मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क कोइराला

सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क कोइराला


नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताएका छन् ।  
 
कावासोती नगरपालिका–६ र १ को चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार डा कोइरालाले चुनावपछि सुकुम्बासी समस्या समाधान हुने बताए । उनले भने, “सुकुम्बासी समस्या समाधान लालपुर्जाले मात्रै सम्भव छैन, यसका लागि रोजगारीको पनि उत्तिकै आवश्यकता पर्छ । यस विषयमा प्रधानमन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराएको छु, अब नवलपुरमा कोही पनि सुकुम्बासी हुँदैन, लालपुर्जासहित आवश्यक रोजगारीको प्रबन्ध मिलाउने गरी कार्य अगाडि बढाउनेछु ।” 
 
स्थानीयवासीको नगरस्तरीय रङ्गशाला बनाउने मागलाई सम्बोधन गर्दै नवलपुरमा अन्तर्राष्ट्रिय खेलग्राम बनाउने योजना रहेको हुँदा पहिला महत्वपूर्ण ठूला योजनालाई पूरा गर्दै नगरस्तरीय रङ्गशाला बनाउन सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 
 
उनले केरुङ्गे खोलाले आफ्नो धार परिवर्तन गरेर बस्तीलाई असर गर्न लागेको भन्दै यसको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए । नेता कोइरालाले कृषिउपजको उत्पादनलाई वृद्धि गर्न र बजारीकरणका लागि विशेष योजना बनाएको भन्दै विगतका आफ्ना अधुरा योजनालाई अब निर्वाचनपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
 
मङ्सिर ४ अबको पाँच वर्षका लागि भाग्यरेखा कोर्ने दिन भएको भन्दै डा कोइरालाले भने, “मेरो बुबाआमा, छोराछोरी सबै तपाईंहरू नै हो, हजुरको मुहारमा खुसी ल्याउन फेरि हजुरमाझ आएको छु, तपाईंहरू सबैको मुहारमा खुसी ल्याउन र यहाँको समस्या समाधान गर्न म कुनै कसर बाँकी राख्ने छैन ।” रासस