मस्को । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले किभले रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता दिएन भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै प्रगति हुन नसक्ने बताएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको यस क्रिसमसमा रुसले सेना फिर्ता गर्छ भन्ने भनाइलाई गलत साबित गरेका छन् । उनले युक्रेनले धरातलीय यथार्थलाई स्वीकार्नु पर्ने बताएका छन् ।
उनका अनुसार रूसी संघमा थपिएका नयाँ क्षेत्रहरूलाई युक्रेनले स्वीकार्नुपर्ने अन्यथा वार्तामा कुनै प्रगति नहुने बताएका हुन् ।
मस्कोले चारवटा दक्षिणी र पूर्वी युक्रेनी क्षेत्रहरू (डोनेट्स्क, लुगान्स्क, जापोरिझ्झिया र खेर्सन)लाई पूर्णरूपमा नियन्त्रण नगरे पनि आफ्नो कब्जा गरेको दाबी गरेको छ । नोभेम्बरमा मस्कोले मुख्य शहर खेरसोनबाट बाहिर निस्के पनि खेरसन क्षेत्रको अधिकांश भागमा नियन्त्रण कायम राखेको छ ।
सोमबार जी–७ राष्ट्रहरूलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई आक्रमण त्याग्न र यो क्रिसमसमा युक्रेनबाट सेना फिर्ता गर्न आग्रह गरेका थिए । यद्यपि जेलेन्स्कीको सो आग्रहलाई क्रेमलिनले मंगलबार अस्वीकार गरेको छ ।
यसैबीच, जेलेन्स्कीले युक्रेनका लागि थप हतियार र आर्थिक सहयोग गर्न सहयोगीहरूलाई आह्वान पनि गरेका छन् ।
राष्ट्रपति पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाउँदै र पश्चिमा देशलाई असैनिकीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
युक्रेनका लागि एक अर्ब युरो सहायता
पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले सो निर्णय सार्वजनिक गरेकी हुन् ।
मन्त्री क्याथरिनले भनिन्– ‘यी नयाँ प्रतिबद्धताहरू हुन्, यो सहायता अथवा उपहार हो । यो ऋण भने होइन ।’ एएफपी






प्रतिक्रिया