मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन् । बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको शिलान्यास गर्दै उनले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन् । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ ।
 
काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताए । उनले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । 
 
नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताए । उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
 
कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनको भनाइ छ । बिग्रिएका बाटोको मर्मतका लागि आवश्यक पहल गरिरहेको नेता पौडेलले बताए ।
 
उनले काठमाडौँ क्षेत्र नं ५ मा बाटो र खानेपानीको समस्या धेरै रहेको उल्लेख गर्दै आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्न पहलकदमी थालेको पनि बताए । 
 
नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लाग्ने विश्वास दिलाए । विष्णुमती करिडोर सडक करिब रु १२ करोडमा निर्माण हुने अनुमान गरिएको छ । रासस