इलाम । इलाममा ११५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।
फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो ।
यस्तै, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन् । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन् ।
सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गरेका हुन् । उनीहरूका बुबा देउताराम उप्रेतीको तीन दिनअघि निधन भएको थियो ।
इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी धर्मपत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरेका छन् । तुलसीका बुबा गायत्री बरालको चार दिनअघि निधन भएको थियो । रासस
प्रतिक्रिया