मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने बटमलाइन केही पनि छैन : अध्यक्ष प्रचण्ड

हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने बटमलाइन केही पनि छैन : अध्यक्ष प्रचण्ड


चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । 
 
अध्यक्ष दाहालले भने, “समझदारीबाट जिम्मेवारी आयो भने लिने कुरा हुन्छ । समझदारीबाट अरु नै हुन पनि सक्छ ।” गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले थपे, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।” राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमा नै टुङ्गो लगाउने समझदारी भएको बताए । 
 
गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताए । आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने बताए । उनले भने “मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।”
 
आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए । उनले भने “तपाईंहरुले सुनेजस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।” निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उनले बताए । 
 
अध्यक्ष दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे । उनले भने, “जिम्मेवारी आयो भने लिने काम हुन्छ ।” राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल गरेका छैनौँ भने ।  त्यो अहिले सम्भव पनि नरहेको उनको भनाइ थियो ।  
 
नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए ।
 
नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताए । उनले भने “औपचारिक र आधिकारिक रुपमा कुरा भएको छैन ।” सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए । 
 
नेपाल सरकारले विगत कालमा मधेस केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उनले बताए । 
 
विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए । समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उनले बताए । सङ्घमा अपेक्षा गरेभन्दा कम आएको भन्दै उनले यसको समीक्षासमेत भइरहेको बताए । 
 
उनले भने “यो समीक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अबसर आएको हामीले ठानेका छौँ”, उनले थपे “माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने भन्न खोजिएको छ । त्यो सत्य होइन ।”