मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी

बागलुङका छ सिटमै गठबन्धनका उम्मेवार विजयी


बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मदेवारले जित निकालेका हुन् ।
 
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसद्को यात्रा तय गरेका हुन् । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जितेका थिए । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुगेका थिए ।  
 
अहिलेको निर्वाचनमा नेकपा (एमाले) का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गरे । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित भए ।
 
बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेल विजयी भएका छन् । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई पराजित गरेका हुन् ।  
 
पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 
 
प्रदेशसभातर्फ १ ९१० मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन् । 
 
१ (२) मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बनेका छन् । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गरेका हुन् । पौडेलले सात हजार दुई सय ५३ मत ल्याए । 
 
त्यस्तै निर्वाचन क्षेत्र नं २ (१) मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गरे । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे । शेरचन तेस्रोपटकमा प्रदेशसभामा पुग्न सफल भएका हुन् । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित भएका थिए । 
 
निर्वाचन क्षेत्र नं २ ९२० मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बनेका छन् । कुँवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गरे । 
 
विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित कांग्रेसले यसपटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् । रासस