मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की


सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताएका छन् ।  
 
सुनसरी सदरमुकाम इनरुवामा बिहीबार मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले भने, “जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिनुभएको छ त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्नेछु ।”
 
मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताए । 
 
उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गरे । यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । 
 
तेस्रो कार्यकालका लागि संसदमा प्रवेश
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका छन् । 
 
बिहीबार बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 
 
पिता कृष्णमोहन र माता अम्बिकाको कोखबाट २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मनुभएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा छन् ।   
 
विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।  
 
विसं २०५८ देखि हालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहेका उनी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । उनले राजनीतिक जीवनका क्रममा भोजपुर र विराटनगरमा गरी चार वर्ष जेल जीवन बिताएका थिए ।  
 
उनी सुनसरीको बराह नगरपालिका(१० प्रकाशपुरमा स्थायी बसोबास गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।