मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी

मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी


काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन् । 
 
कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा बिहीबार मन्त्री चौधरीले काठमाडौँ मौलिकता र ऐतिहासिक धर्म–संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिए ।    
 
उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले सङ्घ सरकार र अन्य स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौँ बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राखे ।  
 
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौँ र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । 
 
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले नागरिकको सफा र सुन्दर काठमाडौँमा बस्ने सपना साकार पार्नका लागि सङ्घ र स्थानीय तहको सहकार्य आवश्यक रहेको औँल्याइन् ।
 
कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला÷ निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो ।  
  
विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई  महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो ।  विसं  १९७६ पुस २ गते स्थापना गरिएको  सफाइ अड्डाको  संस्थागत संरचना विकास हुँदै २०५२ सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो । रासस