मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रतिगमनको खतरा रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड

प्रतिगमनको खतरा रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड


गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमनको खतरा रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् ।  
 
गोरखाको पालुङटार नगरपालिकामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताए ।
 
“जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ”, उनले भने, “पाँच वर्ष मात्र होइन, १५ वर्षसम्म पनि गठबन्धन कायम रहन सक्छ।”
 
उनले कांग्रेस र माओवादी मिलेर देशमा शान्ति र संविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताए ।
 
“१० वर्षे जनयुद्ध लम्बिदै जाँदा दुबै पक्षको हारजितको अवस्था हुने स्थिति थिएन,” उनले भने, “बृहत शान्ति सम्झौता नगरेको भए देशको सार्वभौमसत्ता खतरामा पर्ने थियो त्यसलाई बुझेर कांग्रेस र माओवादी मिलेर शान्ति सम्झौता गरेका हौँ ।”
 
उनले शान्ति सम्झौता नगरेको भए देशमा हजारौँ मानिसको ज्यान जान सक्ने र विदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अवस्थामा आइपुगेको दाबी गरे ।  
 
गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकीय क्षेत्र, औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै गोरखाबाटआर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गरे । रासस