मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दुई पटक हारेकै क्षेत्रबाट कांग्रेसका युवा नेता विश्वप्रकाश निर्वाचित, यस्तो छ राजनीतिक यात्रा

दुई पटक हारेकै क्षेत्रबाट कांग्रेसका युवा नेता विश्वप्रकाश निर्वाचित, यस्तो छ राजनीतिक यात्रा


सुरुङ्गा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएका छन् । 
 
दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । 
 
दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेका हुन् । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटीसमेत रहेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा र खरेलको मतान्तर १४ हजार २७५ रहेको छ ।
 
शर्माको राजनीतिक यात्रा 
 
पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुन् विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत भए । हाल उनी नेपाली कांग्रेसको महामन्त्री हुन् ।  
 
सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन् ।  
 
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे । उनी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।  
 
सामान्य परिवारमा जन्मिएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढेका थिए ।
 
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए । 
 
विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेका शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित भए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का कार्कीसँग पराजित भएका शर्माले यस पटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेका हुन् । 
 
शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन् । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुन् । रासस