मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद्

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद्


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत मत मागेका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद् निर्वाचित भएका छन् । 
 
निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उनले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाएका थिए । विसं २०३३ साउन ४ गते काठमाडौँमा जन्मिएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।  
 
विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी भएका उनी नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध थिए । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित भएका थिए ।
 
विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उनी विद्रोही समूहबाट सचिव निर्वाचित भएका थिए । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्पसको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित भए । 
 
विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका थिए । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित भए। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उनी चर्चामा आएका थिए ।  
 
राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । 
 
त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो । 
 
सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उनले धेरै ठाउँमा सम्बोधन गरे । 
 
पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहेका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बने । विसं २०६८ मा उनी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकामा महामन्त्रीमा भने पराजित भएका थिए ।
 
महामन्त्रीमा हारे पनि थापा केन्द्रीय सदस्य पदमा मनोनित भए । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ बाट उनी पहिलो पटक प्रत्यक्ष सांसद् निर्वाचित भएका थिए । 
 
सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरे भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित भएका थिए । स्वास्थ्यमन्त्री हुँदा उनले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाएका थिए । स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो ।
 
विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनी काठमाडौँ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित भएका थिए । 
 
कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गरेका थिए । 
  
फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तर्क्रिया गर्न रुचाउने थापा सबैका अनुभव सुन्न लालायित बन्छन् । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेपेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका थिए । रासस