मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी


बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आइतबार बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए ।  
 
“विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन”, उनले भने । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरे ।  
 
बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उमेदवार रहेका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उमेदवार बनेको स्पष्ट पारे । 
 
“मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सार्‍यो, गठबन्धन दलबाट पनि तपाईं नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो”, उनले भने ।
 
अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेकोसमेत दाबी गरे । “गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ”, उनले भने । 
 
विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बनेका अध्यक्ष केसी अहिले पुनः संसदमा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । ८२ वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उनीमाथि बेलाबेला टिप्पणी हुँदै आएको छ । रासस