मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

साझा राष्ट्रिय कार्यसूची र कांग्रेसको दृष्टिकोण प्रस्तुत

साझा राष्ट्रिय कार्यसूची र कांग्रेसको दृष्टिकोण प्रस्तुत


काठमाडौँ । छिमेकी भारत र चीनबीच अवस्थित भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील नेपालका लागि राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति र राष्ट्रिय सुरक्षाजस्ता नीति महत्त्वपूर्ण र दूरगामी महत्त्वका हुनुपर्ने उल्लेख गरिएको छ । नेपाली कांग्रेस पार्टीले आज जारी गरेको चुनावी सङ्कल्पपत्रमा उक्त वास्तविकतालाई आत्मसात् गर्दै दूरगामी महत्वका नीति निर्माण गर्दा प्रमुख राजनीतिक दलबीच साझा धारणा विकसित गरी राष्ट्रिय सहमतिको दस्तावेज निर्माण गर्नुपर्ने दृष्टिकोण प्रस्तुत गरेको छ ।
 
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल, सरोकारवाला र सम्बन्धित विषयका विज्ञसँग समेत व्यापक छलफल र परामर्श गरी राष्ट्रिय सहमतिका आधारमा उक्त नीतिहरू निर्माण गर्न  कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने दृढता संकल्पपत्रमा व्यक्त गरिएको छ ।
 
भूगोलका साथै जनताकेन्द्रित राष्ट्रियता कांग्रेसको मूलमन्त्र भएको उल्लेख गर्दै घोषणापत्रमा बहुलता र विविधताका आधारमा सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेर भावनात्मकरूपमा अझै एकताबद्ध बनाएर राष्ट्रियताको संवद्र्धन र प्रवद्र्धन  कांग्रेसले गर्दै आएको स्पष्ट गरिएको छ ।
 
समाजमा अन्तर्निहित बहुलता र विविधतालाई आत्मसात् गर्दै हिमालदेखि तराईसम्म पूर्वदेखि पश्चिमसम्म सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने सच्चा उदार राष्ट्रवादी र देशभक्त पार्टी  कांग्रेस भएको उल्लेख गर्दै सङ्कल्पपत्रमा परिवर्तित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय राजनीतिक, भूराजनीतिक, सुरक्षा तथा सैन्य आयामका सन्दर्भमा नेपालका आन्तरिक र बाह्य दुवै सुरक्षा चुनौती थप बहुआयामिक र संवेदनशील हुँदै गएको समेत उल्लेख गरिएको छ ।
 
घोषणामत्रमा भनिएको छ, “कांग्रेसले यी चुनौतीहरूको सामना गरी भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, नागरिकको सुरक्षा, मानव सुरक्षा, मौलिक अधिकार, सीमा सुरक्षा, मानवअधिकार, विधिको शासन र सामाजिक  तथा धार्मिक सद्भाव अभिवृद्धि राष्ट्रिय सुरक्षा नीतिका मार्गनिर्देशक सिद्धान्त हुन् । कांग्रेसले मानव सुरक्षाको व्यापक र बृहत्तर अवधारणाअनुसार राष्ट्रिय सुरक्षा नीतिलाई पुनःपरिभाषित गर्ने छ ।”
 
कांग्रेसले नेपाल र नेपाली नागरिकको सुरक्षा गर्न उपयुक्त, प्रभावकारी र सक्षम राष्ट्रिय सुरक्षा प्रणाली विकसित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई अझै व्यावसायिक, गैरराजनीतिक, सदाचारी, जवाफदेही, निष्पक्ष तथा थप साधन–स्रोत सम्पन्न निकायका रूपमा विकसित गर्ने दाबी गरेको छ ।
 
भारत र चीन दुवै छिमेकीसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत विद्यमान सीमा विवाद समाधान गर्दै नेपालको एकता, भौगोलिक अखण्डता र सार्वभौमिकता अक्षुण्ण राख्न कांग्रेसको सरकारले निर्णायक कूटनीतिक पहल गर्ने जनाएको छ । आर्थिक कूटनीतिमार्फत वैदेशिक सहायता, लगानी र बजार पहुँच अभिवृद्धि गर्ने नीति लिँदै व्यापारिक ऋणभन्दा सहुलियतपूर्ण ऋण वा अनुदानलाई विशेष प्राथमिकता दिइने चुनावी घोषणापत्रमा उल्लेख छ ।