मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

शैक्षिक क्षेत्रमा राजनीतिलाई निषेध गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताएका छन् ।  
 
पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय पढाउन सक्नेलाईभन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताए । विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 
 
“कुन दलको मान्छे भनेर ल्याउने होइन । पार्टी चाहिएको छ, झण्डा बोक्ने मान्छे चाहिएको छ । पढाउन मतलब छैन । अनि कहाँबाट रिजल्ट राम्रो हुन्छ ?”, उनले भने, “विद्यालयका लागि कति समय दिनुभएको छ ? शिक्षकले पनि त्यो कुरा आत्मसमीक्षा गर्नुपर्छ । मैले पढाएको विद्यार्थी कमजोर भयो कि भनेर सोच्ने काम शिक्षकको हुन्छ । वातावरण बनाउने काम अभिभावकको हुन्छ । विद्यालयलाई राजनीतिको अखडा बनाउने, पढाउन जानोस् नजानोस् आफ्नो मान्छेलाई जागिर खुवाउँछु भन्ने छ ।” 
 
राजनीतिमा होइन पढाइ र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने आफ्नै सन्तानलाई घरबाटै सुरु हुने विभेदले पनि समस्या भइरहेको उनको भनाइ छ । 
 
अध्यक्ष तिमिल्सिनासँगै सोही कार्यक्रममा पुगेका नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अली हालले देशको विकासका लागि चाहिने राम्रो पक्ष भनेको नै शिक्षा भएको बताए । 
 
सरकार र अभिभावकले आफ्ना बच्चाका लागि लगानी गर्नसके मात्रै देशको भविष्य राम्रो हुने उनको सुझाव छ । उनले आफ्नो देश कतारको विकासका लागि लाखौँ नेपाली कामदारले गरेको मेहनतको प्रशंसा गरे । रासस