मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल

गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल


काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
 
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार नयाँ सरकार गठनबारे छलफल भएको छ । 
 
प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गरेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए । 
 
निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो ।   
 
निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।
 
त्यस्तै नेकपा (एमाले) ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा जित हासिल गरेका छन् । 
 
यस्तै स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएका छन् । बाँकी स्थानको केही समस्याका कारण मतपरिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ । रासस