मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष प्रचण्ड

राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष प्रचण्ड


भोजपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् । 
 
गठबन्धनले जिल्लाको पूर्वी तिवारी भञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्न भोजपुर पुगेका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए । 
 
दाहालले भने, “विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ ।” 
 
अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती विजयी बने उनलाई मन्त्री बनाउनेसमेत बताए । विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, “मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।” 
 
किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुईपटक सांसद् भइसकेका छन् । सङ्घीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राईबीच प्रतिस्पर्धा हुनेछ । रासस