अमेरिका- नेपालीहरूको उल्लेख्य बसोबास रहेको टेक्सस स्टेटको डलास वरपरका रिप्रेजेन्टेटिभमा सलमान भोजानी र टेरी मेजाले जितेका छन् ।
सलमान भोजानीलाई नेपाली समुदायले पनि उल्लेख्य सहयोग गरेका थिए । उनी नेपाली समुदायबीच परिचित छन् । सलमानले स्टेट रिप्रेजेन्टेटिभ क्षेत्र-९२ बाट जित निकालेका हुन् । उनी पहिलो पटक सो पदमा पुगेका हुन् । यस निर्वाचन क्षेत्रमा युलेस सिटीलगायतका स्थान पर्छन् । युलेस सिटीमा मात्र करिब १० हजार नेपाली बसोबास गर्ने अनुमान छ ।
पाकिस्तानी मुलका अमेरिकन सलमान डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका थिए । सलमानले २० हजारभन्दा बढी मत पाएका थिए । टेरी मेजा पनि डेमोक्र्याटिक पार्टीबाटै उठेकी थिइन् । उनले स्टेट रिप्रेजेन्टेटिभ क्षेत्र-१०५ वटा जितेकी थिइन् । टेरी पनि नेपालीबीच परिचित छन् ।
दुबै उम्मेदवारलाई जिताउन नेपाली समुदायले पनि सहयोग गरेका थिए । यो जितले नेपाली समुदायका मुद्दालाई सम्बोधन गर्न सजिलो हुने स्थानीय मोहन ज्ञवालीले बताए । अब हामीले भेटेर दुवै जनासँग हाम्रा समुदायका मुद्दाहरू उठाउनुपर्छ ज्ञवालीले भने ।
टेक्सस पूरा राज्यमा भने रिपब्लिकन पार्टीको बहुमत छ । स्टेट गभर्नर, हाउस अफ रिप्रेजेन्टिटिभ र सिनेटका अधिकांश सिटमा भने रिपब्लिकन पार्टीले जित प्राप्त गरेको छ ।
टेक्सस डलासमा ठूलो संख्यामा नेपालीले व्यवसायसमेत गर्दै आएका छन् । यहाँ नेपाली समुदाय ठूलो हुँदै छ ।












प्रतिक्रिया