मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो ।
 
बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आइतबारको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिए ।
 
नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उनले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ । उनले भने, “गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्नपर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रित छौँ ।”
 
बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिए । उनले शनिबार र आइतबारको बैठकमा निर्वाचनका सन्दर्भमा हाम्रा आफ्ना के कस्ता सीमा र के कस्ता कमी कमजोरी के के भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्त्वपूर्ण छलफल भएको बताए । 
 
सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उनले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताए ।
 
“हामी अहिले गठबन्धनमा छौँ । गठबन्धनको बैठक बस्नुपर्छ । निर्वाचनसँग जोडिएका सीमा र कमीकमजोरी के के भएका छन् । त्यसमा छलफल गर्नुपर्छ भन्ने भएको छ”, उनले भने । रासस