मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अब जनताले मत बदल्नुपर्ने समय आएको छ : माधव भट्टराई

अब जनताले मत बदल्नुपर्ने समय आएको छ : माधव भट्टराई


चितवन । चितवन क्षेत्र नं १ बाट राप्रपाको तर्फबाट प्रतिनिधिसभाका उमेदवार माधव भट्टराईले जनताले गम्भीर भएर मूल्यांकन गर्नुपर्ने समय आएको बताएका छन् । 

परिवर्तन छ हाम्रै पालामा भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका भट्टराईले विगत ३० वर्षमा पाँच पाँच वर्षमा चुनाव भइरहने र सरकार फेरिइरहने बाहेक जनताको जीवनमा परिवर्तन आउन नसकेको बताउँदै अब जनताले मत बदल्नुपर्ने समय आएको बताए । 
 
‘तपाईंहरु मत बदल्नुहोस्, हामी बदल्नेछौँ देश’, उनले भने, ‘राप्रपाले आफ्नो नीतिमा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर हो भनेको छ । त्यसैले हामी भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिदैनौँ ।’ 
 
पञ्चायतकालदेखि नै राजनीतिक स्वार्थ र प्रलोभनमा नफसी राजनीतिक अडानका साथ हालसम्म राजनीतिक यात्रामा अग्रसर भएका भट्टराईले राजाले सत्ताको बागडोर जनताको नासो जनतालाई नै सुम्पिएको घोषणापश्चात राजनीतिक चलखेलले देश बरवादीको संघारतर्फ उन्मुख भएको बताउँदै दलहरुकै स्वार्थका कारण जनता चरम गरिबीको मारमा परेको बताए । 
 
राप्रपाले मातृभूमिको रक्षा, सार्वभौम कायम गर्न र जनतामा देखिएको निराशाको बादल हटाउन दलहरुको विकल्पका रुपमा निर्वाचनमा होमिएको दाबी गरे । जनताले यतिबेला आएर महसुस गर्न थालेको हुनाले पनि परिवर्तनको लागि आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । 
 
राप्रपाका तर्फबाट हलो चुनाव चिन्ह लिएर उठेका भट्टराई विगत लामो समयदेखि पञ्चायती व्यवस्था बहाल रहँदाको अवस्थामा चितवनको तत्कालीन पदमपुर गाउँपञ्चायतमा बसोवास गर्दाको समयमा चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीले घेरिएर बसेका सम्पूर्ण पदमपुरवासीको वृत्ति विकासको लागि अहोरात्र खट्दै आएका जिल्ला पञ्चायत सभापतिसमेत रहेका समाजसेवी तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद भट्टराईका ज्येष्ठ सुपुत्र हुन् । 
 
आफू पेसाले व्यवसायी भए पनि जनताको सेवकका रुपमा २०४६ सालपछि राजनीतिमा क्रियाशील हुँदै आएको उनले बताए । क्षेत्र नं १ का मतदातामाझ सबै प्रकारका सम्बन्धले चिनिएका भट्टराईले आफूलाई योग्य उमेदवारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

राजसंस्था, हिन्दुराष्ट्र आफ्नो पार्टीका प्रमुख मुद्दा भएका कारण यसपटक चितवन १ का मतदाताले आफूलाई विजयी गराउनेमा उनी आशावादी छन् ।