मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नागरिकको भरोसालाई जोगाउन युवाको नेतृत्व आवश्यक : गगन थापा

नागरिकको भरोसालाई जोगाउन युवाको नेतृत्व आवश्यक : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधानमन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाइ छ । 
 
मंगलबार संसदीय दलको नेता बन्ने विषयमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । 
 
“प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली काँग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वाभाविक रुपमा लिनुपर्छ,” थापाले भने, “मैले यसलाई स्वाभाविक रुपमा लिएको छु ।”
 
महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई सघाउनेमा विश्वस्त रहेको बताए । 
 
“एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हालेँ । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईंको आशीर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरुलाई पनि पक्कै स्मरण गर्नुहुनेछ,” थापाले भने, “त्यो बेलामा उहाँहरुको नै आवश्यक्ता थियो । उहाँहरुको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ ।”
 
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए । अधिकांश कांग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरुले सहयोगको बाचा गरेको बताए । 
 
महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने धारणा राखे ।
 
महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे ।
 
“पार्टीले योपटक आफ्नो नेतृत्वमा सरकार बन्दै गर्दा नयाँ नेतृत्व दिन सक्नुपर्छ । आवश्यक्ता छ । त्यसमा साथीहरु सकारात्मक हुनुहुन्छ । हाम्रो प्रयास हामी सबैभन्दा पहिला सभापतिजीसँग कुरा गर्छौं । वरिष्ठ नेतासँग कुरा गर्छौं । हाम्रो पहल त उहाँहरुको आशीर्वाद लिएर समर्थनमा अघि सारेको हो भन्ने पहल हुन्छ,” थापाले भने, “निर्वाचनको मतको परिणामको कुरा एउटा हो र सन्देशको कुरा एउटा हो । यो मतले दिएको सन्देशलाई हामीले त बुझेका छौँ भने अग्रज नेताहरुले बुझ्नुभएकै छ । उहाँहरुसँग बसेर कुराकानी गन बाँकी छ ।”
 
महामन्त्री थापा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका उनले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताएका थिए । यद्यपि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन भने त्यति सहज देखिँदैन ।