 
मुख्यगरी अहिलेको राजनीतिक परिस्थितिबारे छलफल गरिएको उनको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताए । “अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ”, सञ्चारमन्त्री कार्कीले भने ।
 
नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय भोलि बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् । 
 
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । 
 
सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी छन् ।