मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मङ्सिर ४ गणतन्त्र संस्थागत गर्ने र राजतन्त्र व्युँताउन चाहनेबीचको जनमतसङ्ग्रह : प्रचण्ड

मङ्सिर ४ गणतन्त्र संस्थागत गर्ने र राजतन्त्र व्युँताउन चाहनेबीचको जनमतसङ्ग्रह : प्रचण्ड


खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई व्युँताउन चाहनेबीचको जनमतसङ्ग्रह भएको बताएका छन् ।  
 
वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र व्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गरे ।  
 
पूर्वप्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने दाबी गरे । 
 
“देशभर भएका कार्यक्रममा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसकेको छ”, उनले भने, “खोटाङको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टी, गठबन्धन र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
 
छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकप्टरबाट खोटाङ आएका पूर्वप्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको बताए । 
 
“रामकुमार राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईंहरूले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पूरै सम्भावना छ”, उनले भने, “तपाईंहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिबद्ध हुँदै र यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुपर्छ । राजनीतिक स्थायित्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईंहरुको सहयोग आवश्यक छ ।”
 
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले बनाउने आश्वासन दिएका छन् । 
 
“नेकपा (एमाले)का अध्यक्ष ओलीजी कुरा मात्र गर्नुहुन्छ । काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बाह्रै महिना चल्ने सडक निर्माणको काम गठबन्धन सरकारले गर्नेछ”, उनले भने, “गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि सत्ता गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई मत दिएर अत्यधिक बहुमतले विजयी थराउनुहोस् । केन्द्रबाट उचित व्यवस्थापन हुन्छ ।”
 
प्रवक्ता डा महतले आसन्न निर्वाचनमा एउटाले अर्कालाई सहयोग गर्न गठबन्धन बनेको बताए । “आसन्न निर्वाचनमा पार्टीलाई समानुपातिकमा मत दिन हामी सबै जान्छौँ । सोही बेला गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ मत दिएर एकअर्कालाई सहयोग गरौँ”, उनले भने, “अर्को जिल्लामा उसले अर्कोलाई सहयोग गर्नेछ । गठबन्धन भनेको नै एकले अर्कोलाई सहयोग गर्न बनेको हो ।”
 
कांग्रेस प्रवक्ता डा महतले खोटाङमा पर्यटकीय महत्व बोकेको त्रिधार्मिकस्थल हलेसी, किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायाजुङसमेत भएकाले त्यसको समग्र विकास सत्ता गठबन्धनले गर्ने बताए । सो चुनावीसभालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर आउने बताइए पनि अस्वस्थताका कारण नआएको जनाइएको छ । 
 
एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)पार्टीबीच चुनावी तालमेल भएको छ । 
 
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, प्रदेशसभा (१)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।  
 
कुल एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा छन् । रासस